Fact Check
Fact Check: के रवि लामिछानेले रिहा भएका हुन् ? पढ्नुहोस् लाइभ भिडियोको वास्तविकता

Claim
Fact
दाबी: रवि लामिछाने रिहा भएपछि फेसबुक लाइभमा आएको र अदालतबाट सफाइ पाएको दाबी ।
तथ्य: यो तथ्यजाँच रिपोर्ट तयार पार्दासम्म रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिइसकेको छ । पुरानो फरक सन्दर्भको फेसबुक लाइभ भिडियोलाई भ्रामक दाबीसँग जोडेर सामाजिक संजालमा फैलाइएको देखियो ।
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापित रबि लामिछानेसँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा फैलिरहेको छ । उक्त भिडियोमा रवि लामिछाने रिहा भएपछि फेसबुक लाइभमा आएको र अदालतबाट सफाइ पाएको दाबी गरिएको छ ।
Sabina Sabina नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा रवि लामिछाने देखिएको एउटा दृश्य जोडिएको छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘रवि लामिछाने रिहा भएपछि, फेसबुक लाइभमा, सम्मानीत अदालतबाट सफाइ ।’ ७ डिसेम्बर २०२४ मा पोस्ट गरिएको भिडियोमा ९ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् ।
दाबीसहितको सोही भिडियो रमाईलो मुन्छे पूर्वेली नामक टिकटक आइडीमा पनि पोस्ट गरिएका छ । दाबीसहितको भिडियोमा १ लाख ३६ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । ६ हजारभन्दा बढी प्रतिक्रिया आएको भिडियोलाई २७ सयभन्दा बढी पटक सेयर गरिएको छ । प्रस्तुत तथ्यांकबाट के प्रष्ट हुन्छ भने दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ ।

के प्रहरी हिरासतमा रहेका रवि लामिछाने रिहा भएर फेसबुक लाइभमा आएका हुन् त? भिडियोकोक वास्तविक सन्दर्भ पत्ता लगाउँन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
यो तथ्यजाँच गर्दै गर्दा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापित रवि लामिछानेलाई प्रहरीले अदालतमा उपस्थित गराइएको छ । साथै लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिइसकेको छ ।
२ कात्तिक २०८१ मा पक्राउ परेका रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ । यसअघि अनुसन्धानका लागि लामिछानेलाई विभिन्न जिल्ला पुर्याइसकिएको छ । यो तथ्यजाँच गर्दासम्म लामिछाने प्रहरी हिरासत मै रहेको पुष्टि हुने समाचारहरु प्रकाशित भएका छन् ।
यसअघि नै रवि लामिछाने रिहा भएर फेसबुक लाइभमा आएको दाबी सामाजिक संजालमा फैलाइएको देखिन्छ । उक्त दाबीसँगै लामिछाने लाइभ आएको दृश्य पनि जोडिएको छ । उक्त दृश्यको जाँचका क्रममा हामीले उनको आधिकारिक फेसबुक आइडी Rabi Lamichhane मा पोस्ट भएका लाइभ भिडियोहरु नियाल्यौँ ।
जाँचको नतिजास्वरुप १९ जनवरी २०२० मा पोस्ट गरिएको लाइभ भिडियो फेला पर्यो । फेला परेको पुरानो लाइभ भिडियो लामिछानेको आत्महत्या दुरुत्साहन मुद्दासँग सम्बन्धित छ ।

१९ जनवरी २०२० मा तत्कालीन सञ्चारकर्मी लामिछाने लगायतले सालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाबाट सफाइ पाएका थिए । यही सन्दर्भमा लामिछानेले फेसबुक लाइभमार्फत् सबैलाई धन्यवाद् ज्ञापन गर्दै खुसी मनाएका थिए ।
सोही सन्दर्भको समाचार en.setopati.com मा प्रकाशित गरिएको देखिन्छ । यो समाचार प्रकाशित मिति र लामिछाने आफ्नो लाइभ भिडियो पोस्ट गरेको मिति एउटै छ ।

यो तथ्यजाँच गर्दासम्म फेला परेका तथ्यहरुले पूर्वगृहमन्त्री रवि लामिछाने प्रहरी हिरासतमा नै रहेको प्रमाणित गरेका छन् ।
निष्कर्ष
प्रहरी हिरासतमा रहेका रवि लामिछानेले अदालतबाट सफाइ पाएको तथा रिहा भएको र फेसबुक लाइभमा आएको दाबी भ्रामक छ । यो तथ्यजाँच रिपोर्ट तयार पार्दासम्म प्रहरीले म्याद थप्नका लागि रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराएको छ । पुरानो फरक सन्दर्भको फेसबुक लाइभ भिडियोलाई भ्रामक दाबीसँग जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
समाचार, setopati.com
फेसबुक आइडी, Rabi Lamichhane
समाचार, en.setopati.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।