Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
सामाजिक संजालमा एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका वर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने घोषणा गरेको दाबी गरिएको देखिन्छ ।
दिपेन्द्र घाएल नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बिर देखिएको छ । त्यस्तै उक्त सामग्रीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि तस्बिर जोडिएको देखिन्छ । दाबीसहितको प्रस्तुत सामग्रीमा एउटा थमनेलसमेत जोडिएको छ ।
सामग्रीको थमनेलमा लेखिएको छ- ‘भर्खरै खुसीको खबर आयो हेर्नु, राष्ट्रपतिले रविलाई प्रधानमन्त्री बनाउने घोषणा, खुसी भए रवि । ३ करोड नेपालीलाई खुसीको खबर, भर्खरै राष्ट्रपतिले गरिन् रवि प्रधानमन्त्री हुने घोषणा, अग्रिम शुभकामना ।’
तीन दिनअघि पोस्ट गरिएको प्रस्तुत दाबीसहितको सामग्रीमा ९ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । ५ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेको उक्त सामग्रीमा करिब डेढ सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेको देखिन्छ ।
प्रस्तुत सामग्रीमा राष्ट्रपति र गृहमन्त्रीबारे दाबी पेस गरिएका कारण यस सामग्री महत्वपूर्ण छ । यही कारण मुलुकको राष्ट्रध्यक्ष र गृहमन्त्री जस्तो महत्वपूर्ण पदमा रहेका व्यक्तिबारे फैलाइएको सूचनालाई हामीले जाँच गरेका छौँ ।
दाबीसहितको सामग्रीमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको घोषणाबारे दाबी गरिएको छ । यहाँ राष्ट्रपतिले गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने घोषणा गरेको जानकारी दिइएको छ ।
प्रस्तुत सामग्रीको थमनेलमा दाबीसहितका वाक्यांश लेखिएको छ । अर्कोतर्फ दाबीसहितका सामग्रीमा प्रयोग गरिएका दुबै तस्बिरहरू सामन्य किसिमकै देखिएका छन् । त्यसैले पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका घोषणाहरूको खोजी गर्न थाल्यौँ । यसक्रममा हामीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालयको वेबसाइटसमेत जाँच गर्यौँ ।
दाबीसहितको सामग्रीमा भनिएजस्तै कुनै घोषणा नभेटिएपछि हामीले राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्का (अधिकारी)सँग सम्पर्क गर्यौँ । कार्यालयका अनुसार दाबीसहितको सामग्रीमा भनिएजस्तो राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै घोषणा गरेकी छैनन् । यस तथ्यबाट के प्रष्ट हुन्छ भने ‘राष्ट्रपतिले रविलाई प्रधानमन्त्री बनाउने घोषणा’ गरेकाे भन्ने दाबी पूर्णत: गलत छ ।
प्रस्तुत दाबी गलत भएको पुष्टि भएपछि हामी संविधानमा रहेको प्रधानमन्त्री बन्ने प्रवधानबारे थप खोजबिन गर्यौँ । नेपालको संविधानको धारा ७६ को उपधारा १ राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुने प्रावधान राखिएको छ ।
संविधानको धारा ७६ मा रहेको व्यवस्था :
(१) राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ ।
(२) उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।
(३) प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।
(४) उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।
(५) उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।
(६) उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।
(७) उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महीनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।
(८) यस संविधान बमोजिम भएको प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले पैंतीस दिनभित्र यस धारा बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्नु पर्नेछ ।
(९) राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्री सहित बढीमा पच्चीस जना मन्त्री रहेको मन्त्रिपरिषद गठन गर्नेछ ।
स्पष्टीकरणः यस भागको प्रयोजनका लागि “मन्त्री” भन्नाले उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्री सम्झनु पर्छ ।
(१०) प्रधानमन्त्री र मन्त्री सामूहिक रूपमा संघीय संसदप्रति उत्तरदायी हुनेछन् र मन्त्री आफ्नो मन्त्रालयको कामका लागि व्यक्तिगत रूपमा प्रधानमन्त्री र संघीय संसदप्रति उत्तरदायी हुनेछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने घोषणा गरेको दाबी गलत छ । तस्बिर जोडिएका सामग्रीमा गलत सूचनासहितको थमनेल राखिएको पाइयो ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
June 10, 2025
Aakash Chhetri
June 3, 2025
Aakash Chhetri
May 22, 2025