दाबी: कास्की जिल्ला अदालतले रवि लामिछाने संलग्न मुद्दाको फैसला सुनाउने भएपछि ‘पोखरामा जनसागर उर्लिएको’ दाबी ।
तथ्य: २५ अगस्ट २०१९ मा पोस्ट गरिएको भिडियोलाई फरक सन्दर्भको मुद्दासँग जोड्दै सामाजिक संजालमा फैलाइएको देखियो ।
प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापित रबि लामिछानेसँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा फैलिरहेको छ । उक्त भिडियोमा कास्की जिल्ला अदालतले रवि लामिछाने संलग्न मुद्दाको फैसला सुनाउने भएपछि ‘पोखरामा जनसागर उर्लिएको’ दाबी गरिएको छ ।
Aayuze..96 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा जनसागर उर्लिएको दृश्य जोडिएको छ । २३ डिसेम्बर २०२४ मा पोस्ट गरिएको भिडियोको थमनेलमा लेखिएको छ- ‘आज कास्की जिल्ला अदालतले रवि लामिछानेको मुद्दाको फैसला सुनाउने भएपछि जनसागर उर्लियो पोखरामा ।’
सोही भिडियो राष्ट्रिय स्वतन्त्र पार्टी नामक टिकटक आइडीमा पनि पोस्ट गरिएको छ । कास्कीस्थित पोखरामा बंगलादेशको आन्दोलनजस्तै उग्ररुप देखिन थालेको दाबी उक्त भिडियोमा देखिन्छ ।

दाबीसहितको भिडियोलाई २१ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यो सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको देखिन्छ ।
के भिडियोमा देखिने दृश्य पोखरा कै हो त? कास्की जिल्ला अदालत र रवि लामिछानेको मुद्दासँग जोडिएको भिडियोको वाक्तविकता पत्ता लगाउन हामीले तथ्याजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
रवि लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा अभियोगपत्र दायर भइसकेको छ । कास्की अदालतले दिएको जानकारी अनुसार ७ पुस २०८१ मा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध फरकफरक कसूरमा सजाय माग गर्दै उक्त अभियोगपत्र दर्ता गरेको हो ।
अर्कोतर्फ जिल्ला अदालत कास्कीमा रवि लामिछानेसहितका अभियुक्तको सुनुवाइ सुरु भइसकेको छ । अदालतमा उनीहरुको बयान भइरहेको छ ।
यही सन्दर्भमा अदालतले रवि लामिछाने संलग्न मुद्दाको फैसला सुनाउने भएपछि ‘पोखरामा जनसागर उर्लिएको’ दाबीसहितको भिडियो सामाजिक संजालमा फैलाइएको छ । भिडियोको जाँचका क्रममा हामीले ‘रवि लामिछाने’ ‘जनसागर’ लगायतका वाक्यांश र भिडियोका स्क्रिनसटहरुलाई जाँच गर्यौँ ।

जाँचको नतिजास्वरुप एउटा पुरानो भिडियो फेला पर्यो । Aashish Bhomjan नामक फेसबुक आइडीमा पोस्ट गरिएको पुरानो भिडियो र दाबीसहितको सामग्रीमा जोडिएको दृश्यबीच समानता देख्न सकिन्छ ।
२५ अगस्ट २०१९ मा पोस्ट गरिएको भिडियोको क्याप्सनमा लेखिएको छ- ‘एक जना संचारकर्मीको समर्थनमा चितवनस्थित चितवन हस्पिटल प्रा.लि. मा रवि लामिछानेको पक्षमा देखिएका जनसागर ।’
सोही भिडियो राम्रो नेपाल हाम्रो सपना नामक फेसबुक पेजमा पोस्ट गरिएको देखियो । २५ अगस्ट २०१९ मा पोस्ट गरिएको उक्त भिडियोमा पनि ‘चितवनमा जनसागर उर्लिएको’ जानकारी दिइएको छ ।

जाँचका क्रममा उक्त भिडियो पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दासँग सम्बन्धित देखिन्छ । ८ भादौ २०७६ मा रवि लामिछाने, युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीलाई आत्महत्या दुरुत्साहन अन्तर्गत चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

मुद्दाको प्रक्रिया अगाडि बढिरहेका बेला तत्कालीन कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले जिल्ला अदालत चितवन अगाडि प्रर्दशन गरेका थिए । उक्त प्रदर्शनमा झडपसमेत भएको र केही प्रर्दशनकारी प्रकाउ परेको खबर त्यतिबेलै प्रकाशित भएको देखिन्छ । सोही सन्दर्भको दृश्यलाई कास्की जिल्ला अदालत र रवि लामिछाने संलग्न मुद्दासँग जोड्दै सामाजिक संजालमा फैलाइएको देखिन्छ ।
निष्कर्ष
कास्की जिल्ला अदालतले रवि लामिछाने संलग्न मुद्दाको फैसला सुनाउने भएपछि पोखरामा जनसागर उर्लिएको दाबी भ्रामक छ । केही वर्षअघि पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका विषयमा रवि लामिछानेका समर्थकले जिल्ला अदालत चितवन अगाडि प्रर्दशन गरेका थिए । २५ अगस्ट २०१९ मा पोस्ट गरिएको भिडियोलाई फरक सन्दर्भको मुद्दासँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
समाचार, nagariknews.nagariknetwork.com
समाचार, bbc.com/nepali
भिडियो, राम्रो नेपाल हाम्रो सपना
भिडियो, Aashish Bhomjan
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई checkthis@newschecker.in मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।