सामाजिक संजालमा एउटा सामग्री फेला परेको छ, जसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो जनसभालाई सम्बोधन गरिरहेका छन् । सामाजिक संजालमा फैलाइएको उक्त सामग्रीमा देखिएको जनसभा गोरखाको रहेको दाबी गरिएको छ ।
क्रान्तिकारी इश्वर नामक टिकटक आइडीमा हालसालै पोस्ट गरिएको उक्त दाबीसहितको सामग्रीमा हजारौँको भिडले हुटिङ गरिरहेको देखिन्छ । उक्त भिडको अगाडि मन्चमा प्रचण्डले हात हल्लाइरहेका छन् र उनले भिडलाई सम्बोधन गर्न सुरु गरेकोसमेत उक्त सामग्रीमा जोडिएको भिडियोमा देखिन्छ ।
प्रस्तुत सामग्रीमा राखिएको थमनेलमार्फत् दाबी पेश गरिएको छ । हजारौँको मानिसका अगाडि प्रचण्ड उभिएको भिडियोसहितको सामग्रीको थमनेलमा लेखिएको छ- गोरखामा प्रचण्ड ।

एक साताअघि पोस्ट गरिएको दाबीसहितको यो सामग्रीमा करिब १२ टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब सय जनाले प्रतिक्रिया जनाएको प्रस्तुत सामग्रीलाई ४० भन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेकाे देखिन्छ ।
निर्वाचनकै मुखमा सामाजिक संजालमा फैलाइएको प्रस्तुत दाबीसहितको सामग्रीको फैलावट केही समयपछि व्यापक हुने देखिन्छ । अर्कोतर्फ निर्वाचनकै मुखमा हजारौँको भिड जम्मा गर्नू आफैँमा निर्वाचन आचारसहिंता उलङ्घन हो । किनकि निर्वाचन आचारसंहितामा चुनाव प्रचारप्रसारमा २५ जनाभन्दा बढी व्यक्ति सहभागी हुन नपाउँने व्यवस्था गरिएको छ ।
के निर्वाचन आचारसंहिता उलङ्घन गरेका हुन् ? प्रचण्डले मतदाताको मनस्थिति प्रभावित गर्नसक्ने प्रस्तुत सामग्री यही निर्वाचनको हो ? दाबीसहितको सामग्रीमा राखिएको भिडियो गोरखाकै हो ? यी प्रश्नको उत्तर खोज्न हामीले दाबीसहितको सामग्रीमाथि जाँच गर्ने जमर्को गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन लड्न पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र नम्बर २ रोजेका छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवनको क्षेत्र नं ३ बाट ४८ हजार २७६ मत प्राप्त गरेर विजयी भएका प्रचण्डले यसपटक पनि सोहो क्षेत्रबाट उम्मेदवारी दिने चर्चा चलिरहँदा अन्तिम धडीमा प्रचण्डले गोरखा रोजेका हुन् । पछिल्लो समय प्रचण्ड गोरखाकै चुनावी अभियानमा व्यस्त छन् ।
यही सेरोफेरोमा सामाजिक संजालमा प्रचण्ड ठूलो जनसभामा सहभागि भएको दृश्य सामाजिक संजालमा पोस्ट गरिएको छ र उक्त जनसभा गोरखाको रहेको दाबी पनि गरिएको छ । यही दाबीलाई आधार मानेर हामीले जाँच सुरु गर्यौँ । गोरखामा कुनै ठूलो आमसभा भएको छ कि छैन भनेर समाचारहरुसमेत नियाल्यौँ तर नजिता केही निस्किएन ।
त्यसपछि हामीले दाबीसहितको सामग्रीमा जोडिएको भिडियोको मूल अंश पत्ता लगाउने काममा जुट्यौँ । यसका लागि हामीले भिडियोमा प्रचण्डले बोलेको कुरा सुन्यौँ । त्यहाँ प्रचण्डले ‘३० दलीय गठबन्धनका नेता साथीहरू’ भन्दै सम्बोधन सुरु गरेको देखिन्छ ।
मंसिर ४ गते हुने निर्वाचनका लागि गठबन्धन बनेका छन् । प्रचण्ड स्वयंम् सबैभन्दा ठूलो सत्ता गठबन्धनका नेता हुन् । तर, यो गठबन्धन ३० दलको भने होइन । ‘३० दलीय गठबन्धन’ वाक्यांशलाई आधार मानेर हामीले किवर्ड सर्च गर्यौँ ।
किवर्ड सर्चको नतिजास्वरु हामीले ७ वर्षअघि प्रकाशित एउटा सामाचार फेला पार्यौँ । १६ फाल्गुन २०७१ मा प्रकाशित सामाचारमा ३० दलीय मोर्चाले शक्ति प्रदर्शन गरेको उल्लेख गरिएको छ । समाचारमा ३० दलीय मोर्चाले राजधानीको खुलामञ्चमा उक्त शक्ति प्रदर्शन गरेको दाबी गरिएको छ ।
प्रस्तुत जानकारीका आधारमा हामीले मूल भिडियो खोज्न युट्युबमा ‘३० दलीय मोर्चा’ ‘Prachanda’ लगायतका किवर्ड सर्च गर्यौँ । फलस्वरुमा हामीले A1nepalTV नामक युट्युब च्यानलमा सात वर्षअघि पोस्ट गरिएको भिडियो फेला पार्यौँ ।
सात वर्षअघि पोस्ट गरिएको उक्त भिडियो र दाबीसहितको सामग्रीमा जोडिएको भिडियो एउटै पाइयो । यसबाट के प्रष्ट हुन्छ भने भने गोरखामा प्रचण्ड भन्दै सामाजिक संजालमा फैलाइएको भिडियो सात वर्षअघि काठमाडौँमा खिचिएको हो ।
निष्कर्ष
गोरखामा प्रचण्ड भन्दै सामाजिक संजालमा फैलाइएको भिडियोसहितको सामग्री भ्रामक छ । सात वर्षअघि खिचिएको भिडियोलाई चुनावको मुखमा भ्रामक दाबीका साथ फैलाइएको छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co