विमान दुर्घटनाबाट जोगिएको दाबीसहित सामाजिक संजालमा एउटा सामग्री पोस्ट गरिएको छ । उक्त सामग्रीमा उडिरहेको विमान दुर्घटनाबाट जोगिएको सन्दर्भबारे बताइएको छ ।
Madhabkatwalofficial नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा विमान अवतरण भइरहेको दृश्य देख्न सकिन्छ । यो दृश्यमा एउटा थमनेलसमेत जोडिएको छ । उक्त थमनेलमा लेखिएको छ- ‘श्री एयरलाइन्सको जहाज नेपालगञ्ज फर्कियो, नेपाली आकाशमा लोदर लागेको हो कि के हो ?’
दाबीसहितको सामग्रीमा एउटा अडियोसमेत सुन्न सकिन्छ । उक्त अडियोमा नेपालगञ्जदेखि काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको विमानमा धुवा निस्किएको र विमानलाई पुन: विमानस्थल फर्काइएको दाबी गरिएको छ ।
अडियोमा भनिएको छ– ‘नेपालगञ्जदेखि काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाजको आकस्मिक अवतरण गरिएको छ । उडेको केही समयमा नै इन्जिनबाट धुँवा निस्केपछि बाँकेको नेपालगञ्जदेखि काठमाडौँका लागि उडेको श्रीको जहाज पुन: विमानस्थल फर्काइएको छ । चालक दलसहित ७९ जना लिएर उडेको ९ एन–एएनएफ जहाजमा १० माइल उडेपछि…।’

दुई दिनअघि पोस्ट गरिएको प्रस्तुत सामग्रीमा साढे ६ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने दाबीसहितको सामग्रीलाई करिब ८० टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।
उडिरहेको विमानभित्र धुँवा उडेको र विमानलाई आकस्मिक अवतरण गराइएको भन्ने दाबी अत्यन्तै सम्बेदनशील रहन्छ । यही कारण हामीले भर्खरै पोस्ट गरिएको दाबीमाथि तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
माघ १ गते यति एयरलाइन्सको ९ एन-एनसी, एटीआर-७२ ५०० कल साइनको विमान अवतरण गर्ने क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा पर्यो । यसलाई नेपालको उड्डयन क्षेत्रले आन्तरिक रुपमा सबैभन्दा ठूलो मानवीय क्षति भएको विमान दुर्घटनाका रुपमा हेरेको छ ।
चालक दलका चार गरी ७२ जना यात्रु बोकेर काठमाडौँबाट पोखरा उडेको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सेती नदीको खोंचमा दुर्घटना भयो र विमानमा सवार सबैको निधन भयो । विमान दुर्घटनाको यही सेरोफेरोमा अर्को विमान दुर्घटनाबाट जोगिएको संज्ञा दिनेगरी सामाजिक संजालमा दाबीसहितको सामग्री पोस्ट गरिएको हो ।
प्रस्तुत दाबीसहितको सामग्रीको जाँच सुरु गर्दा हामीले सबैभन्दा पहिले केही किवर्ड सर्च गर्यौँ । ‘नेपालगञ्ज’ ‘श्री एयरलाइन्स’ ‘आकस्मिक अवतरण’ लगायतका किवर्ड सर्च गर्दा हामीले केही समाचारहरू फेला पार्यौँ । नयाँ पत्रिकामा प्रकाशित समाचार अनुसार नेपालगञ्ज विमानस्थलमा श्री एयरलाइन्स जहाजमा धुवाँ देखिएपछि ६ मिनेटमा नै आकस्मिक अवतरण गरिएको जानकारी दिइएको छ ।
१९ साउन २०७९ मा प्रकाशित प्रस्तुत समाचार र माथि उल्लेखित दाबीसहितको सामग्रीमा समेत जहाजमा धुवाँ देखिएपछि आकस्मिक अवतरण गरिएको बताइएको छ । प्रस्तुत समाचार र दाबीसहितको सामग्रीमा घटनाको एउटै विवरण देखिएको छ । तर, दाबीसहितको सामग्री भर्खरै पोस्ट गरिएको हो भने यसको सन्दर्भसमेत वर्तमान नै राखिएको छ ।
फेला परेका तथ्यलाई ध्यानमा राख्दै हामीले थप जाँच गर्यौँ । जाँचको यो तहमा हामीले दाबीसहितको भिडियो र अडियोको मूल स्रोत फेला पार्न खोज्यौँ । यसका लागि हामीले सबैभन्दा पहिले युट्युबमा ‘नेपालगञ्ज’ ‘श्री एयरलाइन्स’ ‘आकस्मिक अवतरण’ लगायतका किवर्ड सर्च गर्यौँ । सर्चका क्रममा भेटिएका कुनैपनि नतिजाहरू दाबीसहितको सामग्रीमा जोडिएको अडियोसँग मेल खाएनन् । तर, दाबीसहितको सामग्रीमा बज्ने अडियोको स्रोत कुन युट्युब च्यानलको हो भन्ने कुरा खुल्यो ।
अडियो जाँच गर्ने क्रममा हामीले Nepal Times नामक युट्युब च्यानलमा पोस्ट गरिएका भिडियोहरू सुन्यौँ । ती भिडियोहरूमा सुनिने अडियो र दाबीसहितको सामग्रीमा बज्ने अडियोको स्वर मिल्न गएको छ । यही आधारमा हामीले ‘नेपाली टाइम्स’ युट्युब च्यानलमा पोस्ट गरिएका भिडियोहरूको एक-एक गर्दै जाँच गर्न थाल्यौँ ।
जाँचकै क्रममा पाँच महिनाअघि पोस्ट गरिएको एउटा भिडियो हामीले फेला पार्यौँ । ‘काठमाडौंका लागि उडेको विमानको इन्जिनमा धुवाँ देखिएपछि’ शीर्षकको उक्त भिडियो सामग्री ४ अगस्ट २०२२ मा पोस्ट गरिएको पाइयो ।
प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने माथि उल्लेखित दाबीसहितको सामग्रीमा प्रयोग गरिएको अडियो र मूल सामग्रीमा प्रयोग गरिएको अडियो एउटै हो । मूल अडियो पाँच महिनाअघि युट्युबमा पोस्ट गरिएको थियो, जसको अंश अहिले टिकटकमा पोस्ट गरिएको पाइयो ।
निष्कर्ष
५ महिनाअघि घटेको घटनाको सूचना वर्तमानसँग जोड्दै भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको पाइयो । पछिल्लो दुई दिन यता दाबीसहितको सामग्रीमा भनिएजस्तो कुनैपनि घटना बाँकेमा घटेको छैन ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co