भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा बलात्कार आरोपी नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग जोडिएको अर्को दाबीसहितको सामग्री भेटिएको छ । उक्त भिडियोको थमनेलमा सन्दीपलाई प्रधानमन्त्रीले नै फसाउन लागेको प्रमाणित भएको दाबी गरिएको छ ।
Subodhs sah नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा बलात्कार आरोपी नेपाली क्रिकेटर सन्दीप लामिछाने बोलिरहेको दृश्य देख्न सकिन्छ । उक्त भिडियोमा सन्दीपले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।
भिडियोमा सन्दीपले भनेका छन्-
‘प्रधानमन्त्रीले त भन्नुभयो सन्दीप चम्क्यो तर सन्दीप बाहेक अरु कहिले चम्किने त ? अरुले पनि त पर्फमेन्स त्यतिकै दिइराख्नुभएको छ, अरुले पनि त त्यतिकै मेहेनत गर्नुभएको छ यहाँ । उहाँहरुलाई चम्काउने वातावरण कहिले ल्याउँने त ? म नराम्रो पनि देखिनसक्छु यो प्रश्न सोधेकोमा त्यसका लागि माफी पाउँ ।’
सोही दाबीसहितको भिडियोको थमनेलमा लेखिएको छ – ‘यो सुनेर पक्का भयो कि सन्दीपलाई प्रधानमन्त्रीले नै फसाउन लागेको पक्का हुन्छ ।’

प्रस्तुत दाबीसहितको सामग्रीको फैलावट व्यापक देखिन्छ । उक्त सामग्रीमा करिब १६ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । १६० भन्दा बढी प्रयोगकर्ताले प्रतिक्रिया जनाइसकेको दाबीसहितको सामग्रीलाई २०० भन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेको देखिएको छ ।
अनुसन्धानकै क्रममा रहेको बलात्कारको मुद्दा र प्रधानमन्त्रीसँग जोडिएको दाबी भएकाले प्रस्तुत सामग्रीको जाँच गर्ने जमर्को गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
सन्दीप लामिछानेमाथि बलात्कार मुद्दामा अनुसन्धान भइरहेको छ । प्रहरी कहाँ पीडित बालिकाले जाहेरी दिएपछि काठमाडौँ महानगरिय प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रूपमा अनुसन्धान गरेको हो । कात्तिक २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।
पक्राउपछि सन्दीपलाई सोमबार (असोज २४) काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । न्यायाधीश दयाराम ढकालसमक्ष सन्दीपले बयान पनि दिएका थिए । अहिले सन्दीपलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । यही क्रममा सन्दीपलाई प्रधानमन्त्रीले नै फसाउन लागेको प्रमाणित भएको दाबी गरिएको सामग्री सामाजिक संजालमा फैलिएको देखियो ।
जाँचका क्रममा सबैभन्दा पहिले हामीले दाबीसहितको सामग्रीलाई राम्ररी नियाल्यौँ । उक्त भिडियोमा नेपाली संचारकर्मी रुपेश श्रेष्ठ पनि देखिएका छन् । उनले केही वर्षदेखि कान्तिपुर टेलिभिजनमा ‘फायरसाइट’ नामक कार्यक्रम संचालन गर्दै आएका छन् ।
प्रस्तुत जानकारीकै आधारमा हामीले युट्युबमा ‘sandeep lamichhane’ ‘fireside’ किवर्ड सर्च गर्यौँ । फलस्वरुप हामीले उक्त कार्यक्रममा सन्दीप लामिछानेले दिएको अन्तर्वार्ता फेला पार्यौँ । Kantipur TV HD युट्युब च्यानलमा २२ फेब्रुअरी २०२१ मा पोस्ट गरिएको उक्त अन्तर्वार्ता हामीले पूरै हेर्यौँ ।
अन्तत: सोही अन्तर्वार्ताको ४६ मिनेटमा दाबीसहितको सामग्रीमा प्रयोग गरिएको सन्दीपको भनाई भेटियो । प्रश्न सोध्ने क्रममा प्रस्तोता रुपेश श्रेष्ठले भनेका छन्-
‘अघि हामीले नेपाली क्रिकेटले पाउँदै गरेको स्रोत साधन लगायतका बारेमा कुरा गर्यौँ, हामीले भारतीय प्रधानमन्त्रीको लाम लिइरहँदा हाम्रा प्रधानमन्त्रीको नाम पनि नाम लिउँ, जसले पटक-पटक क्रिकेटको प्रशंसा पनि गर्नुहुन्छ र बोल्दै गर्दा यहाँले भन्नुहुन्छ- डल्ला फ्याँकेर एउटा केटा चम्क्यो भनेर बारम्बार पनि भन्नुभएको छ । तपाईलाई सम्झिएर । एक हिसावले क्रकेट खेल्नुलाई डल्ला फ्याँक्ने भनेर बुझ्ने प्रवृतिका कारण समस्या भएको हो नेपाली क्रिकेटलाई ?’
प्रस्तोताले गरेको प्रश्नको उवाफ ‘मे वी’ भन्दै सुरु गर्छन् र सोही जवाफलाई काटेर माथि दाबीसहितको सामग्रीमा जोडिएको देखिन्छ । जसलाई फरक सन्दर्भमा जोडिएको देखिन्छ ।
तर, यो अन्तर्वार्ताको सन्दर्भ अहिले सन्दीपलाई लागेको बलात्कार आरोपसँग भने मिल्दैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो समय सन्दीपले इण्डियन प्रिमियर लिग (आईपीएल)मा पाएको अवसरको सन्दर्भमा मौका पाएमा नेपालीले जे पनि गर्न सक्ने तर मौका नै नपाउने बताएका थिए ।

प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने सन्दीपलाई प्रधानमन्त्रीले नै फसाउन लागेको प्रमाणित भएको दाबी गरिएको सामग्रीमा जोडिएको भिडियो नै फरक सन्दर्भको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अहिले प्रमुख प्रतिपक्षी दलका अध्यक्षको रुपमा रहेका छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका छन् ।
दाबीसहितको सामग्री नै फरक सन्दर्भको भएकाले प्रधानमन्त्री नै सन्दीपलाई फसाउन लागेको भन्ने दाबी प्रमाणित हुँदैन ।
निष्कर्ष
सन्दीपलाई प्रधानमन्त्रीले नै फसाउन लागेको प्रमाणित भएको दाबी भ्रामक छ । पूरानो अन्तर्वार्ताको एउटा अंश काटेर सामाजिक संजालमा भ्रामक तरिकाले फैलाउन खोजेको देखिन्छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co