Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: स्वर्णिम वाग्लेले ज्ञानेन्द्र शाहीलाई लक्षित गरेर उक्त प्रसंशा गरेको र उनले ज्ञानेन्द्र शाहीको पार्टी नै चिन्न नसकेको ।
तथ्य: स्वर्णिम वाग्लेले ज्ञानेन्द्र शाहीका विषयमा बोलेको तथ्य प्रमाणहरूले पुष्टि गर्दैनन् । जुम्लाका वर्तमान सांसद ज्ञानेन्द्र शाही निर्वाचित हुनुअघि कै भिडियोलाई वर्तमान सन्दर्भसँग जोडिएको छ ।
सामाजिक संजाल फेसबुकमा एउटा भिडियोसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं अर्थविद् स्वर्णिम वाग्लेको भनाईसहितको भिडियो देख्न सकिन्छ । यही बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका स्वर्णिम वाग्लेले भिडियोमा जुम्लाका एक सांसदको प्रशंसा गरिरहेको छन् ।
भिडियोमा स्वर्णिम वाग्लेले भनेका छन्-
‘जुम्लाको सांसद यस्तो Effectively बोलिरहेको देख्थे, सायद कांग्रेसका होइनन्, उनी एमाले पार्टीका हुन् कि माओवादी, हैन ? I wished Admire That, सबै कुरामा उनी सही नहोला तर जुम्लाको त्यो आफ्नो Consiquentency को पीडा Parliament मा चाहीँ टेबल बजारेर, त्यो भन्न सक्नु भयो भने चाहिँ That’s Doing is Justice, त्यो आवाज आयो मिडियाले नि कभर गर्छ, त्यसैले सबै सांसद सुकिलामुकिला हुने त्यो होइन ।’
स्वर्णिम वाग्लेले प्रशंसा गरेका ती जुम्लाका सांसद ज्ञानेन्द्र शाही नै रहेको दाबी सामाजिक संजालमा फैलाइएको छ । यतिमात्र नभएर केही पोष्टहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीलाई माओवादीबाट प्रतिनिधित्व गर्ने सांसद भनेको भन्दै आपत्तिसमेत जनाइएको छ ।
राप्रपा, नयाँ पुस्ता नामक फेसबुक पेजमा पनि स्वर्णिम वाग्लेको सोही भिडियो पोस्ट गरिएको छ र उक्त भिडियोमा एउटा क्याप्सनसमेत लेखिएको छ । उक्त क्याप्सनमा स्वर्णिम वाग्लेले ज्ञानेन्द्र शाहीलाई लक्षित गरेर उक्त प्रसंशा गरेको र उनले ज्ञानेन्द्र शाहीको पार्टी नै चिन्न नसकेको दाबी गरिएको छ । क्याप्सनमा लेखिएको छ- ‘स्वर्णिम वाग्लेले चिनेको ज्ञानेन्द्र शाही, सांसद ज्ञानेन्द्र शाही माओवादी पार्टीको भन्ने स्वर्णिम वाग्लेले राख्ने राजनितिक जानकारी यही हो ?’
प्रस्तुत सामग्रीमा अर्थविद् स्वर्णिम वाग्लेको राजनीतिक जानकारीमा पनि प्रश्न गरिएको छ । उपनिर्वाचनमा उम्मेदवारसमेत बनेका स्वर्णिम वाग्लेसँग सम्बन्धित यो सामग्री अत्यन्तै संवेदनशील रहेका कारण हामी तथ्यजाँच गरेका छौँ ।
माथि उल्लेखित सामग्रीमा स्वर्णिम वाग्लेले ज्ञानेन्द्र शाहीलाई लक्षित गरेर जुम्लाका सांसद भन्दै प्रसंशा गरेको र उनको राजनीतिक राजनकारीमा पनि प्रश्न गरिएको छ । के स्वर्णिम वाग्लेले ज्ञानेन्द्र शाहीलाई नै माओवादीका सांसद भनेका हुन् ? भन्ने प्रश्नमा केन्द्रीत रहेर यो तथ्यजाँच सुरु गरेका छौँ ।
सबैभन्दा पहिले हामीले माथि उल्लेखित स्वर्णिम वाग्लेको भाषण अंशको मूल भिडियो खोज्नतिर लाग्यौँ । यसका लागि सबैभन्दा हामीले किवर्ड तयार पार्यौँ । जसमध्ये ‘स्वर्णिम वाग्ले Speech’ वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप Sachin Timalsena नामक युट्युब आइडीमा पोस्ट भएको एउटा भिडियो फेला पर्यो ।
पाँच महिनाअघि अर्थात् २ नोभेम्बर २०२२ मा पोस्ट गरिएको उक्त भिडियोमा स्वर्णिम वाग्लेले एउटा अन्तर्क्रिया कार्यक्रममा आफ्नो प्रस्तुती दिइरहेका छन् । प्रस्तुत भिडियोबाटै एउटा अंश काटेर माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको पाइयो । भिडियोलाई सरसर्ती हेर्दा ४५:२४ मिनेटदेखि ४५:५४ मिनेटसम्मको अंशलाई दाबीसहितको सामग्रीमा पोष्ट गरिएको छ ।
मूल भिडियोमा पनि स्वर्णिम वाग्ले प्रष्टसँग किटान गरेर सांसदको नाम उल्लेख गरेका छैनन् । तर, भिडियो पोष्ट गरिएको मितिले केही संकेत भने गरेका छन् । सोही संकेतका आधारमा हामीले यस तथ्यजाँचलाई पूर्णरुपमा निचोडमा पुर्याएका छौँ ।
यसका लागि सबैभन्दा पहिले स्वर्णिम वाग्लेले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको मितिबारे जाँच गर्यौँ । युट्युबमा भिडियोसँगै पोष्ट भएको विवरणकै आधारमा हामीले फेसबुकमा ‘Townhall with Dr. Swarnim Wagle’ वाक्यांश सर्च गर्यौँ । फलस्वरुप उक्त कार्यक्रममा पोस्टर भेटियो र यसबाट प्रस्तुत कार्यक्रम २२ अक्टोबर २०२२ मा काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुड ल्यान्डमा भएको तथ्य फेला पर्यो ।
माथिको उल्लेखित दाबीसहितको सामग्रीमा स्वर्णिम वाग्लेले जुम्लाका सांसद ज्ञानेन्द्र शाहीकै बारेमा अभिव्यक्ति दिएको बताइएको छ । यही दाबीमा केन्द्रीत रहेर हामीले ज्ञानेन्द्र शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको मिति जाँच गर्यौँ ।
नेपालमा प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचन २०७९ मंसिर ४ गते अर्थात् २० नोभेम्बर २०२२ मा एकैपटक सम्पन्न भएको थियो । जुम्लाका सांसद ज्ञानेन्द्र शाही पनि सोही समयमा निर्वाचित भएका थिए । तर, स्वर्णिम वाग्लेले प्रस्तुती दिएको अन्तर्क्रिया कार्यक्रम भने एक महिनाअघि अर्थात् २२ अक्टोबर २०२२ मै सम्पन्न भइसकेको थियो ।
फेला परेको प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने ज्ञानेन्द्र शाही निर्वाचित हुनुअघि नै स्वर्णिम वाग्लेले जुम्लाका सांसदको बारेमा प्रशंसासहितको अभिव्यक्ति दिइसकेका थिए । अब प्रश्न रह्यो, स्वर्णिम वाग्ले जुम्लाबाट प्रतिनिधित्व गर्ने कुन चाहिँ सांसदको प्रशंसा गरेका थिए त ?
माथि उल्लेखित भिडियोमै स्वर्णिम वाग्लेले जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद भन्दै माओवादीतर्फ संकेत गरिसकेका छन् । यही संकेतलाई आधार बनाएर हामीले तत्कालीन समयमा जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदबारे जानकारी खोज्न थाल्यौँ ।
यसका लागि हामीले प्रतिनिधि सभाका सांसदहरूको पूरानो सूचीमा जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूको सूची निकाल्यौँ । उक्त सूचीमा देखिए- गजेन्द्र बहादुर महत । तत्कालीन सांसद महतको बारेमा थप जानकारी पाउँन हामीले गुगलमा केही किवर्ड सर्चसमेत गर्यौँ । जसको नतिजास्वरुप ‘जब सांसद रोष्ट्रममा ताला र चाबी लिएर पुगे…’ शीर्षकको समाचारसमेत फेला पर्यो ।
प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि छलफल चलिरहेका बेला सदनको रोष्ट्रममा जुम्लाबाट निर्वाचित सांसद गजेन्द्र बहादुर महत ताला र चाबी लिएर पुगेको जानकारी उक्त समाचारले दिएको छ । बोल्नका लागि कम समय दिएका कारण उनले यस्तो कदम उठाएको समाचारमा उल्लेख छ ।
उनीबारे थप जानकारी पाउँन हामीले थप किवर्ड युट्युबमा पनि सर्च गर्यौँ । सर्चको नतिजास्वरुप स्वर्णिम वाग्लेले भनेजसरी नै तत्कालीन सांसद गजेन्द्र बहादुर महत सदनमा प्रस्तुत भइरहेका थुप्रै भिडियोहरू फेला परे । जसमध्येको एउटा भिडियो यस्तो छ :
उल्लेखित तथ्यका आधारमा स्वर्णिम वाग्लेले संकेत गरेका जुम्लाका सांसद गजेन्द्र बहादुर महत नै रहेको निष्कर्ष हामीले निकार्यौँ । जुम्लाका वर्तमान सांसद ज्ञानेन्द्र शाही निर्वाचित हुनुअघि कै भिडियोलाई वर्तमान सन्दर्भसँग जोडिएको छ । तर, स्वर्णिम वाग्लेले ज्ञानेन्द्र शाहीको भूमिकाको विषयमा नभई गजेन्द्र बहादुर महतका बारेमा बोलेका थिए ।
स्वर्णिम वाग्लेले ज्ञानेन्द्र शाहीका विषयमा बोलेको तथ्य प्रमाणहरूले पुष्टि गर्दैनन् । जुम्लाका तत्कालीन सांसद गजेन्द्र बहादुर महतका बारेमा बोलेको अभिव्यक्तिलाई ज्ञानेन्द्र शाहीसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो । फरक व्यक्तिका बारेमा बोलिएको अभिव्यक्तिलाई फरक व्यक्तिसँग जोड्नुले दाबीसहितको सामग्रीलाई भ्रामक बनाएको छ ।
House of Representatives Nepal प्रतिनिधि सभा
Onlinekhabar
Parliament Nepal
Townhall with Dr. Swarnim Wagle
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
June 10, 2025
Aakash Chhetri
June 3, 2025
Aakash Chhetri
May 22, 2025