Fact Check
के राजु बिष्टले ‘भारत नेपाली भूमिमा पसेको’ अभिव्यक्ति दिएका हुन्?

दाबी: भारतीय सांसद राजु बिष्टले ‘हामी नेपाली सीमा नाघेर भारत आएको होइन, भारतले नेपालको जमिन हडपेको हो’ भन्ने अभिव्यक्ति दिएको दाबी ।
तथ्य: राजु बिष्टले १३ फेब्रुअरी २०२३ मा लोकसभामा दिएको भाषणमा ‘हामी नेपाली सीमा नाघेर भारत आएको होइन, भारतले नेपालको जमिन हडपेको हो’ वा ‘नेपाली भारत पसेको होइन, भारत नेपाली भूमिमा पसेको हो’ भन्ने अभिव्यक्ति कहिल्यै दिएका छैनन् ।
भारतीय सांसद राजु बिष्टसँग सम्बन्धित एउटा दाबी नेपाली सामाजिक संजालमा प्रयोगकर्तामाझ फैलिरहेको छ । उक्त सामग्रीमा सांसद बिष्टले ‘हामी नेपाली सीमा नाघेर भारत आएको होइन, भारतले नेपालको जमिन हडपेको हो’ भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ ।
Greater Nepal TV नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा भारतीय लोकसभा सदस्य राजु बिष्ट बोलिरहेको दृश्य जोडिएको छ । साथै भिडियो जोडिएको समाचार शैलीको अडियोमा भनिएको छ- ‘भारतीय लोक सभाको लागि दार्जिलिङबाट प्रतिनिधित्व गर्ने राजु बिष्टले भनेका छन्, हामी नेपाली सीमा नाघेर भारत आएको होइन, भारतले नेपालको जमिन हडपेको हो ।’

प्रस्तुत दाबीसहितको भिडियोमा ८ हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै १ हजार तीन सयभन्दा बढी सेयर भइसकेको सामग्रीलाई करिब एक लाख ५० हजार टिकटक प्रयोगकर्ताले हेरिसकेका छन् ।
त्यस्तै lingthep.lalit नामक टिकटक आइडीमा पनि सोही दाबीसहितको सामग्री पोस्ट गरिएको छ । भारतीय सांसद राजु बिष्ट बोलिरहेको भिडियोको थमनेलमा लेखिएको छ- ‘नेपाली भारत पसेको होइन, भारत नेपाली भूमिमा पसेको हो ।’

के भारतीय सांसद राजु बिष्टले ‘नेपाली सीमा नाघेर भारत आएको होइन, भारतले नेपालको जमिन हडपेको हो’ भन्ने अभिव्यक्ति दिएका हुन् त? दाबीसहित पोस्ट गरिएको भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
जाँचका क्रममा हामीले सबैभन्दा पहिले भारतीय लोकसभा सदस्य राजु बिष्ट देखिने भिडियोको मूल अंश पत्ता लगाउने कोशिस गर्यौँ । यसका लागि ‘Raju Bista Speech Parliament’ लगायतका वाक्यांश जाँच गर्यौँ । नतिजास्वरुप बिष्टले लोकसभामा बोलेको पुरानो भिडियो Sansad TV र Bharatiya Janata Party मा फेला पर्यो ।

१३ फेब्रुअरी २०२३ मा भारतीय लोकसभामा ‘आदर्श स्टेशन योजना’ अन्तर्गत रेलवे स्टेशनहरूको सौन्दर्यीकरण, आधुनिकीकरण तथा यात्रु सुविधामा सुधार गर्ने विषयमा संकल्प प्रस्तावमाथि छलफल भएको थियो । सोही क्रममा राजु बिष्टले आफ्नो धारणा प्रस्तुत गरेका थिए, जहाँ उनले विशेषगरी पश्चिम बंगालका स्टेशनहरूको स्तरोन्नति, पर्यटन प्रवर्द्धन, स्थानीय पूर्वाधार विकास तथा यात्रु सेवाको गुणस्तर सुधारमा जोड दिएका थिए ।
यही भिडियोको सुरुवाती अंशलाई दाबीसहितको सामग्रीमा जोडिएको देखिन्छ । तर, लोकसभामा राजु बिष्टले बोलेको भिडियोमा कतैपनि ‘हामी नेपाली सीमा नाघेर भारत आएको होइन, भारतले नेपालको जमिन हडपेको हो’ वा ‘नेपाली भारत पसेको होइन, भारत नेपाली भूमिमा पसेको हो’ भन्ने अभिव्यक्ति दिएको पाइएन ।
फेला परेको प्रस्तुत तथ्यबाट के पुष्टि हुन्छ भने भारतीय सांसद राजु बिष्टले तीन वर्षअघि लोकसभामा बोलेको दृश्यलाई भ्रामक तरिकाले प्रयोग गरिएको छ । राजु बिष्ट गोरखा (नेपाली मूल) परिवारमा जन्मिएका हुन् । पछिल्लो समय उनी भारतीय सत्तारुढ दल बीजेपीका प्रमुख नेताहरुमध्यमा आउँछन् । साथै बीजेपीको राष्ट्रिय प्रवक्ता (National Spokesperson) को जिम्मेवारीमा पनि छन् ।
सांसद बिष्टले दाबीसहितको सामग्रीमा लेखिएजस्तो ‘हामी नेपाली सीमा नाघेर भारत आएको होइन, भारतले नेपालको जमिन हडपेको हो’ वा ‘नेपाली भारत पसेको होइन, भारत नेपाली भूमिमा पसेको हो’ भन्ने अभिव्यक्ति दिएका हुन् कि होइनन् भनेर हामीले थप जाँच गर्यौँ । तर, जाँचका क्रममा पुष्टि गर्ने कुनै भिडियो वा समाचार फेला परेनन् ।
निष्कर्ष
भारतीय सांसद राजु बिष्टले १३ फेब्रुअरी २०२३ मा लोकसभामा दिएको भाषणमा ‘हामी नेपाली सीमा नाघेर भारत आएको होइन, भारतले नेपालको जमिन हडपेको हो’ वा ‘नेपाली भारत पसेको होइन, भारत नेपाली भूमिमा पसेको हो’ भन्ने अभिव्यक्ति कहिल्यै दिएका छैनन् । लोकसभाको पुरानो भाषणलाई गलत दाबीसँग जोडेर पोस्ट गरिएको पाइयो ।
नितिजा: भ्रामक
हाम्रा स्रोतहरू
राजु बिष्टको सम्बोधन, Sansad TV
राजु बिष्टको सम्बोधन, Bharatiya Janata Party
राजु बिष्ट RajuBistaBJP
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]
