Fact Check
Fact Check: मिलन लिम्बु बोलिरहेको दृश्यमा जोडियो सुहाङ नेम्वाङको नाम

दाबी: सुहाङ नेम्वाङले रवि लामिछानेको रिहाइको माग गर्दै ‘भ्रष्टचारीको सरकार’ भन्ने अभिव्यक्ति दिएको दाबी, भिडियोसहित ।
तथ्य: रास्वपाका मिलन लिम्बुसँग सम्बन्धित दृश्यमा सुहाङ नेम्वाङको नाम जोडेर सामाजिक संजालमा फैलाइएको छ ।
प्रतिनिधि सभाका सदस्य सुहाङ नेम्वाङको नाम जोडेर एउटा भिडियो सामाजिक संजालमा फैलाइएको छ । उक्त भिडियोमा सुहाङ नेम्वाङले रवि लामिछानेको रिहाइको माग गर्दै ‘भ्रष्टचारीको सरकार’ भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ ।
निर्देश ओली मन को राजा नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा केही व्यक्तिहरुले अभिव्यक्ति दिइरहेको तस्बिर जोडिएको छ । सोही भिडियोको थमनेलमा लेखिएको छ- ‘पूर्वसभामुख सुभाष नेम्वाङका छोरा के भन्दैछन् ? सुहाङ नेम्वाङले रवि लामिछानेको रिहाको माग गर्दै, भ्रष्टचारीको सरकार के बलियो सरकार भनेर अभिव्यक्ति दिएका छन् ।’
१५ नोभेम्बर २०२४ मा पोस्ट गरिएको भिडियोमा १५ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै PUBlIC FIGURE नामक टिकटक आइडीमा पनि सोही दाबीसहितको सामग्री पोस्ट गरिएको छ ।

दाबीसहितको सामग्रीमा २६ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै १२ सयभन्दा बढी प्रतिक्रिया आएको दाबीसहितको सामग्री १३ सयभन्दा बढी पटक सेयर भइसकेको छ ।
के भिडियोमा देखिएका र अभिव्यक्ति दिइरहेका व्यक्ति पूर्वसभामुख सुभाष नेम्वाङका छोरा प्रतिनिधि सभाका सदस्य सुहाङ नेम्वाङ हुन् त? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
दाबीसहितको सामग्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सदस्य एवं संचारकर्मी मिलन जस्तै देखिने व्यक्ति बोलिरहेका छन् । यही आधारमा जाँच गर्ने क्रममा हामीले ‘मिलन लिम्बु’ ‘Milan Limbu’ ‘रवि लामिछाने प्रदर्शन’ लगायतका वक्यांशलाई सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप HimalPress TV मा पोस्ट गरिएको भिडियो फेला पर्यो । १९ अक्टोबर २०२४ मा पोस्ट गरिएको भिडियोमा सरकारविरुद्ध मिलन लिम्बुले अभिव्यक्ति दिइरहेका छन् । भिडियोको शिर्षक तथा क्याप्सनमा लेखिएको छ- ‘रवि लामिछानेकाे विषयमा के भन्छन् मिलन लिम्बु ?’

यही भिडियो Patrika Nepal मा पनि पोस्ट गरिएको छ ।
फेला गरेको भिडियो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ प्रकरणसँग सम्बन्धित छ । पछिल्लो समय लामिछाने नेपाल प्रहरीको हिरासतमा छन्, उनलाई २ कात्तिक २०८१ मा प्रहरीले पक्राउ गरेको थियो । सहकारीमा जम्मा भएको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मार्फत् अपचलन गरेको आरोपमा नेपाल प्रहरीले रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।
यही सन्दर्भमा पोस्ट गरिएको भिडियो रास्वपाका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै गरिएको प्रदर्शनसँग सम्बन्धित छ । लामिछानेको रिहाईको माग गर्दै रास्वपाले नियमित रुपमा सडक प्रदर्शन गरिएको छ । ती प्रदर्शनहरुमा मिलन लिम्बु पनि सहभागि भइरहेका छन् ।
दाबीसहितको सामग्रीमा मिलन लिम्बुले जस्तो पोशाक लगाएका छन्, सोही पोशाकसहितको भिडियो News In Nepal युट्युब च्यानलमा पनि पोस्ट गरिएको पाइयो । १९ अक्टोबर २०२४ मा पोस्ट गरिएको भिडियोको दृश्य दाबीसहितको दृश्यभन्दा अलि फरक भने छ । तर, यो भिडियो पोस्ट भएको मिति र फेला परेको अर्को भिडियो पोस्ट गरिएको मिति एउटै छ ।
अर्कोतर्फ मिलन लिम्बु बोलिरहेको दृश्यमा भ्रामक तरिकाले पूर्वसभामुख सुभाष नेम्वाङका छोरा प्रतिनिधि सभाका सदस्य सुहाङ नेम्वाङको नाम जोडिएको पाइयो ।
२०८१ वैशाखमा सम्पन्न इलाम-२ को उपनिर्वाचनमा नेकपा (एमाले)का सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । यही निर्वाचनमा मिलन लिम्बुले रास्वपाबाट उम्मेदवारी दिएका थिए । तर, निर्वाचनमा उनले चौँथो स्थान प्राप्त गरेका थिए ।

फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने एक व्यक्तिको भिडियोमा अर्को व्यक्तिको नाम जोडेर सामाजिक संजालमा फैलाइएको छ । तर, दुबै व्यक्ति राजनीतिक रुपमा दुई फरक-फरक पार्टीमा आवद्ध छन् । साथै दुबैले एउटै निर्वाचन क्षेत्रमा प्रतिद्वन्दीका रुपमा उम्मेदवारी दिएका थिए ।

निष्कर्ष
पूर्वसभामुख सुभाष नेम्वाङका छोरा प्रतिनिधि सभाका सदस्य सुहाङ नेम्वाङ भन्दै पोस्ट गरिएको भिडियो भ्रामक छ । रास्वपाका मिलन लिम्बुसँग सम्बन्धित दृश्यमा सुहाङ नेम्वाङको नाम जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
भिडियो, HimalPress TV
भिडियो, Patrika Nepal
समाचार, himalkhabar.com
भिडियो, News In Nepal
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।

