Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.
अघिल्ला वर्षभन्दा यस वर्ष मनसुन छिट्टै सुरु भएको छ । संचार माध्यमका अनुसार प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेश हुँदै नेपालमा मनसुन भित्रिएको हो । मनसुन भित्रिएसँगै नेपालमा बाढी, पहिलो र डुबानको त्रास पुन: बढेको छ । यही क्रममा सामाजिक संजालमा बाढी-पहिरो र डुबालका भिडियोहरू देखिन थालेका छन् ।
मनसुन सुरु भएसँगै भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा त्रासदीयुक्त भिडियो पोस्ट गरिएको छ । उक्त भिडियोमा अचानक बस्तीमा बाढी पसेको देखिन्छ । उक्त बाढीले घर र रुखहरूसमेत बगाएकोसमेत देखिएको छ । Sapkotaasut0sh नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियो सामग्रीमा १३ घर डुबानमा परेको दाबीसमेत गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ– ‘मिति २०७९/२/२७ गते दिउँसो १२ बजे हेर्दाहेर्दै १३ घर डुबानमा ।’
४ दिनअघि पोस्ट गरिएको प्रस्तुत भिडियो सामग्रीमा १४ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । उक्त भिडियोमा ४५ टिकटक प्रयोगकर्ताले कमेन्ट गरेको देखिन्छ । उक्त सामग्रीमा parbatithapa नामक टिकटक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखेकी छन्- ‘यसरी भिडियो पोस्ट गर्दा किवर्डसहित ठाउँको नाम पनि बताउनुन, कति पीडादायी घटना हो । पहिला हाम्रो ठाउँमा पनि यसरी दिउँसो यस्तै भयको थियो ।’
दाबीसहितको भिडियोको फैलावट व्यापक नभएपनि उक्त सामग्रीले केही मानिसहरूलाई पीडा दिएको देखिन्छ । यही कारण सामाजिक संजाल प्रयोगकर्ताले उक्त घटनाको वास्तविकता जान्न चाहेको देखिन्छ । यही कारण न्युजचेकरले प्रस्तुत दाबीसहितको भिडियोमा तथ्यजाँच गर्ने जमर्को गरेको छ ।
त्यस्तै सडकमै पहिरो गएको अर्को भिडियो पनि टिकटकमा पोस्ट गरिएको छ । उक्त भिडियो narayangurung नामक टिकटक आइडीमा ४ दिनअघि नै पोस्ट गरिएको थियो । भिडियोको थमनेलमा लेखिएको छ- ‘हेर्दाहेर्दै पहिरो गयो मुग्लिनमा ।’ प्रस्तुत भिडियोमा करिब ५ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने करिब साढे १ सय प्रयोगकर्ताले भिडियोलाई सेयर गरिसकेका छन् ।
तथ्यजाँच/प्रमाणीकरण
पहिलो भिडियो सामग्रीमा देखिएको दृश्य पाँच दिनअघि घटेको घटना रहेको दाबी गरिएको छ । दाबी अनुसार न्युजचेकर सुरुमा प्रस्तुत दाबीसहितको भिडियोको मूल अंश पत्ता लगाउने जमर्को गर्यो । जस अनुरुप हामीले सामाजिक संजाल लगायतमा मूल भिडियोको खोजी गर्यौँ ।
माथि उल्लेखित दाबीसहितको टिकटक भिडियोमा एउटा अर्को आइडीसमेत देखिएको छ । हामीले भिडियोमा देखिएको premdhami नामक आइडीलाई टिकटकमै सर्च गर्यौँ । आइडीलाई सर्च गर्ने बित्तिकै जसको नतिजास्वरुप सोही भिडियो फेला पर्यो । २०२० मा पोस्ट गरिएको उक्त भिडियोको कमेन्टमा उक्त घटना मुगुको गमगाडको रहेको जानकारी पाइयो । त्यसपछि हामीले फेसबुक र युट्युबमा ‘मुगुु’, ‘गमगाड’, ‘बाढी’ लगायतका वाक्यांश सर्च गर्यौँ । फरस्वरुप केही नतिजा भेटिए ।
न्युजचेकरको जाँचबाट के प्रष्ट भयो भने उक्त भिडियो तीन वर्ष पुरानो हो । सेप्टेम्बर १४, २०१९ मा उक्त भिडियो Parash Mani Malla नामक फेसबुक आइडीमा पोस्ट भएको थियो । उक्त आइडीमा पोस्ट गरिएको प्रस्तुत भिडियो तीन वर्षअघि निकै चर्चित भएको देखिन्छ । भिडियोसँगै उक्त आइडीमा घटनाको विवरणसमेत दिइएको छ ।
उक्त पोस्टमा लेखिएको छ – ‘७० वर्षपछि मुगुकाे गमगाडमा आएकाे कहालीलाग्दाे बाढी खेतीयाेग्य जमिनसहित दुईवटा घरमा पूर्ण क्षति भएतापनि मानवीय क्षति चाहिँ भएन…।’
त्यस्तै यही भिडियो Dinesh Thakulla नामक युट्युब च्यानलमा पनि पोस्ट गरिएको देखिन्छ । २१ अगस्ट २०२० मा पोस्ट गरिएको उक्त भिडियोमा ‘मुगुको गमगाडले यसरी बगायो गाउँबस्ती’ शीर्षक राखिएको छ ।
प्रस्तुत तथ्यबाट के प्रस्ट हुन्छ भने माथि दाबीसहितको सामग्रीमा देखाइएको दृश्य यस वर्षको होइन । यस वर्षको मनसुन सुरु भएसँगै १३ घर डुबान भन्दै सामाजिक संजालमा फैलाइएको उक्त भिडियोले भ्रामक सन्देश दिएको छ ।
त्यस्तै सामाजिक संजालमा ४ दिनअघि पोस्ट गरिएको दोस्रो भिडियो पनि यस वर्षको होइन । उक्त भिडियो Raju Chaudhary नामक युट्यूब च्यालनमा पनि भेटिन्छ । हामीले करिब एक वर्ष अघि गरेको ‘के नारायणगढ-मुग्लिन सडकमा ‘कुहिरो’का कारण पहिरो गएको हो ?’ शीर्षकको तथ्यजाँच रिपोर्टका आधारमा प्रस्तुत स्रोत पत्ता लगायौँ । यो भिडियो जुलाई ६, २०२१ मा पोस्ट गरिएको थियो । उक्त एक वर्ष पुरानो भिडियोको एउटा सानाे अंशलाई नै अहिले टिकटकमा पोस्ट गरिएको हो । उक्त पूरानो भिडियोलाई यस वर्षको मनसुन सुरुभएसँगै फैलाउनुले भ्रामक जानकारी दिएको छ ।
निष्कर्ष :
यस वर्षको मनसुन सुरु भएसँगै सामाजिक संजालमा पोस्ट गरिएका माथिका भिडियोहरू पूराना सन्दर्भका हुन् । अहिलेकै घटना जसरी सामाजिक संजालमा फैलाउनुले मानिसहरूमा भ्रमित भएका छन् ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.