Wednesday, May 14, 2025

Fact Check

Fact Check: के सर्वेन्द्र खनालले ‘आफ्नै दलका प्रधानमन्त्री’लाई थर्काएका हुन् ? पढ्नुहोस् भिडियोको वास्तविकता 

Written By Aakash Chhetri
Nov 21, 2024
banner_image

Claim

image

Fact

image

दाबी: नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनालले ‘आफ्नै दलका प्रधानमन्त्रीलाई थर्काएको’का छन् ।
तथ्य: फरक सन्दर्भको पुरानो र असम्बन्धित अन्तर्वार्ताको अंशलाई प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरसँग जोडिएको पाइयो । 

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनालसँग सम्बन्धित सामग्री सामाजिक संजालमा फेला परेको छ । पूर्वआइजिपी सर्वेन्द्र खनालले  ‘आफ्नै दलका प्रधानमन्त्रीलाई थर्काएको’ दाबी गरिएको छ ।

Loken Tmg नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर र पूर्वआइजिपी सर्वेन्द्र खनाल बोलिरहेको दृश्य जोडिएको छ । ८ नोभेम्बर २०२४ मा पोस्ट गरिएको उक्त भिडियोको थमनेलमा लेखिएको छ-  आफ्नै दलको प्रधानमन्त्रीलाई थर्काउँदै सर्वेन्द्र खनाल । एमालेबाट हारेको रिस पोख्दै खनाल ।’  

दाबीसहितको सामग्रीमा जोडिएको भिडियोमा खनालले भनेका छन्- ‘प्रधानमन्त्री भएर देश लुट्नलाई आएको हो ? प्रधानमन्त्री भएर कुनै गठजोड बनाएर, गठबन्धन बनाएर नाममा मनपरी गर्दै हिँड्नका लागि हो ? यसैका लागि हो सबै छानेको ? यहाँ त के भने कोही पनि नभन्ने भएर मनपरी गर्दै हिँडेका‌ ।’  

प्रस्तुत दाबीसहितको सामग्रीमा करिब ९ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । ४ सयभन्दा बढी प्रतिक्रिया आएको भिडियोलाई ३ सयभन्दा बढी पटक सेयर भइसकेको छ । उक्त भिडियो/अडियोबाट १५ भन्दा बढी थप भिडियो पुनर्उत्पादन भइसकेको विवरण टिकटकले देखाउँछ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर जोडेर सर्वेन्द्र खनालले आफ्नै दलका प्रधानमन्त्रीलाई थर्काएको दाबी गर्ने तथ्य के हो त ? वास्तविकता सन्दर्भ र तथ्य पत्ता लगाउन हामीले तथ्यजाँच गर्‍यौँ । 

तथ्यजाँच/प्रमाणीकरण

जाँचका क्रममा हामीले सबैभन्दा पहिले सर्वेन्द्र खनाल देखिने भिडियोको जाँच गर्‍यौँ । जसका लागि सर्वेन्द्र खानाल अन्तर्वार्ता ‘Sarbendra Khanal Interview’ लगायतका वाक्यांशहरुको जाँच गर्‍यौँ ।  

जाँचकै क्रममा Ktm Khabar नामक युट्युब च्यनलमा पोस्ट गरिएको भिडियो भिडियो फेला पर्‍यो । २ जुलाई २०२३ मा पोस्ट गरिएको उक्त भिडियो सेट र हालसालै पोस्ट गरिएको दाबीसहितको सामग्रीमा जोडिएको क्लिपको सेट एकआपसमा मिलेका छन् । 

एक वर्ष पुरानो प्रस्तुत अन्तर्वार्ताको एउटा अंशलाई दाबीसहितको सामग्रीमा जोडिएको देखिन्छ । अन्तर्वार्ताको उल्लेखित अंशमा सर्वेन्द्र खनाल र कार्यक्रम प्रस्तोताबीच ललिता निवास जग्गा प्रकरणबारे चर्चा भइरहेको छ । खनालले आफ्नो अनुसन्धानमा पूर्वप्रधानमन्त्रीद्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपाल पनि ललिता निवास जग्गा प्रकरणमा दोषी रहेको जिकिर गर्छन् ।

यहीबेला सर्वेन्द्र खनालले बोलेको एउटा अंश (प्रधानमन्त्री भएर देश लुट्नलाई आएको हो ? प्रधानमन्त्री भएर कुनै गठजोड बनाएर, गठबन्धन बनाएर नाममा मनपरी गर्दै हिँड्नका लागि हो ? यसैका लागि हो सबै छानेको ? यहाँ त के भने कोही पनि नभन्ने भएर मनपरी गर्दै हिँडेका‌) लाई दाबीसहितको सामग्रीमा जोडिएको देखिन्छ । 

हामीले अन्तर्वार्ताको मूल भागबाट १८: देखि २१:१० सम्मको अंशलाई झिक्यौँ । अन्तर्वार्ताको उक्त अंशमा रहेको सवालजवाफ जस्ताको तस्तै पढ्नुहोस्- 

कार्यक्रम प्रस्तोता: सर, त्यसो भए यो ललिता निवास प्रकरणको जुन मुहान छ नि, त्यो डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदादेखि सुरु भा’छ हो? के देखिन्छ अनुसन्धानबाट, किनभने उनले नक्कली गुठी निर्माण गरिएको भनेपछि त सुरुवातकर्ता उनी भए !

सर्वेन्द्र खनालको जवाफ: अब, सट्टापट्टाको रुपमा पूर्वप्रधानमन्त्री माधव नेपालजीको पनि त्यो सट्टापट्टा गरिएको देखिन्छ हैन, किनभने यो ठाउँको जग्गा उसलाई दिने, यो ठाउँको जग्गा सरकारी परेको हुनाले उनीहरुलाई जग्गा दिनुपर्छ भनेर । त्यसमा एक त पहिला उनीहरुकै नाममै पार्ने, त्यहाँ सट्टापट्टा पर्ने त्यहाँ पनि देखिन्छ । २०६९-२०७० सालतिर बाबुरामको पालामा त …भनिने गुठी नै छैनन् । दुनिया हेर्‍यो, दुनिया अनुसन्धान गरिसकेपछि नभएको ठाउँमा गुठी कामय गर्न लगाएर उसको नाममा राखेर त्यसपछि समरजंग कम्पनीको जग्गा हडप्ने काम भएको छ । 

कार्यक्रम प्रस्तोता: ए, सुरु त माधव नेपालको पालादेखि भएको छ !

सर्वेन्द्र खनालको जवाफ: उहाँहरुकोमा Periodic रुपमा यो घटनाक्रमहरु भएको छ ।

कार्यक्रम प्रस्तोता: हिजो युवराज कोइरालाले भन्नुभएको छ नि, यो त भूमिसुधार मन्त्रालयबाट जानुपर्ने कुरा भौतिक योजना मन्त्रालयबाट गएको छ । त्यहाँ टिप्पणीमै माधव.. प्रधानमन्त्रीको निर्देशनमा गरिएको भनिएको छ । मोहियाका कुराहरु गरिएका छन् भनेपछि माधवकुमार नेपाल संलग्न देखिन्छन्, अनुसन्धानबाट तपाईंहरुले त्यो कुरा पत्ता लगाउनु भो त, के हो? 

सर्वेन्द्र खनालको जवाफ: अनुसन्धानबाट…त्यो देखिन्छ त्यो देखिएर हामीले प्रष्ट राखिदिएका छौँ । स्पष्ट त्यही छ । त्यही छ, क्याविनेट बैठकले के गर्‍यो, के गर्न हुन्छ भन्ने कुरा…

कार्यक्रम प्रस्तोता: यसलाई नीतिगत निर्णयतिर लगेर व्यख्या गरे !

सर्वेन्द्र खनालको जवाफ: के का नीतिगत ! सरकारको सम्पत्ति लगेर लुट मच्चाएका छन्, मनपरी गरेका छन् । प्रधानमन्त्री भएर देश लुट्नलाई आएको हो ? प्रधानमन्त्री भएर कुनै गठजोड बनाएर, गठबन्धन बनाएर नाममा मनपरी गर्दै हिँड्नका लागि हो ? यसैका लागि हो सबै छानेको ? यहाँ त के भने कोही पनि नभन्ने भएर मनपरी गर्दै हिँडेका । बाबुराम भट्टराईले त्यही देख्नुभएन त, नभएको गुठीमा गर्ने हो ? त्यसमा मन्त्रीलाई मात्र कारबाही गर्ने, सचिवलाई मात्र गर्ने, प्रधानमन्त्रीलाई नगर्ने भन्ने हुन्छ ? फौजदारी मुद्दामा आएपछि जो सुकै होस्, प्रधानमन्त्री होस् कि अर्को होस् । निधारमा लेखेर बसिरा हुन्छ को प्रधानमन्त्री भन्दै ? हो, चिनिएला प्राक्टिकल्ली यो मान्छे प्रधानमन्त्री भएको हो भनेर अनि त्यसलाई छाड्ने कुरा हुन्छ ? के का लागि नीतिगत कुरा ?  

फेला परेका तथ्यहरुले के देखाउँछ भने, एक पुरानो अन्तर्वार्तामा पूर्वआइजिपी सर्वेन्द्र खनालले आफ्नो अनुसन्धानमा पूर्वप्रधानमन्त्रीद्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपाल पनि ललिता निवास जग्गा प्रकरणमा दोषी रहेको जिकिर गरेका थिए । उक्त अन्तर्वार्तामा खनालले प्रधानमन्त्री केपी शर्मा ओली वा नेकपा एमालेविरुद्ध कुनै अभिव्यक्ति दिएका थिएनन् । तर, सोही अन्तर्वार्ताको एउटा अंशमा प्रधानमन्त्रीको तस्बिरसहित वर्तमान सन्दर्भमा पोस्ट गरिएको देखियो ।     

निष्कर्ष

नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनालले ‘आफ्नै दलका प्रधानमन्त्रीलाई थर्काएको’ भन्दै भिडियो भ्रामक छ । फरक सन्दर्भको पुरानो र असम्बन्धित अन्तर्वार्ताको अंशलाई भ्रामक दाबीसहित प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरसँग जोडिएको छ ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

अन्तर्वार्ता भिडियो, Ktm Khabar


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage