Wednesday, May 14, 2025

Fact Check

Fact Check: सामाजिक संजालमा फैलियो ४ वर्ष पूरानो भिडियो, रवि लामिछानेको ज्यान खतरामा रहेको दाबी

Written By Aakash Chhetri
May 17, 2023
banner_image

Claim

image

Fact

image

दाबी: रवि लामिछानेलाई ज्यान मार्ने धम्की आएको र उनको ज्यान खतरामा रहेको छ (दुई दिनअघि पोस्ट गरिएको) । 
तथ्य: चार वर्ष पूरानो र फरक सन्दर्भको घटनालाई छाँटकाँट गरेर वर्तमान सन्दर्भमा सामाजिक संजालभरी फैलाइएको पाइयो । 

सामाजिक संजालमा भिडियोसहितको एउटा सामग्री फेला परेको छ, उक्त सामग्रीमा पूर्वगृहमन्त्री तथा प्रतिनिधि सभा सांसद रवि लामिछानेलाई ज्यान मार्ने धम्की आएको र उनको ज्यान खतरामा रहेको दाबी गरिएको छ ।

Rabi lamichhane नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा एक जना व्यक्तिले रवि लामिछानेलाई हिन्दी भाषामा धम्कीपूर्ण सन्देश दिएको अडियो जोडिएको छ । उक्त अडियोमा अपरिचित रवि लामिछानेलाई व्यक्तिले २४ घण्टाभित्र  ‘देखाइिदने’ धम्की दिएको सुन्न सकिन्छ ।

धम्की दिने व्यक्तिसँग रवि लामिछाने आफै कुरा गरिरहेको सुनिन्छ । अर्कोतर्फ उक्त सामग्रीको थमनेलमा रवि लामिछानेलाई ज्यान मार्ने धम्की आएको र उनको ज्यान खतरामा रहेको दाबी गरिएको छ । थमनेलमा लेखिएको छ- ‘रवि लामिछानेको ज्यान खतरामा, २४ घण्टामा ज्यान मार्ने धम्की ।’ 

पोस्ट गरिएको दुई दिनमै दाबीसहितको सामग्रीमा १ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेका छन् । यो सामग्रीमा प्रतिक्रिया जनाउने अधिकांश टिकटक प्रयोगकर्ताले रवि लामिछानेलाई धम्की दिने व्यक्तिलाई कारबाही गर्न माग गरिरहेका छन् । दुई दिनमै दाबीसहितको सामग्रीमा साढे २२ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने करिब ६ सय टिकटक प्रयोगकर्ताले उक्त सामग्रीलाई सेयर गरिसकेका छन् । 

टिकटकमा मात्रै होइन, पछिल्लो समय फेसबुकमा पनि सोही दाबीसहितको सामग्री फैलिएको पाइन्छ । बझाङ खबर नामक फेसबुक पेजमा २ दिनअघि उक्त सामग्री पोस्ट गरिएको छ । यस तथ्यांकबाट दाबीसहितको सामग्रीको फैलावट अति नै द्रुत रहेको प्रष्ट हुन्छ ।

पूर्व गृहमन्त्री र सांसद जस्तो पदमा आसीन व्यक्तिलाई ज्यानको धम्की दिनु अत्यन्तै संवेदनशील विषय मानिन्छ । त्यसैले उक्त सामग्री वास्तविकता पत्ता लगाउन हामीले याे जाँच गरेका छौँ ।         

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित सामग्रीमा पूर्वगृहमन्त्री तथा प्रतिनिधि सभा सांसद रवि लामिछानेलाई ज्यान मार्ने धम्की आएको र उनको ज्यान खतरामा रहेको दाबी गरिएको छ । दाबीसहितको सामग्रीमा एउटा भिडियो-अडियो जोडिएको छ, जसमा स्वयं रवि लामिछानेको आवाज पनि सुन्न सकिन्छ ।  

सांसदलाई नै ज्यानको धम्की दिइएको दाबी गर्ने प्रस्तुत सामग्रीको जाँचका क्रममा सबैभन्दा पहिले हामीले भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गर्‍यौँ । यसका लागि हामीले ‘रवि लामिछाने’, ‘ज्यान मार्ने धम्की’ ‘कमल न्यौपाने’ लगायतका अनेक वाक्यांशहरू फेसबुक लगायतका सामाजिक संजालमा सर्च गर्‍यौँ ।

सर्चको नतिजास्वरुप चार वर्षअघि फेसबुकमा पोस्ट गरिएको एउटा सामग्री फेला पर्‍यो । २८ नोभेम्बर २०१८ मा देश बिदेशका अनलाइन खबर नामक फेसबुक पेजमा पोस्ट गरिएको उक्त सामग्री र माथि उल्लेखित दाबीसहितको सामग्री हुबहु मिल्दो छ । किवर्ड सर्चबाट फेला परेको प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने चार वर्षअघि फेसबुकमा पोस्ट गरिएको सामग्रीलाई पुन: सामाजिक संजालमा फैलाइएको छ ।

तर, वर्तमान सन्दर्भ बनाएर सामाजिक संजालममा फैलाइएको उक्त सामग्रीको मूल सन्दर्भ भने खुल्न सकेको छैन । त्यसैले अब हामी दाबीसहितको भिडियोको मूल सन्दर्भ पत्ता लगाउनतिर लाग्यौँ । यसका लागि हामीले माथि नै फेला परेको भिडियोको सहारा लियौँ ।

फेला परेको भिडियोमा न्युज २४ टेलिभिजनको लोगो देख्न सकिन्छ । त्यसैगरी उक्त भिडियोमा सुनिने आवाज ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका तत्कालीन रिपोर्टरसँग मिलेको छ । यही आधारमा हामीले आजभन्दा चार वर्षअघि अर्थात् नोभेम्बर २०१८ मा प्रशारित ‘सिधा कुरा जनतासँग’ टिभी कार्यक्रमका श्रृंखलाहरुको खोजी थाल्यौँ । किनकि माथि फेसबुक पेजमा फेला परेको भिडियो पनि नोभेम्बर २०१८ मै पोस्ट गरिएको देखिन्छ । 

‘Nov 2018’ ‘SidhaKuraJanataSanga’ ‘धम्की’ लगायतका किवर्डहरूलाई युट्युबमा सर्च गर्दा थुप्रै नतिजाहरू फेला परे । ती नतिजाहरू मध्ये News24 Nepal नामक युट्युब च्यानलमा पोस्ट गरिएको ‘सिधा कुरा जनतासँग’ नामक टिभी कार्यक्रमको श्रृंखला नम्बर ३०६ हाम्रा लागि महत्वपूर्ण स्रोत बन्यो । 

४ वर्षअघि अर्थात् २७ नोभेम्बर २०१८ मा पोस्ट गरिएको उक्त श्रृंखलाको शीर्षक छ- ‘रविलाई २४ घण्टामा ज्यान मार्ने धम्की, प्रोफेसर भट्टचार्यकी वकिल अब सानिमायाकै पक्षमा ।’   

चार वर्षअघि रवि लामिछाने न्युज २४ टेलिभिजनमा प्रशारण हुने तत्कालीन ‘सिधा कुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रमका प्रस्तोता थिए । सोही समय रवि लामिछानेले कमलकुमार न्यौपाने नामक व्यक्तिबारे सामग्री तयार पारेर ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा प्रशारण गरेका थिए । 

युट्युबमा फेला परेको रिपोर्ट अनुसार प्रमाण बिना आफूबारे सामग्री तयार पारेर टेलिभिजनमा प्रशारण गरेको भन्दै कमलकुमार न्यौपाने आक्रोशित भए र उनले अर्कै व्यक्तिलाई फोन दिए । कमलकुमार न्यौपानेले मोबाइल फोन हस्तान्तरण गरेका व्यक्तिले हिन्दी भाषामा रवि लामिछानेलाई धम्की दिएका छन् । तर, उक्त घटना वर्तमान सन्दर्भको नभई ४ वर्ष पहिले नै घटिसकेको घटना हो । त्यो समय रवि लामिछाने न गृहमन्त्री भएका थिए, न त सांसद नै भएका थिए । त्यो समय उनी एउटा कार्यक्रम प्रस्तोताको भूमिकामा थिए । 

चार वर्ष पूरानो र फरक सन्दर्भको घटनालाई वर्तमान सन्दर्भमा सामाजिक संजालभरी फैलाइएको पाइयो । पूरानो र फरक सन्दर्भको घटनालाई छाँटकाँट गरेर वर्तमान सन्दर्भमा पोस्ट गर्दा भ्रामक सन्देश दिएको छ । 

निष्कर्ष

वर्तमान सन्दर्भमा सामाजिक संजालभरी फैलाइएको भिडियो सहितको सामग्री चार वर्ष पूरानो र फरक सन्दर्भको हो । उक्त पूरानो घटनालाई वर्तमान सन्दर्भमा सामाजिक संजालमा भ्रामक तरिकाले फैलाइएको पाइयो ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

News24 Nepal
देश बिदेशका अनलाइन खबर


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage