Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
News
पछिल्लो साता नेपाल-भारतसँग सम्बन्धित केही सामग्रीहरू सामाजिक संजालमा फैलिरहेकाे देखियो । भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा हामीले तीनवटा भिडियो भेट्टाएका छौँ, ती छुट्टाछुट्टै भिडियोमा फरक-फरक दाबी गरिएको छ । यी सबै दाबी नेपाल-भारत सम्बन्धसँग सम्बन्धित छन् ।
पहिलो दाबी : #Maheshyadav नामक टिकटक आइडीमा शुक्रबार पोस्ट भएको भिडियोमा एउटा सडक प्रदर्शनको भिडियो देखिन्छ । उक्त भिडियोमा राखिएको थमनेल र अडियोमार्फत् ‘नेपालले भारतलाई शत्रुराष्ट्र घोषणा गरेको’ दाबी गरिएको छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ,‘नेपालले गर्यो भारतलाई शत्रुराष्ट्र घोषणा, मोदीको हातमा पुग्यो नेपालको डरलाग्दो पत्र ।’
थमनेलसँगै भिडियोको बजिरहेको अडियोमा पनि उस्तै दाबी सुनिन्छ । जहाँ समाचारको भाषामा भनिएको छ,‘पहिलोपटक नेपालले गर्यो भारतलाई शत्रुराष्ट्र घोषणा, मोदीको हातमा पुग्यो नेपालको डरलाग्दो पत्र ।’
फैलावटको कुरा गर्ने हो भने पोस्ट गरिएको ४ दिनमै यो भिडियोमा ५ हजार १ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने करिब डेढ सयले भिडियोमा कमेन्ट गरेका छन् । त्यस्तै भिडियो सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या ८० भन्दा बढी देखिन्छ ।
यतिमात्र होइन, यो अडियोबाट अरु भिडियोहरूसमेत निर्माण गरिएको छ । हेर्नुहोस् भिडियोहरूको स्क्रिनसट :
दोस्रो दाबी : #deepshrestha नामक टिकटक आइडीमा शनिबार पोस्ट भएको भिडियोमा नेपाल-भारत सीमा क्षेत्र लगायतका दृश्य देखाइएको छ । उक्त भिडियोमा राखिएको अडियोमार्फत् ‘नेपाल-भारत टकराव’का कारण दुई देशबीचको ‘आवत-जावत रोक’ लगाइएको दाबी गरिएको छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ,‘इन्डियालाई नेपालको च्यालेन्ज, बल्ल खाने भो धोतीहरूले ।’
एउटा भिडियोमा थुप्रै विषयहरू जोडिएको छ । थमनेलमा नेपाल-भारतसँग दाबी गरिएका कारण यहाँ सोही विषयसँग सम्बन्धित दाबी मात्र उल्लेख गरिन्छ । भिडियोमा बजाइएको अडियोमा समाचारको भाषामा भनिएको छ,‘ आजै रातिबाट भारत आवत-जावत गर्न रोक, नेपालीलाई धम्की दिँदै मोदीले भन्यो भारतलाई हल्लाउने कुनै शक्ति छैन, नेपालले नै सुरु गर्यो भारतसँग टक्कर लिने रणनीति, नेपालसँग भारतले टक्कर लिनेर् दुस्साहस गरेपछि आजै रातिदेखि भारतबाट नेपाल आवत-जावतमा रोक ।’
पोस्ट गरिएको ३ दिनमै यो भिडियोमा साढे ८४ हजारभन्दा बढी बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने ६ सय २५ जनाले भिडियोमा कमेन्ट गरेका छन् । त्यस्तै भिडियोलाई सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या साढे १६ सय देखिन्छ ।
यतिमात्र होइन, यो अडियोबाट अरु भिडियोहरूसमेत निर्माण गरिएको छ । हेर्नुहोस् भिडियोहरूको स्क्रिनसट :
तेस्रो दाबी : #Maheshyadav नामक टिकटक आइडीमा शनिबार पोस्ट भएको भिडियोमा नेपाल र भारतको नक्सासँगै भातीय गृहमन्त्री अमित साहको तस्बिर राखिएको छ । उक्त भिडियोमा राखिएको थमनेल र अडियोमार्फत् भातीय गृहमन्त्री अमित साहले नेपाल अखण्ड भारतको हो भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ,‘पुरै नेपाल अखण्ड भारतको भएको भारतीय गृहमन्त्रीको दाबी ।’
थमनेलसँगै भिडियोको बजिरहेको अडियोमा पनि उस्तै दाबी सुनिन्छ । जहाँ समाचारको भाषामा भनिएको छ,‘कालापानी मात्र नभई पुरै नेपाल अखण्ड भारतको भएको भारतीय गृहमन्त्रीको दाबी, नेपालभर मच्चियो हलचल ।’
पोस्ट गरिएको ३ दिनमै यो भिडियोमा साढे ५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने करिब साढे २ सयले भिडियोमा कमेन्ट गरेका छन् । त्यस्तै भिडियो सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या १ सयभन्दा बढी देखिन्छ ।
यतिमात्र होइन, यो अडियोबाट अरु भिडियोहरूसमेत निर्माण गरिएको छ । हेर्नुहोस् भिडियोहरूको स्क्रिनसट :
माथिका तीनवटै दाबी नेपाल-भारत सम्बन्धसँग जोडिएका छन् । दुई देशबीचको सम्बन्धमा गम्भीर दाबी गरिएका कारण हामी यस विषयमा तथ्य जाँच गर्न तयार भयौँ । सबैभन्दा पहिले हामीले सामाजिक संजालमा फैलिएका भिडियोहरूको मूल स्रोत पत्ता लगाउने काम गर्यौँ । जसको परिणमास्वरुप ती भिडियोको मूल स्रोत भेटियो । दुई युट्युब च्यालनले तयारी पारेका छुट्टाछुट्टै भिडियोको अंशमा थमनेल राखेर टिकटकमा पोस्ट गरिएको पाइयो ।
पहिलो भिडियोमाको मूल स्रोत Greater Nepal TV नामक युट्युब च्यानल हो । यो च्यानलले जनवरी २२ मा ‘नेपालले पठाएको पत्र मोदिको हातमा पुग्यो लिपुलेकमा चिनको आक्रमण’ शीर्षक राखेर उक्त भिडियो पोस्ट गरेको थियो । यही भिडियोको एउटा अंश काटेर टिकटकमा पोस्ट गरिएको हो । उक्त भिडियोमा ‘नेपालले भारतलाई शत्रुराष्ट्र घोषणा गरेको’ दाबी गरिएको छ ।
तर, मूल भिडियोमा यो दाबीको सत्यता पुष्टि गरिएको छैन । उन्नत लोकतन्त्र पार्टी नामक पार्टीका तर्फबाट कुनै एक व्यक्तिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको पत्रको सन्दर्भ मूल भिडियो जोडिएको छ । भ्रामक तरिकाले तयार पारिएको सामग्री नै ‘नेपालले भारतलाई शत्रुराष्ट्र घोषणा गरेको’ दाबी सामाजिक संजालमा फैलाइएको पाइयो ।
हेर्नुहोस्, भ्रामक हेडलाइन र थमनेल राखेर युट्युबमा पोस्ट गरिएको मूल भिडियो :
त्यस्तै दोस्रो भिडियोको मूल स्रोत Your nepali नामक युट्युब च्यानल हो । यो च्यानलले जनवरी २४ मा ‘Nepal Bharat सिमा नाका नेपालीले गरे बन्द आत्तियो भारत पर्यो महंगो हेर्नुस्’ शीर्षक राखेर उक्त भिडियो पोस्ट गरेको थियो । यही भिडियोको एउटा अंश काटेर टिकटकमा पोस्ट गरिएको हो । उक्त भिडियोमा ‘नेपाल-भारत टकराव’का कारण दुई देशबीचको ‘आवतजावत रोक’ लगाइएको दाबी गरिएको छ ।
तर, मूल भिडियोमा यो दाबीको सत्यता पुष्टि गरिएको छैन । मूल भिडियोमा भ्रामक तरिकाले भारतिय प्रधानमन्त्री नरेन्द्र मवदीले नेपाल लक्षित गरेर भारतलाई हल्लाउने कुनै शक्ति छैन भनेको र त्यसपछि नेपाल सरकारले भारतबाट आवत-जावत गर्न प्रवेश निषेद गरिदिएको दाबी गरिएको छ । मोदीले भारतीय स्वतन्त्रता दिवशमा गरेको सम्बोधनलाई काँटछाँट गरेर अपुष्ट दाबी भिडियोमा राखिएको छ ।
हेर्नुहोस्, भ्रामक हेडलाइन र थमनेल राखेर युट्युबमा पोस्ट गरिएको मूल भिडियो :
तेस्रो भिडियोको मूल स्रोत Greater Nepal TV नामक युट्युब च्यानल हो । यो च्यानलले जनवरी २७ मा ‘कालापानी मात्रै नभै पुरै नेपालमा भारतिय नेताको दाबी आजका Top 10 News हेर्नुहोस’ शीर्षक राखेर उक्त भिडियो पोस्ट गरेको थियो । यही भिडियोको एउटा अंश काटेर टिकटकमा पोस्ट गरिएको हो । उक्त भिडियोमा भातीय गृहमन्त्री अमित साहले नेपाल अखण्ड भारतको हो भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ ।
तर, मूल भिडियोमा यो दाबीको सत्यता पुष्टि गरिएको छैन । भारतीय जनता पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै साहले यो अभिव्यक्ति दिएको मूल भिडियोमा दाबी गरिएको छ । भारतीय गृहमन्त्री साहले नेपाल पनि अखण्ड भारतको एक अंग भएकाले नेपालले ग्रेटर नेपालको माग छाड्नुपर्ने बताएकोसमेत भिडियोमा दाबी गरिएको छ तर नेपाल सरकारले आधिकारिक रुपमा ग्रेटर नेपालको माग गरेको छैन । यसबाट के प्रष्ट हुन्छ भने गृहमन्त्री साहको सम्बोधनलाई छाँटकाँट गरेर यहाँ भ्रामक तरिकाले प्रस्तुत गरिएको छ ।
यो मात्र होइन, मूल भिडियो पोस्ट गरिएको युट्युब च्यालनले अरु थुप्रै अपुष्ट दाबीसहितका भिडियोपोस्ट गरेको देखिन्छ । हेर्नुहोस्, भ्रामक हेडलाइन र थमनेल राखेर युट्युबमा पोस्ट गरिएको मूल भिडियो :
सामाजिक संजालमा फैलिएका तीनवटै टिकटक भिडियोका मूल स्रोतले नै भ्रामक र अपुष्ट सामग्री उत्पादन गरेको देखिन्छ । भ्रामक र सनसनीपर्ण शीर्षक राखेर तयार पारिएका यी भिडियोहरू गरिएका दाबी भ्रामक र काँटछाँट गरिएका छन् ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Surendra Phuyal
June 1, 2021
Aakash Chhetri
October 12, 2023
Aakash Chhetri
July 25, 2023