सामाजिक संजाल लगायतका संचारजन्य माध्यमहरूमा एउटा सामग्री फैलिरहेको देखिन्छ । उक्त सामग्रीमा एउटा तस्बिरसहित विमान दुर्घटना भएको जानकारी राखिएको छ । विमान दुर्घटनापछि ११७ जनाको मृत्यु भएको जानकारीसमेत उक्त सामग्रीमा उल्लेख गरिएको छ ।
Mother’s Love नामक फेसबुक पेजमा ३ दिनअघि अर्थात् डिसेम्बर ४ मा एउटा वेबसाइटको लिंक सेयर गरिएको छ । उक्त लिंकमा राखिएको सामग्रीमा सुर्खेतबाट काठमाडौँतर्फ उडेको विमान दुर्घटना हुँदा ११७ जनाको मृत्यु भएको दाबी गरिएको छ ।
प्रस्तुत दाबीसहितको पोस्टमा १३ हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । त्यस्तै ५६ फेसबुक प्रयोगकर्ताले सेयर गरिसकेको उक्त दाबीसहितको पोस्टमा साढे ३ हजारभन्दा बढीले प्रतिक्रिया जनाइसकेका छन् ।

सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको प्रस्तुत दाबीसहितको शीर्षकको एउटा अंशलाई हामीले फेसबुकमा सर्च गर्दा अन्य पोस्टहरूसमेत भेटिएका छन् ।

यतिमात्र होइन, सोही दाबीसहितको शीर्षक ‘सुर्खेतबाट काठमाडौँतर्फ उडेको विमान दुर्घटना हुँदा ११७ जनाको मृत्यु’ लाई गुगलमा सर्च गर्दा ९ सय ५७ वटा लिंक भेटिएका छन् । ती लिंकहरूको शीर्षकमै ‘सुर्खेतबाट काठमाडौँतर्फ उडेको विमान दुर्घटना हुँदा ११७ जनाको मृत्यु’ भएको दाबी गरिएको छ ।

यसबाट के प्रष्ट हुन्छ भने सुर्खेतबाट काठमाडौँतर्फ उडेको विमान दुर्घटना भएको र उक्त दुर्घटनामा भरी ११७ जनाको मृत्यु भएको भन्ने दाबी इन्टरनेटमा फैलिसकेको छ । विमान दुर्घटना र मानिसहरूको ज्यान गएको जानकारी अत्यन्तै संवेदनशील भएका कारण हामीले प्रस्तुत दाबीमाथि तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
दाबीसहितका सामग्रीहरूमा मुख्यत: दुईवटा दाबी रहेका छन् । जसमध्ये पहिलो सुर्खेतबाट काठमाडौँतर्फ उडेको विमान दुर्घटना भएको र दोस्रो उक्त विमान दुर्घटनामा परी ११७ जनाको मृत्यु भएको दाबी गरिएको छ । प्रस्तुत दाबीसँगै एउटा तस्बिरसमेत प्रयोग गरिएको देखिन्छ । हामीले सबैभन्दा पहिले उक्त तस्बिरको वास्तविकता जाँच गर्यौँ ।
हामीले दाबीसहितको सामग्रीमा प्रयोग गरिएको तस्बिरलाईको वास्तविकता पत्ता लगाउन गुगल रिवर्स इमेज टूलको सहायता लियौँ । रिवर्स इमेज सर्च गरेसँगै हामीले प्रसस्तै परिणाम फेला पार्यौँ । जसमध्येबाट nbcnews लाई हामीले हाम्रो स्रोतको रुपमा प्रयोग गर्यौँ ।
सुर्खेतबाट काठमाडौँतर्फ उडेको विमान दुर्घटना भन्दै फैलाइएको तस्बिर अहिले नभई २०१८ सालमा खिचिएको पाइयो । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस-बाङ्ला एयरसाइन्स दुर्घटना हुँदा प्रकाश माथेमाले खिचेका थिए ।

२०१८ मार्च १२ मा ढाकाबाट काठमाडौँ आएको युएस-बाङ्ला एयरसाइन्सको फ्लाइट २११ नम्बरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । उक्त विमान दुर्घटना हुँदा ७१ जना यात्रुहरु मध्य विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको ज्यान गएको थियो भने २० जना घाइते भएका थिए । सोही दुर्घटनाको तस्बिर गलत समाचारमा प्रयोग गरिएको देखिन्छ । उक्त दुर्घटनापछि उद्दारकै क्रममा अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका लागि माथेमाले उक्त तस्बिर खिचेका थिए ।
अर्कोतर्फ सुर्खेतबाट काठमाडौँतर्फ उडेको विमान दुर्घटना भन्ने दाबीको जाँच गर्ने क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोग लियौँ । यस विषयमा प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलासँग सोधपुछ गर्दा उनले दाबीमा भनिएजस्तो अहिले विमान दुर्घटना नभएको जानकारी दिए ।
त्यस्तै वेबसाइटहरूमा समाचार जसरी नै राखिएका उक्त सूचना पनि भ्रामक रहेछ । अनेक खालका फरक सन्दर्भका सामग्री जोडेर शीर्षकमा मात्रै सुर्खेतबाट काठमाडौँतर्फ उडेको विमान दुर्घटना भएको र दुर्घटनामा ११७ जनाको मृत्यु भएको दाबी गरिएको देखिन्छ ।
निष्कर्ष
सुर्खेतबाट काठमाडौँतर्फ उडेको विमान हालसालै ठूलो खालको दुर्घटनामा परेको छैन । दुर्घटना नै नभएपछि ११७ जनाको मृत्यु भएको दाबी स्वत: गलत छ । विभिन्न बेवसाइटहरूमा भ्रामक शीर्षक राखिएको र सो शीर्षकसहितको लिंकलाई सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
नतिजा : गलत
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co