Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: ‘केपी ओली भ्रष्टसँग मिलेको प्रतिगामी: रामचन्द्र पौडेल । राष्ट्रपतिलाई थाहा छ- देउवा र ओली मिल्दा देश समृद्ध होइन संकटको भुमरीमा भासिने छ, भ्रष्टाचार र व्यवस्था विरोधी हर्कतले देश झन थिलथिलो हुनेछ !’ (भिडियो)
तथ्य: रामचन्द्र पौडेल राष्ट्रपति नहुँदै खिचिएको पुरानो भिडियोलाई मिति र सन्दर्भ नखुलाई वर्तमान सन्दर्भसँग जोड्दै पोस्ट गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्बन्धित भिडियो हालसालै सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोसँगै राष्ट्रपतिले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ‘भ्रष्टसँग मिलेको प्रतिगामी’ भनेको दाबी गरिएको छ ।
BhattaraiSantosh नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा राष्ट्रपति रामचन्द्र पौडेल बोलिरहेको दृश्य जोडिएको छ । २०२४ जुलाई ९ मा पोस्ट गरिएको भिडियोको थमनेलमा लेखिएको छ- ‘केपी ओली भ्रष्टसँग मिलेको प्रतिगामी: रामचन्द्र पौडेल । राष्ट्रपतिलाई थाहा छ- देउवा र ओली मिल्दा देश समृद्ध होइन संकटको भुमरीमा भासिने छ, भ्रष्टाचार र व्यवस्था विरोधी हर्कतले देश झन थिलथिलो हुनेछ !’
पोस्ट भएको एक दिनमै दाबीसहितको भिडियोमा करिब पाँच हजार टिकटक प्रयोगकर्ता रियाक्टले गरिसकेका छन् । दुई सयभन्दा बढी प्रतिक्रिया आएको भिडियोमा तीन सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेको देखिन्छ ।
‘राष्ट्रपतिलाई थाहा छ’ भन्दै पोस्ट गरिएको भिडियो वास्तविक मिति र सन्दर्भ खुलाइएको छैन । भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
पछिल्लो समय नेपालको सत्ता गठबन्धन फेरबदल भएको छ । प्रतिनिधि सभा निर्वाचन २०७९ मा पहिलो र दोस्रो ठुला दल बनेका नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बनेको हो । २०८१ असार १७ गते राति संविधान संशोधन, राष्ट्रिय सहमतिको सरकार निर्माण लगायतका मुद्दालाई आधार बनाएर दुई दलले सत्ता गठबन्धन बनाएका थिए ।
यही सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेल देखिने भिडियोमा दाबीसहितको थमनेल जोडेर सामाजिक संजालमा पोस्ट गरिएको छ । राष्ट्रपतिलाई केपी शर्मा ओलीसँग जोड्दै पोस्ट गरिएको भिडियोको जाँचका लागि हामीले सबैभन्दा पहिले ‘रामचन्द्र पौडेल’ ‘केपी ओली’ वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप News Agency Nepal युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो । दुई वर्षअघि अर्थात् १९ अप्रिल २०२२ मा पोस्ट गरिएको भिडियोमा रामचन्द्र पौडेलले केपी शर्मा ओलीको विरोध गरेको देख्न सकिन्छ ।
त्यस्तै Sagarmatha TV युट्युब च्यानलमा पनि रामचन्द्र पौडेलको सोही भाषण पोस्ट गरिएको पाइयो । १९ अप्रिल २०२२ मै पोस्ट गरिएको भिडियोको शिर्षकमा लेखिएको छ- ‘गठबन्धन देखेर ओली आत्तिएर थर्थरी काँपेका छन्ः रामचन्द्र पौडेल’ ।
यही भाषणमा आधारित समाचार setopati.com, onlinekhabar.com, deshsanchar.com लगायतका संचार माध्यमले प्रकाशित गरेको पाइयो ।
दुई वर्षअघि नेपाली कांग्रसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल विद्यार्थी संघको ५३औँ स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए । उनले त्यो बेला एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को विरोधसमेत गरेका थिए । सोही भिडियोलाई वर्तमान सन्दर्भमा पोस्ट गरिएको देखिन्छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल फागुन २०७९ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए । वर्तमान सन्दर्भमा पोस्ट गरिएको दाबीसहितको भिडियो उनी राष्ट्रपति निर्वाचित हुनुभन्दा करिब एक अघि नै खिचिएको थियो । त्यो बेला नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरुले सत्ता गठबन्धन बनाएका थिए भने केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) प्रतिपक्षमा थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्बन्धित पुरानो भिडियोलाई मिति र सन्दर्भ नखुलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।
‘राष्ट्रपतिलाई थाहा छ’ भन्दै पोस्ट गरिएको भिडियो वर्तमान सन्दर्भको होइन । रामचन्द्र पौडेल राष्ट्रपति हुनुअघि नै खिचिएको भिडियोलाई वर्तमान सन्दर्भसँग जोड्दै भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
भिडियो, Sagarmatha TV
भिडियो, News Agency Nepal
समाचार, setopati.com
समाचार, onlinekhabar.com
समाचार, deshsanchar.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]