निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पुनः नेपाली नागरिकता प्राप्त गरेका छन् । आइतबार (माघ १५, २०७९) मध्यान्ह १२ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर उनले नागरिकता लिएका हुन् । नागरिकता बनाउनका लागि रवि लामिछाने जिल्ला प्रशासन कार्यालय पुगेका बेला एउटा तस्बिर र दाबी सामाजिक संजालमा फैलिएको देखियो ।
All Nepal नामक फेसबुक पेजमा रवि लामिछानेसँग सम्बन्धित एउटा फोटोसहितको सामग्री पोस्ट गरिएको छ । आइतबार दिउँसो पोस्ट गरिएको उक्त सामग्रीमा रवि लामिछाने लाइनमा उभिएको दृश्य देख्न सकिन्छ । उक्त तस्बिरसँगै लेखिएको स्ट्याटसमा रवि लामिछाने नागरिकताको प्रतिलिपि लिन लाइनमा उभिएको दाबी गरिएको छ । स्ट्याटसमा लेखिएको छ– ‘आज रवि लामिछाने नागरिकको प्रतिलिपि लिन लाइनमा !’

प्रस्तुत तस्बिर र स्ट्याटस पोस्ट भएको एक दिन नपुग्दै उक्त सामग्रीमा ७ हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् । ४ सयभन्दा बढी फेसबुक प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेको उक्त सामग्रीलाई ११० भन्दा बढीले सेयर गरिसकेको देखिन्छ । यस तथ्यबाट प्रस्तुत सामग्रीको फैलावट व्यापक रहेको अनुमान सजिलै लगाउन सकिन्छ ।
Suresh Paudel BulBul नामक फेसबुक आइडीमा पनि सोही तस्बिर र दाबी पोस्ट गरिएको थियो । उक्त सामग्रीमा रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँको लाइनमा उभिएको दाबी गरिएको थियो । आइतबार दिउँसो पोस्ट गरिएको उक्त सामग्री अहिले डिलिट भइसकेको छ तर पोस्ट गरिएको २ घण्टामै हामीले उक्त सामग्रीको स्क्रिनसट लिइसकेका थियौँ ।
प्रस्तुत सामग्रीमा तस्बिरसँगै स्ट्याटस पनि पोस्ट गरिएको छ, उक्त स्ट्याटसमा लेखिएको छ – ‘रवि लामिछाने नागरिकता लिन लाइनमा उभिनुभएको छ, जिल्ला प्रशासन कार्यालय काठमाठडौँ, हामीलाई साथ र समर्थन गर्नेहरू ग्रुपमा जोइन हुनुहोस् ल ।’
पोस्ट भएको दुई घण्टामै उक्त सामग्रीमा साढे दुई सयभन्दा बढी फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका थिए । यही अवधिमा ५० भन्दा बढी फेसबुक प्रयोगकर्ताको प्रतिक्रिया आइसकेको उक्त सामग्रीलाई ६० भन्दा बढीले सेयर गरिसकेका थिए ।

दाबीसहितको सामग्री छोटो समयमै कति द्रुत गतिमा फैलियो ? यो सामग्रीले प्रष्ट पारेकाे छ । फैलावटको यस गतिले उक्त तस्बिर र सन्दर्भ कति महत्वपूर्ण छ भन्ने कुराकाे सजिलै अनुमान लगाउन सकिन्छ । त्यसैले हामीले प्रस्तुत तस्बिर र सन्दर्भको जाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
सुरुवात मूल सन्दर्भबाट, आइतबार निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पुनः नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँको परिसरमा पुगे ।
शुक्रबार (माघ १३, २०७९) सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेलेको पूरानो नागरिकतालाई मान्यता नदिने फैसला गर्यो । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएका कारण रविको प्रतिनिधि सभा सदस्य पद खारेज भयो । उनले मन्त्रीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको पद त्याग्नुपर्यो ।
आइतबार रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अमेरिकी नागरिकता त्यागेको जानकारी दिँदै पुन: नेपाली नागरिकता प्राप्त गरे । यही सेरोफेरोमा रवि लामिछाने लाइनमा उभिएको तस्बिर सामाजिक संजालमा फैलियो । उक्त तस्बिर जिल्ला प्रशासन कार्यालय काठमाडौँको परिसरमा आइतबार नै खिचिएको दाबी सामाजिक संजालमा गरियो ।
हामीले तस्बिरको जाँच सोही तस्बिरबाटै सुरु गर्यौँ । जाँचका क्रममा हामीले उक्त तस्बिर सबैभन्दा पहिले कहाँ पोस्ट भएको हो भन्ने तथ्य पत्ता लगाउन कोशिस गर्यौँ । यही क्रममा हामीले राष्ट्रिय स्वतन्त्र पार्टीका फरक-फरक सामाजिक संजाल आइडीहरू नियाल्यौँ । फलस्वरुप हामीले एउटा काम लाग्दो परिणाम फेला पार्यौँ ।
Rastriya Swatantra Party – Kaski नामक फेसबुक पेजमा रवि लामिछाने लाइनमा उभिएको तस्बिर शनिबार बेलुकी पोस्ट भएको देखिन्छ । जनवरी २८, बेलुकी ८ बजेर ५६ मिनेटमा पोस्ट गरिएको उक्त सामग्री भोलिपल्ट १२ बजेपछि (रवि लामिछाने जि.प्र.का. काठमाडौँ पुगेपछि) सामाजिक संजालमा फैलियो, रवि लामिछाने नागरिकता लिन लाइनमा उभिएको दाबीका साथ ।

सर्वोच्च अदालतको फैसलामाथि रवि लामिछानेले दिएको प्रतिक्रियासहित (अदालतको फैसलालाई स्वागत गर्छु) एक दिनअघि सामाजिक संजालमा पोस्ट गरिएको तस्बिरसहितको उक्त सामग्री भोलिपल्ट सामाजिक संजालमा फैलिन पुग्यो । उक्त तस्बिर एक दिनअघि नै सामाजिक संजालमा पोस्ट गरिएको भएपनि हामीले तस्बिरको सन्दर्भ अझैँ पत्ता लगाउन सकिरहेका छैनौँ । त्यसैले अब हामी तस्बिरको असली सन्दर्भ पत्ता लगाउने कोशिसमा जुट्यौँ ।
तस्बिरको मूल सन्दर्भ पत्ता लगाउन हामीले पुन: राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्धित सामाजिक संजालका आइडीहरू नियाल्न थाल्यौँ । तर, सोही तस्बिर भेट्टाउन सकिएन । त्यसपछि रवि लामिछानेले लगाएकाे पोशाकको आधारमा हामीले सामाजिक संजालमा पोस्ट गरिएका तस्बिरहरू जाँच गर्न थाल्यौँ ।
तस्बिरमा रवि लामिछानेले सेतो कुर्ता (बुट्टा सहितको), खरानी रंगको पाइजामा र काला रंगका जुत्ता लगाएका छन् । यही पोशासको आधारमा हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक फेसबुक पेज Rastriya Swatantra Party – RSP मा पोस्ट गरिएका तस्बिरहरू हेर्न थाल्यौँ । यही क्रममा भेटिए राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप जिल्ला भेलाका तस्बिरहरू । तर, रवि लामिछाने लाइनमै लागेको तस्बिर रामेछाप जिल्ला भेलाकै हो भन्ने प्रमाण भेटिएन ।
रवि लामिछानेले सोही पोसाक अर्को फरक कार्यक्रममा पनि लगाएको तथ्य हामीले खोजीकै क्रममा फेला पार्यौँ । त्यो बेला मुलुक प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा होमिएको थियो । गत अगस्टको अन्तिम साता राष्ट्रिय स्वतन्त्र पार्टीको आयोजनामा स्टार ब्यांक्वेटमा दुई दिने चुनावी प्रशिक्षण भेला आयोजना गरेको थियो । यही चुनावी प्रशिक्षण कार्यक्रममा पुगेका थिए, रवि लामिछाने लाइनमा बसेको तस्बिर पनि यही कार्यक्रमको हो । हामीले लाइन लागेकै तस्बिरको मूल अंश फेला पार्न नसकेपनि उक्त तस्बिर सोही प्रशिक्षण कार्यक्रमकै हो भनेर ठोकुवा गर्न सकिने तथ्य फेला पारेका छौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको यो चुनावी प्रशिक्षण कार्यक्रम Swayambhu Star Banquet मा भएको देखिन्छ । प्रशिक्षण कार्यक्रमका खिचिएका तस्बिरहररू र ती तस्बिरमै देखिएको कार्यक्रमस्थलको लोगोले कार्यक्रमस्थल स्टार ब्यांक्वेट नै हो भन्ने कुरा पुष्टि गर्दछ ।
ठिक ५ महिनाअघि अर्थात् अगस्ट ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक फेसबुक पेज Rastriya Swatantra Party – RSP मा पोस्ट गरिएका तस्बिरहरू नियाल्दा फेला परेका तथ्य र जनवरी २९ मा दाबीसहित फैलाइको तस्बिरलाई हामीले एकै ठाउँमा राखेर हेर्यौँ ।

तथ्य १ : रवि लामिछाने लाइनमा उभिएको तस्बिरमा उनले सेतो कुर्ता (बुट्टा सहितको), खरानी रंगको पाइजामा र काला रंगका जुत्ता लगाएका छन् । अर्कोतर्फ चुनावी प्रशिक्षण भेलाका अन्य तस्बिरहरूमा रवि लामिछानेले सोही पोशाक लगाएका छन्, जो लाइनमा उभिएको तस्बिरमा देख्न सकिन्छ । हेर्नुहोस् तस्बिर

तथ्य २ : रवि लामिछाने लाइनमा उभिएको तस्बिरमा देखिएका एक जना व्यक्तिलाई हामीले चुनावी प्रशिक्षण कार्यक्रमका अन्य तस्बिरहरूमा फेला पारेका छौँ । लाइनमा उभिएका व्यक्तिहरू मध्ये रवि लामिछानेको ठिक अगाडि उभिएका खरानी रंगको कोट-पाइन्ट लगाएका व्यक्ति जसले सेतो-गुलावी रंगको सर्ट लगाएका छन् । यी व्यक्तिलाई हामीले चुनावी प्रशिक्षण भेलाको अर्को तस्बिरमा भेट्टायौँ । हर्नुहोस् तस्बिर

तथ्य ३ : रवि लामिछाने लाइनमा उभिएको तस्बिरमा देखिएका अर्का एक जना व्यक्तिलाई हामीले चुनावी प्रशिक्षण कार्यक्रमका अन्य तस्बिरहरूमा फेला पारेका छौँ । लाइनमा उभिएका व्यक्तिहरू मध्ये अन्तिममा उभिएका व्यक्तिलाई हेर्दा उनले चस्मा र कालो टिसर्ट लगाएको देखिन्छ । ती व्यक्तिले लगाएको टिसर्टमा ‘DESTR…’ लेखिएको देखिन्छ । सोही व्यक्तिलाई हामीले चुनावी प्रशिक्षण भेलाको अर्को तस्बिरमा भेट्टायौँ । हेर्नुहोस् तस्बिर
प्रस्तुत जाँचपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा रवि लामिछाने कसरी प्रस्तुत भएका थिए भन्ने प्रश्न बाँकि नै रहन्छ । यही कारण हामीले थप जाँच गर्दै रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुग्दाका भिडियोहरू नियाल्यौँ ।
eKantipur युट्युब च्यानलमा पोस्ट गरिएको भिडियोमा रवि लामिछाने दलबलसहित जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेको देख्न सकिन्छ । सर्वसाधारण हरेक झ्यालमा लाइन बसिरहेका बेला लामिछाने भने सुरक्षासहित कार्यालयभित्र गएको भिडियोले पुष्टि गर्दछ । त्यहाँ रवि लामिछानेले लाइनमा देखिएकाे पोशाक भन्दा फरक खालको कालो सर्ट र ढाँकाको स्टकोट लगाएका छन् ।
यी सबै तथ्यबाट प्रमाणित हुन्छ, जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर रवि लामिछाने लाइनमा उभिएकाे भन्ने दाबी भ्रामक छ । दाबीसहितको सामग्रीमा प्रयोग गरिएको तस्बिर फरक सन्दर्भको हो ।
निष्कर्ष
रवि लामिछाने नागरिकता बनाउँन जाँदा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा लाइनमा लागेको दाबी भ्रामक छ । ५ महिनाअघि आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रशिक्षण कार्यक्रममा पुग्दा उनी आफ्ना समर्थक तथा कार्यकर्तासँग लाइनमा उभिएका थिए । पूरानो र फरक सन्दर्भको तस्बिरलाई फरक सन्दर्भमा भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co