Wednesday, May 14, 2025

Fact Check

सामाजिक संजालमा परिचित तस्बिरको व्यथा, जो श्रीलंकाबाट नेपालसम्म आइपुग्दा भ्रामक बन्यो  

Written By Aakash Chhetri
Jun 25, 2022
banner_image

Claim

image

Fact

image

सामाजिक संजाल प्रयोगकर्तामाझ चर्चित नेपाली अभिनेत्री आशिका तामाङले तीन दिनअघि (२३ जुन) फेसबुक आइडीमा एउटा तस्बिर पोस्ट गरिन् । उक्त तस्बिर श्रीलंकाको रहेको दाबी गरिएको छ । जसमा एक व्यक्तिले अर्का ब्यक्तिलाई छडीले आक्रमण गरिरहेको देखिएको छ । उनले तस्बिरसँगै स्ट्याटससमेत पोस्ट गरेकी छन् । 

तमाङले लेखेकी छन् – ‘आर्थिक संकट भोग्दै गरेको श्रीलंका सरकारले हिजो मात्र मुलुक टाट पल्टिएको घोषणा गरेपछि आक्रोशित बनेका श्रीलंकाली जनताले त्यहाँका सांसदहरूलाई घरबाट निकालेर लखेटेर धित मरुन्जेल पिटेका छन् ।’

पोस्ट भएको केही दिनमै उक्त तस्बिर र क्याप्सनसहितको सामग्रीमा १५ हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् । त्यस्तै उक्त पोस्टमा करिब १५ सय फेसबुक प्रयोगकर्ताले कमेन्ट र करिब ९ सय प्रयोगकर्ताले उक्त पोस्टलाई सेयर गरिसकेका छन् । 

तामाङको मात्रै पोस्ट हेर्ने हो भने उक्त तस्बिर र स्ट्याटस सामाजिक संजालमा कुन गतिमा फैलिएको छ भन्ने सजिलै अनुमान गर्न सकिन्छ । तर, यो पोस्ट तामाङले पहिलो पटक गरेकी भने होइनन् । उक्त स्ट्याटससहितको सामग्री नेपाली सामाजिक संजाल प्रयोगकर्तामाझ भाइरल भइरहेको देखिन्छ । 

न्युजचेकरले सोही स्ट्याटसको एउटा अंशलाई फेसबुकमा सर्च गर्दा नतिजा यस्तो देखिन्छ : 

सर्च नतिजा

श्रीलंकाका वर्तमान प्रधानमन्त्री रनिल विक्रेमासिंघेले केही दिनअघि (२२ जुन) आफ्नो अर्थतन्त्र ‘तहसनहस’ भएको घोषणा गरेका थिए । यही क्रममा इन्धन, ग्यास, विद्युत र खाद्यान्नको चरम अभावले मुलुकलाई भयाभह बताएकोसमेत उनले बताएका थिए । 

आर्थिक संकटमा फसेको श्रीलंकामा तीन महिना अघिदेखि नै सरकारविरुद्ध ठूला र हिंस्रक आन्दोलन हुन थालेका थिए । यही क्रममा प्रदर्शनकारी र सरकार समर्थकबीच समय समयमा झडप हुने गरेको छ । ती प्रदर्शन र झडपहरू भइरहेका बेला नेपालमा माथि उल्लेखित दाबीसहितको तस्बिर सामाजिक संजालमा फैलिएको हो । 

तर, दाबीमा भनिए जसरी उक्त तस्बिर कुनै सांसदको भने होइन । न्युजचेकरको तथ्यजाँचमा उक्त तस्बिरमा कुटाई खाइरहेका व्यक्ति एक पादरी हुन् र उनलाई प्रदर्शनकारीले कुटेका होइनन् भन्ने तथ्य खुलेको छ । ती पादरी आफै सरकार विरोधी आन्दोलनमा सहभागी भएका आन्दोलनकारी हुन् र उनलाई सरकार समर्थकले कुटपिट गरेका हुन् ।   

तथ्यजाँच/प्रमाणीकरण

दाबीसहितका सामग्री फेला पारेसँगै हामीले सबैभन्दा पहिले दाबीसहितको सामग्रीमा प्रयोग गरिएको तस्बिरबारे खोजबिन गर्ने निधो गर्‍यौँ । जसअनुरुप हामीले गुगल रिवर्स इमेज सर्चको प्रयोग गर्‍यौँ । गुगल रिवर्स इमेज सर्चको नतिजास्वरुप उक्त प्रस्बिर प्रयोग गरिएको एउटा समाचार भेटियो । 

युएईको चर्चित संचार माध्यम Gulftoday ले ९ मे २०२२ मा प्रकाशित गरेको एउटा समाचारमा उक्त तस्बिर प्रयोग गरिएको पाइयो । उक्त समाचारमा श्रीलंकास्थित सत्तारुढ दलका एक सांसदले झडपका क्रममा विरोधी प्रदर्शनकारीलाई गोली हानी हत्या गरेको र त्यसपछि आत्महत्या गरेको प्रसंग उल्लेख गरिएको छ । 

प्रस्तुत समाचारमा प्रयोग भएको तस्बिर भने फरक सन्दर्भको प्रयोग गरिएको छ । समाचार अनुसार उक्त घटना राजधानी बाहिर भएको थियो । तर, तस्बिरको क्याप्सनमा भने राजधानीस्थित कोलम्बोको राष्ट्रपति कार्यालय बाहिर प्रदर्शनकारी र सरकार समर्थकबीच झडप भइरहेको जानकारी दिइएको छ ।

गुगल रिवर्स इमेज सर्चको नतिजाबाट हामीले उक्त तस्बिर श्रीलंकाको राजधानीस्थित राष्ट्रपति कार्यालय बाहिर प्रदर्शनकारी र सरकार समर्थकबीच झडप हुँदा उक्त तस्बिर खिचिएको तथ्य पत्ता लगायौँ । त्यसपछि हामी उक्त तस्बिरबारे अझैँ बढी जानकारी पत्ता लगाउनतिर लाग्यौँ । 

Gulftoday कै तस्बिर क्याप्सनलाई आधार बनाएर हामीले अंग्रेजी भाषामा ‘श्रीलंका राष्ट्रपति कार्यालय अगाडि झडप’ लागायतका वाक्यांश सर्च गर्‍यौँ । जसको परिणामरुप सोही तस्बिर प्रयोग गरिएका केही समाचार भेटिए । ती समाचारमध्ये एउटा समाचार ११ मे २०२२ मा फिलिपिन्सको धार्मिक अनलाइन philippines.licas.news ले प्रकाशित गरेको पाइयो । प्रस्तुत समाचारमा श्रीलंकाका धार्मिक नेताहरूले प्रदर्शनकारीमाथि आक्रमण गर्ने सरकारी समर्थकहरूको क्रियाकलापप्रति निन्दा व्यक्त गरेको उल्लेख गरिएको छ ।  

प्रस्तुत समाचारमा प्रयोग गरिएको माथि उल्लेखित तस्बिरको क्याप्सनसमेत लेखिएको छ । उक्त क्याप्सनमा अंग्रेजी भाषामा लेखिएको छ,’एक सरकारी समर्थकले ९ मे २०२२ मा कोलम्बोको राष्ट्रपति कार्यालय बाहिर प्रदर्शनमा सामेल भएका पादरी (फादर) लाई हिर्काउने प्रयास गरे (एएफपी फोटो) ।’ 

क्याप्सन

दोस्रो तहको जाँचमा हामीले उक्त तस्बिरबारे अझैँ बढी जानकारी पायौँ । उक्त क्याप्सनले के प्रष्ट पार्छ भने चर्चका पादरी राष्ट्रपतिको विरोध गर्दै प्रदर्शनमा उत्रिएका थिए र तिनै प्रदर्शनकारी पादरीलाई सरकारी समर्थकले आक्रमण गरेका थिए । 

त्यसैगरी अर्को चर्चित धार्मिक संचार माध्यम ucanews ले पनि माथिकै विवरणसहित समाचार तयार गरेको देखिन्छ । उक्त समाचारको क्याप्सनमा पनि राष्ट्रपतिको विरोधमा उत्रिएका पादरीमाथि सरकारी समर्थकले आक्रमण गरिरहेको व्यहोरा उल्लेख गरिएको छ ।  

एउटै प्रकारको समाचारबाट हामीले पाएको जानकारी प्रमाणिकरणका लागि प्रयाप्त हुँदैन । त्यसैले हामी अन्य स्रोतको खोजी गर्नतिर लाग्यौँ । यसअघि हामीले स्रोतका रुपमा धार्मिक समाचार र उक्त समाचारमा प्रयोग गरिएको तस्बिर प्रयोग गरिसक्यौँ । अब हामीलाई भिडियो स्रोतको खोजी गर्नतिर लाग्यौँ तर तस्बिरसँग मिल्दोजुल्दो भिडियो फेला पार्न मुस्किल भयो । 

अन्तत: समाचारकै कही वाक्यांशलाई युट्युबमा खोजी गर्दा हामीले तस्बिरसँग मिल्दोजुल्दो केही भिडियोहरू फेला पर्‍यौँ । जसमध्येको एउटा भिडियो चर्चित चिनियाँ संचार माध्यम South China Morning Post  मा फेला पर्‍याे । १० मे २०२२ मा पोस्ट गरिएको उक्त भिडियो सामग्रीमा माथि उल्लेखित तस्बिरमै देखिएको घटनाको दृश्यसमेत देखिएको छ । उक्त भिडियोमा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सरकार समर्थकहरू फलामका रड बोकेर सरकार विरोधी प्रदर्शनकारीहरूमाथि जाइलागेका थिए । 

माथि उल्लेखित दुईवटै स्रोतले सरकार समर्थकले नै तस्बिरमा देखिएका व्यक्ति (पादरी)माथि आक्रमणको जानकारी दिएका छन् । श्रीलंकाको पछिल्लो तनाव एकदमै जटिल भएका कारण हामी यी स्रोतहरूबाट मात्रै निष्कर्षमा पुग्न सकेनौँ । घटनाको वास्तविकतालाई हदैसम्म पुष्टि गर्न हामीलाई अन्य स्रोतको समेत जाँच गर्नुपर्ने देखियो । 

माथिका क्याप्सनकै आधारमा वाक्यांश सर्च गर्ने क्रममा हामीले @mdlucias नामक ट्विटर ह्वान्डिल फेला पार्‍यौँ । जसमा माथि उल्लेखित दाबीसहितको तस्बिरसँगै क्याप्सनसमेत लेखिएको छ । उक्त ह्वान्डिलमा राखिएको विवरण अनुसार यो आइडी प्रयोगकर्ता श्रीलंकाको चर्चित दैनिक पत्रिका virakesari को डिजिटल विभागका सहायक समाचार सम्पादक हुन् । 

माथि उल्लेखित तस्बिर उनले राख्दै लेखेका छन्- ‘सेन्ट थोमस प्रेपका आदरणीय पादरीलाई आज एसएलपीपी समर्थकहरूले आक्रमण गरे। उनको अहिले अस्पतालमा उपचार भइरहेको छ ।’ 

प्रस्तुत ट्विटमा प्रयोग गरिएको एसएलपीपी भनेको श्रंलकाको तत्कालीन सत्तारुढ पार्टी हो । जसको प्रतिनिधित्व गर्दै महिन्दा राजापाक्षे प्रधानमन्त्री भएका थिए र घटनाअघि उनले राजिनामासमेत दिइसकेका थिए । 

अन्य स्रोतको खोजीकै क्रममा श्रीलंकाकै चर्चित संचार माध्यम colombogazette ले पनि सोही तस्बिर राख्दै समाचार तयार पारेको छ । १० मे २०२२ मा प्रकाशित उक्त समाचारमा एसएलपीपी (सरकार समर्थक) समर्थकहरूले क्रिस्चियन पादरीहरूलाईसमेत आक्रमण गरेको उल्लेख छ । समाचारमा क्रिश्चियन पादरीहरू रेभेरेन्ड फादर एन्ड्रयु देवदासन र फादर निरोशनलाई टेम्पल ट्रीज नजिकै सरकार समर्थकले कुटपिट गरिएको जानकारी दिइएको छ । 

माथि उल्लेखित तथ्यबाट के प्रष्ट हुन्छ भने तस्बिरमा देखिएको घटना हालसालैको होइन । यो घटना एक महिनाअघि को हो ।

निष्कर्ष

दाबीसहितको सामग्रीमा लेखिएजस्ताे उक्त तस्बिरमा कुटिएका व्यक्ति श्रंलकाका सांसद होइनन् । उनी आर्थिक संकटपछि सरकार विरोधी आन्दोलनमा उत्रिएका एक पादरी हुन् । राष्ट्रपति कार्यालय अगाडि भएको सरकार विरोधी प्रदर्शनमा उनी सहभागि हुँदा ती पादरीमाथि सरकार समर्थकले हमला गरेका थिए ।   

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

South China Morning Post 

Gulftoday

Colombogazette

Philippines.licas.news

Ucanews

Virakesari

Firstpost


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage