दाबी: प्रहरी हिरासतमा रहेका रवि लामिछाने रिहा भएको दाबी ।
तथ्य: पुरानो र फरक सन्दर्भको तस्बिरलाई गलत दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।
पूर्वगृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा प्रहरी हिरासतमा रहेका रवि लामिछाने छुटेको (रिहा भएको) दाबी गरिएको छ ।
Balenshahfansclub25 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा रवि लामिछानेको तस्बिर जोडिएको छ । प्रस्तुत तस्बिरसँगै रवि लामिछाने रिहा भएको सन्देश दिइएको छ । तस्बिरको थमनेलमा देखिएको छ- ‘रवि लामिछाने छुटेको खबर, बधाई छ ।’
२४ अक्टोबर २०२४ मा पोस्ट गरिएको सामग्री (केही घण्टाअघि) मा २ हजार २ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् ।

त्यस्तै syangjakc नामक टिकटक आइडीमा पनि सोही दाबीसहितको सामग्री पोस्ट गरिएको छ । २३ अक्टोबर २०२४ मा पोस्ट गरिएको सामग्रीमा १८ हजार ५ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब ४ सय पटक सेयर भइसकेको दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको देखिन्छ ।
के प्रहरी हिरासतमा रहेका रवि लामिछाने रिहा भएका हुन् त? रवि लामिछाने छुटेको खबर भन्दै सामाजिक संजालमा फैलाइएको दाबीबारे हामीले जाँचबुझ गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
२ कात्तिक २०८१ मा प्रहरीले पूर्वगृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरेको थियो । कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर लामिछानेलाई प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको हो । रवि लामिछानेमाथि सहकारीमा जम्मा भएको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मार्फत् अपचलन गरेको आरोप लागेको छ ।
काठमाडौँमा पक्राउ गरेर रवि लामिछानेलाई कास्की पुर्याइएको थियो । पक्राउ परेको केही दिनपछि उनी रिहा भएको दाबीसहित सामाजिक संजालमा केही तस्बिर पोस्ट गरिएको पाइयो ।
दाबीको जाँचका लागि हामीले रवि लामिछाने पक्राउ प्रकरणबारे पक्राशित ताजा समाचारहरु नियाल्यौँ । नतिजास्वरुप केही घण्टाअघि मात्रै (२४ अक्टोबर २०२४) bbc.com/nepali मा प्रकाशित समाचार फेला पर्यो । उक्त समाचारमा रवि लामिछानेलाई हिरासतमा राख्न ७ सात दिन म्याद थप गरिएको जानकारी दिइएको छ ।

सोही जानकारीसहितको समाचार kantipurtv.com मा पनि पक्राशित भएको छ । आजै प्रकाशित (२४ अक्टोबर २०२४) समाचार अनुसार सहकारी ठगी प्रकरणमा अनुसन्धान पूरा नभएको भन्दै कास्की जिल्ला अदालतले लामिछानेलाई थप एक साता हिरासतमा राख्न म्याद थप्ने निर्णय गरेको जानकारी दिइएको छ ।
प्रहरी हिरासतमा रहेका रवि लामिछाने रिहा नभएको जानकारी फेला परेका तथ्यहरुले प्रष्ट पारेका छन् ।

अर्कोतर्फ दाबीसहितको सामग्रीसँग रवि लामिछानेको एउटा तस्बिरसमेत जोडिएको छ । उक्त तस्बिरको जाँचका लागि हामीले गुगल लेन्समा रिभर्स इमेज सर्च गर्यौँ । जाँचको नतिजास्वरुप annapurnapost.com मा प्रकाशित समाचार फेला पर्यो ।
१३ वैशाख २०८० मा प्रकाशित समाचारमा तीन क्षेत्रमा भएको उपनिर्वाचनबाट नेपाली कांग्रेसले एक सिट गुमाएको र राष्ट्रिय स्वतन्त्र पार्टीको एक सिट बढाएको जानकारी दिइएको छ । प्रस्तुत समाचारमा उल्लेखित तस्बिर र दाबीसहितको सामाग्रीमा उल्लेख गरिएको तस्बिरमा एउटै हो । पुरानो र फरक सन्दर्भको तस्बिरलाई रवि लामिछाने रिहा भएको जानकारीसँग जोड्दै पोस्ट गरिएको देखियो ।
कास्की प्रहरी हिरासतमा रहेका रवि लामिछाने रिहा भएको दाबीबारे थप जाँचका लागि हामीले आधिकारिक निकायलाई सम्पर्क गर्यौँ । यसका लागि हामीले कास्की जिल्ला प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियालाई फोन सम्पर्क गर्यौँ । उनले रवि लामिछाने रिहा भइनसकेको पुष्टि गरे । एसपी ओलियाका अनुसार लामिछाने हिरासतमै छन् ।
निष्कर्ष
कास्की जिल्लास्थित प्रहरी हिरासतमा रहेका रवि लामिछाने रिहा भएको दाबी गलत छ । पुरानो र फरक सन्दर्भको तस्बिरलाई गलत दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : गलत
हाम्रा स्रोतहरू
समाचार, bbc.com/nepali
समाचार, kantipurtv.com
तस्बिर, annapurnapost.com
समाचार, nagariknews.nagariknetwork.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।