Wednesday, May 14, 2025

Fact Check

प्रचण्डको पूरानो भिडियो सामाजिक संजालमा फैलियो, रबिलाई सिध्याउने षड्यन्त्र गरेको दाबी

Written By Aakash Chhetri
Feb 15, 2023
banner_image

Claim

image

Fact

image

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फैलिएको छ । उक्त सामग्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रबिलाई सिध्याउने षड्यन्त्र गरिरहेको दाबी गरिएको छ ।

Lijaoli नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ माेबाइल फोनमा कुराकानी गरिरहेको अवस्थामा देखिएका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ मोबाइलमा कुराकानी गरिरहेको भिडियोमा रहेको थमनेलमार्फत् दाबी पेश गरिएको छ । थमनेलमा लेखिएको छ- ‘लौ रबिलाई सिध्याउने षड्यन्त्र हेर, लाै सुन्नुस् यसको असली रुप बाहिरियो ।’   

भिडियोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोलिरहेकोसमेत सुन्न सकिन्छ । ३९ सेकेन्डको भिडियोमा उनले मोबाइलमा कुराकानी गर्दै भनेका छन्- यो मधुमल्ल- के..के…त्यो रवि जोड्ने सडक हो, उता झापातिरबाट सुवासचन्द्र नेम्वाङहरुको फोर्स लागाएछर उताबाट बनिसक्या छ, यताबाट चाहिँ बन्न अनिवार्य छ, उहाँहरूलाई जनताले घेर्न थाल्याछन्, एउटा कुरा के रच भने त्यो ठेकेदार फेरि जसले ६८ सालको ठक्का परेको त्यो रेणु यादवको ज्वाइँ रचन फेरि, त्यो नगर्ने काम नगर्ने…हो तपाइले सक्नुहुन्छ ल २ बजेभित्र म उहाँहरूलाई पठाउँछु, तपाईले सिरियस्ली हेरेर यसलाई चाहिँ फत्ते गर्दिन..७ किलोमिटरको रच क्या…।’

१८ घण्टाअघि पोस्ट गरिएको प्रस्तुत सामग्रीमा साढे २ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब ५ सयले सेयर गरिसकेको यस सामग्रीमा २ सयभन्दा बढी प्रतिक्रिया आइसकेका छन् । यस सामग्रीमा आएका अधिकांश प्रतिक्रियामा रवि लामिछानेलाई केही भयो भने पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नछाड्ने चेतावनी दिइएको छ ।  

पछिल्लो समय नेपालमा निवर्तमान गृहमन्त्री रवि लामिछानेले चर्चामा छन् । सर्वोच्च अदालतले नागरिकता सम्बन्धी मुद्दामा २०७९ माघ १३ गते रबि लामिछानेलाई दोषी ठहर गरेपछि लामिछानेको सांसद पदसँगै उपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको थियो । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएका कारण रविको प्रतिनिधि सभा सदस्य पद खारेज भएको हो । 

नागरिकता सम्बन्धी मुद्दामा दोषी ठहर भएका रबि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुन: गृहमन्त्री बनाउन चाहेनन् । लामिछानेले गृहमन्त्री नपाएपछि माघ २२ अर्थात् आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो । घटनाक्रमको यही सेरोफेरोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रबिलाई सिध्याउने षड्यन्त्र गरिरहेको दाबी गरिएको सामग्री सामाजिक संजालमा फैलिएको हो । हामीले प्रस्तुत फोन कुराकानीको वास्तविकता पत्ता लगाउने कोशिस गर्‍यौँ ।

तथ्यजाँच/प्रमाणीकरण

पुष्पकमल दाहाल ‘प्रचण्ड’ माेबाइल फोनमा कुराकानी गरिरहेको भिडियोको वास्तविकता पत्ता लगाउन सबैभन्दा पहिले हामीले भिडियोलाई पुन: एकपटक राम्रोसँग नियाल्यौँ । जसबाट हामीले ‘उर्लाबारी सडक’ भन्ने वाक्यांशलाई पहिचान गर्दै ‘उर्लाबारी सडक प्रचण्ड’ भन्ने वाक्यांश विभिन्न सामाजिक संजालहरूमा सर्च गर्‍यौँ । फलस्वरुप हामीले ‘उर्लाबारी-मधुमल्ला सडक’को बारेमा जानकारी प्राप्त गर्‍यौँ ।

दोस्रो चरणको जाँचमा हामीले ‘उर्लाबारी-मधुमल्ला सडक रवि जोड्ने सडक’ वाक्यांशलाई गुगलमा सर्च गर्‍यौँ । फलस्वरुप हामीलाई यस सडकका बारेमा थुप्रै जानकारी प्राप्त भए । २०७६ फाल्गुन ३ गते कान्तिपुरमा प्रकाशित समाचारमा उर्लाबारी-मधुमल्ला-रवि सडकमा भएको लापरबाहीबारे प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले ठेकेदारलाई कालोसूचीमा राख्दै कारबाही गर्न माग गरेका थिए ।

त्यस्तै २०७८ बैशाख ०९ गते राताेपाटी डटकममा प्रकाशित समाचारमा मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रवि जोड्ने सडक २०२८ सालमै शिलान्यास भए पनि कालोपत्रे नहुँदा अस्तव्यस्त रहेको जानकारी दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वकालमा दैनिक ६ किलोमिटर सडक कालोपत्रे हुँदै आएको दावी गरे पनि ५० वर्षअघि शिलान्यास भएको एउटा सडक निर्माण अझै सम्पन्न हुन नसकेको उक्त समाचारमा उल्लेख गरिएको छ ।

उल्लेखित प्रस्तुत तथ्यबाट के पुष्टि हुन्छ भने ‘रबि’ भनेको रवि लामिछाने होइनन् । पाँचथर जिल्लाको एउटा क्षेत्रको नाम हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माेबाइलमा मोरङ जिल्लाको उर्लाबारीदेखि मधुमल्ला हुँदै पाँचथरको रवि जोड्ने सडकको विषयमा कुराकानी गरेका हुन् । यसलाई सामाजिक संजालमा रवि लामिछानेसँग जोडेर भ्रामक सन्देश दिन खोजिएको छ ।

बाँकि रह्यो,  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माेबाइलमा कुराकानी गरेको सन्दर्भ । अहिले  पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको प्रधानमन्त्री छन् । यही सन्दर्भमा उक्त भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । तर, हामीले फेला पारेको तथ्य भने अलि फरक देखिन्छ । 

हामीले विभिन्न वाक्यांश तयार पारेर तिनलाई सामाजिक संजालमा सर्च गर्‍यौँ । फलस्वरुप Purbi Command online नामक फेसबुक पेजमा पोस्ट गरिएको सोही भिडियो फेला पर्‍याे । तीन महिनाअघि अर्थात् ११ नोभेम्बर २०२२ मा पोस्ट गरिएको प्रस्तुत सामग्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेका विषयमा होइन, उर्लाबारी-मधुमल्ला सडक निर्माणका विषयमा कुराकानी गरेको जानकारी दिइएको छ । भिडियोसँगै पोस्ट गरिएको स्ट्याटसमा उर्लाबारी-मधुमल्ला सडक निर्माणमा नेताहरूमाझ जस लिने होडबाजी नै चलेको दाबी गरिएको छ ।

प्रस्तुत भिडियो पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुअघि नै सामाजिक संजालमा पोस्ट भएको देखिन्छ । तर, भिडियो कहिले खिचिएको भन्ने यकिन गर्न भने सकिँदैन तर उल्लेखित तथ्यबाट के प्रष्ट हुन्छ भने प्रस्तुत भिडियो वर्तमान सन्दर्भको होइन । पुरानो र फरक सन्दर्भको भिडियोलाई भ्रामक सन्दर्भका साथ सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।  

निष्कर्ष

पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखिएको भिडियोसहितको सामग्रीमा ‘रबि’लाई सिध्याउने षड्यन्त्र गरिरहेको दाबी भ्रामक छन् । दाबीसहितको सामग्रीमा उल्लेखित ‘रबि’ भन्ने शब्द रवि लामिछानेसँग सम्बन्धित छैन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माेबाइलमा मोरङ जिल्लाको उर्लाबारीदेखि मधुमल्ला हुँदै पाँचथरको रवि जोड्ने सडकको विषयमा कुराकानी गरेका हुन् । यसलाई सामाजिक संजालमा भ्रामक सन्देश दिन खोजिएको छ ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage