दाबी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई ‘भाँडामा जाओस्’ भन्ने अभिव्यक्ति दिएको ।
तथ्य: पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीलाई लक्षित गरेर भनेको पूरानो अभिव्यक्तिलाई सामाजिक संजालमा पोस्ट गरियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । उक्त भिडियो सामग्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अन्तर्वार्ताको एउटा अंश देखिन्छ । भिडियोमा उनले संविधान, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई ‘भाँडामा जाओस्’ भन्ने अभिव्यक्ति दिएको सुन्न सकिन्छ ।
Deepakdhaka74 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियो साग्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका छन्- ‘भाँडमा जाओस् देश, भाँडमा जाओस् संविधान, भाँडमा जाओस् संघीयता-गणतन्त्र र धर्मनिरपेक्षता’ । तीन दिनअघि पोस्ट गरिएको प्रस्तुत सामग्रीमा साढे १६ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै यो सामग्रीलाई १९ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।

प्रस्तुत अडियोसहितको अर्को सामग्रीसमेत सामाजिक संजालमा फेला परेको छ । kapilkhadka नामक अर्को टिकटक आइडीमा पोस्ट गरिएको भडियोमा पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई ‘भाँडमा जाओस्’ भन्ने अभिव्यक्ति दिएको सुनिन्छ ।
प्रस्तुत सामग्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भाँडमा जाओस् देश, भाँडमा जाओस् संविधान, भाँडमा जाओस् संघीयता-गणतन्त्र र धर्मनिरपेक्षता’ भनेको अडियोसहित थमनेलसमेत जोडिएको छ । थमनेलमा लेखिएको छ- ‘देशको बारेमा बोल्दै प्रचण्ड, प्रधानमन्त्री प्रचण्डलाई देश र संविधानको चिन्ता, देशलाई कहाँ पठाउँदैछन् केही बझ्नुभयो प्रधानमन्त्रीले ।’
एक दिनअघि पोस्ट गरिएको प्रस्तुत सामग्रीमा ३५ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले गरियाक्ट गरिसकेका छन् । ६ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेको सामग्रीलाई सोही अवधिभित्र ४ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।

यतिमात्र होइन, माथि उल्लेखित अन्तर्वार्ता अंशको अडियोबाट अन्य थुप्रै टिकटक सामग्री पुनर्उत्पादन गरिएको देखिन्छ । यो सामग्री तयार पार्दासम्म उक्त अडियोबाट २१ वटा थप भिडियो पुनर्उत्पादन गरिएको छ । यसबाट के प्रष्ट हुन सकिन्छ भने प्रस्तुत अडियो-भिडियोको फैलावट सामाजिक संजालमा व्यापक छ ।
मुलुकको प्रधानमन्त्री जस्तो उच्च पदमा रहेको व्यक्तिले मिडिया अन्तर्वार्तामार्फत् संविधान, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको विरुद्धमा अभिव्यक्ति दिनु अत्यन्तै संवेशनशील विषय हुन्छ । यही कारण हामीले प्रस्तुत अन्तर्वार्ता अंशको वास्तविकता पत्ता लगाउन यो जाँचको कार्य प्रारम्भ गर्यौँ ।
तथ्यजाँच/प्रमाणीकरण
माथि उल्लेखित सामाजिक संजाल पोस्टमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई ‘भाँडामा जाओस्’ भन्ने अभिव्यक्ति दिएको संकेत गरिएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’काे एउटा अन्तर्वार्ता अंशलाई सामाजिक संजालमा पोस्ट गर्दै थमनेलमा दाबी पेश गरिएको देखिन्छ ।
सोही दाबीलाई ध्यानमा राख्दै हामीले तथ्यजाँच सुरु गर्यौँ । सबैभन्दा पहिले हामी पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अन्तर्वार्ताको मूल अंश खोज्नतिर लाग्यौँ । जसका लागि विभिन्न किवर्ड तयार पारेर युट्युबमा खोजियो । तर, किवर्ड मेल नखाँदा र अन्य कारण अन्तर्वार्ताको मूल अंश फेला पर्न सकेन ।
दोस्रो तहको जाँचमा हामीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोलिरहेको दृश्यलाई स्क्रिनसट गरेर गुगल लेन्समा सर्च गर्यौँ । रिभर्स इमेज सर्चको नतिजास्वरुप थुप्रै नतिजाहरू भेटिए, तीमध्ये एउटा समाचार लिंकसमेत फेला पर्यो । onlinekhabar मा प्रकाशित उक्त समाचारमा राखिएको मुख्य तस्बिर र माथि उल्लेखित सामग्रीको स्क्रिनसट उस्तै उस्तै देखन्छन् ।

२०७७ माघ ७ गते प्रकाशित समाचार तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राइम टाइम्स टेलिभिजनलाई दिएको अन्तर्वार्ताका आधारमा तयार पारिएको छ । प्रस्तुत समाचारको एउटा अंश यस्तो छ-
‘संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा देउवा वा देउवाले भनेको अन्य कुनै व्यक्तिलाई प्रधानन्त्री बनाउन आफू तयार रहेको प्रचण्डको भनाइ छ । प्राइम टाइम्स टेलिभिजनलाई अन्तरवार्ता दिँदै प्रचण्डले भने- शेरबहादुर देउवा जी अहिले नेपाली कांग्रेसको सभापतिको हैसियतले, त्यसको दलको नेताको हैसियतले उहाँलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन । हिजो पनि मैले सहमति गरेर उहाँलाई प्रधानमन्त्री स्वीकारेको हो । उहाँले भनेकै अनुसार, समझदारी अनुसार समयमा नै उहाँलाई प्रधानमन्त्री बनाएको पनि हो ।’
समाचारमा लेखिएको जानकारी र समाचारको मूल तस्बिरलाई मध्यनजर गर्दै हामीले पुन: किवर्ड सर्च थाल्यौँ । जस अन्तर्गत ‘प्राइम टाइम अन्तर्वार्ता प्रचण्ड’ वाक्यांशलाई युट्युबमा सर्च गर्दा एउटा भिडियो फेला पर्यो । Prime Times HD नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियोमा संचारकर्मी ऋषी धमलाले पुष्पकमल दाहाल ‘प्रचण्ड’को अन्तर्वार्ता लिइरहेका छन् ।
दुई वर्षअघि अर्थात् १९ जनवरी २०२१ मा पोस्ट गरिएको प्रस्तुत अन्तर्वार्तामा करिब डेढ घण्टा लामो छ । हामीले उक्त डेढ घण्टा लामो भिडियोलाई सरसर्ती नियाल्यौँ ।
अन्तर्वार्ता नियाल्ने क्रममा १ घण्टा ३ मिनेट पुगेपछि माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियो अंश फेला पर्यो । दाबीसहितको सामग्रीमा राखिएको भिडियो अंश १ घण्टा ३ मिनेटदेखि १ घण्टा ५ मिनेटको बिचमा फेला भेटियो । यसबीचमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका छन् –
‘फेरि देशमा हिंसा होस् भन्ने कसैले चाहेको छ ? फेरि अराजकता फैलियोस् भन्ने चाहेको छ ? फेरि शान्ति भंग होस् भन्ने कसैले चाहेको छ ? केपीले त चाहेकै देख्छु मैले । केपीले त भाँडमा जाओस् देश, भाँडमा जाओस् संविधान, भाँडमा जाओस् संघीयता-गणतन्त्र र धर्मनिरपेक्षता भन्ने चाहेकै देख्छु म । तर, कुनैपनि विवेकशील नेपालीले त्यो सोचेको छ भन्ने मलाई लाग्दैन ।’
माथि उल्लेखित सामाजिक संजालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भाँडमा जाओस् देश, भाँडमा जाओस् संविधान, भाँडमा जाओस् संघीयता-गणतन्त्र र धर्मनिरपेक्षता’ भनेको भिडियो अंश मात्रै पोष्ट गरिएको छ । अगाडि र पछाडिको भागलाई काटिएका कारण उक्त भनाईको भाव प्रष्ट हुन सकेको छैन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीलाई लक्षित गरेर भनेको कुरालाई छाँटकाँट गरेर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । दुई वर्ष पूरानो अन्तर्वार्तालाई छाँटकाँट गर्दै वर्तमान सन्दर्भमा पोस्ट गर्दा भ्रामक सन्देश प्रवाह भएको देखिन्छ ।
निष्कर्ष
मूल अन्तर्वार्ताबाट अगाडि र पछाडिको भागलाई छाँटकाँट गर्दै सामाजिक संजालमा पोस्ट गरिएको पुष्पकमल दाहाल ‘प्रचण्ड’को भिडियो अंश दुई वर्ष पूरानो हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीलाई लक्षित गरेर भनेको अभिव्यक्तिलाई सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co