Fact Check
नेपालको जेनजी प्रदर्शन, मिडिया र ध्रुव राठीले भ्रामक बनाएका दुईवटा समाचार

दाबी: ‘पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नीको आगलागीमा परी मृत्यु’ भएको र उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई ‘सडकमा निकालेर जुत्ताले पिटिएको’ ।
तथ्य: हिंसात्मक प्रदर्शनमा काठमाडौँसहित नेपाल नै प्रभावित बनेको सत्य हो, यही क्रममा घटेका घटनाको जानकारीलाई अतिरन्जित गर्दै भ्रामक तरिकाले पोस्ट गरिएको छ ।
भरतीय चर्चित युट्युबर तथा इन्फ्लुएन्सर ध्रुव राठीले नेपालको जेनजी (GenZ) प्रदर्शनबारे एउटा भिडियो पोस्ट गरेका छन् । जानकारी दिने शैलीमा तयार पारिएको उक्त भिडियोमा केही संवेदनशील सूचनालाई भ्रामक तरिकाले प्रस्तुत गरिएको देखियो ।
Dhruv Rathee युट्युब च्यानलमा, घटना घटिरहेकै दिन (१० सेप्टेम्बर २०२५) ‘What’s REALLY Happening in Nepal? । The Gen-Z Revolt Explained’ शिर्षकको भिडियो पोस्ट गरे ।

१४ मिनेट ४४ सेकेन्ड लामो भिडियोको इन्ट्रोमा ‘पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नीको आगलागीमा परी मृत्यु’ भएको र उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई ‘सडकमा निकालेर जुत्ताले पिटिएको’ जानकारीलाई समेत हाइलाइट गरिएको छ ।
साथै livemint.com, timesofindia.indiatimes.com लगायतका भारतीय संचार माध्यममा पूर्व प्रधानमन्त्रीकी पत्नी चित्रकारको निधन भएको जानकारी पोस्ट गरिएको छ ।

प्रस्तुत दाबीको फैलावट व्यापक छ र दुबै दाबीहरु अति नै संवेदनशील छ । त्यसैले दाबीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
नेपालमा जेनजी (Gen Z) पुस्ताले सरकारको भ्रष्टाचार, सामाजिक संजालमाथिको प्रतिबन्ध लगायतका विषयमा देशव्यापी प्रदर्शन सुरु गरेका थिए । तर, यो प्रदर्शन दुई दिनमा हिंसात्मक बन्न पुग्यो । यसबाट ठूलो जनधनको क्षति भएको छ र यसको पूर्ण विवरण आउन बाँकि नै छ ।
प्रदर्शनकै क्रममा (९ अगस्ट २०२५) पूर्व प्रधानमन्त्री झलनाथ खनालको घरमा आगलागी भयो । उक्त आगलागीमा परी श्रीमती रविलक्ष्मी चित्रकार गम्भीर घाइते भइन् । यही समाचारलाई विदेशी संचार माध्यमले नामै मिस्टेक गरेर ‘राज्यलक्ष्मी चित्रकारको आगलागीमा परी मृत्यु’ भएको जानकारी दिए । यी समाचारहरुको स्रोत नेपाली संचार माध्यम नै थिए ।
यद्यपी, अहिले पूर्व प्रधानमन्त्री खनालकी पत्नी रविलक्ष्मी चित्रकारको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका प्रमुख डा. किरण नकर्मीले घटना घटेकै दिन नेपाली संचार माध्यमलाई भनेका छन्- ‘उहाँको अवस्था क्रिटिकल छ, सघन कक्षमा उपचार भइरहेको छ, फोक्सो ड्यामेज भएको छ, बिहीबार अपरेसनको योजना छ ।’
घटना घटेको पर्सीपल्ट (११ सेप्टेम्बर २०२५) पूर्व प्रधानमन्त्री झलनाथ खनालले बीबीसी सेवामा अन्तर्वार्ता दिएका छन् । उक्त अन्तर्वार्तामा खनालले काठमाडौँस्थित ‘आफ्नो निवासमा आक्रमण, आगजनीको घटना घटेको, श्रीमती रविलक्ष्मी चित्रकार जलेर गम्भीर घाइते भएको र उनको चिन्ताजनक अवस्थामा उपचार भइरहेको पुष्टि’ गरेका छन् ।

अर्कोतर्फ Dhruv Rathee युट्युब च्यानलमा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई ‘सडकमा निकालेर जुत्ताले पिटिएको’ जानकारी दिइएको छ । तर, यो जानकारी पनि भ्रामक रहेको प्रमाणित हुन्छ । राठीले भिडियोमा एउटा ब्लर दृश्य जोडेका छन्, उक्त दृश्य अस्पष्ट र अज्ञात छ ।
यद्यपी, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले सामाजिक संजालमा फैलिरहेका भिडियोको खण्डन गरेको छ । अर्थमन्त्री पौडेलका स्वकीय सचिव यम पाण्डेले बुधबार बिहान फेसबुकमा स्ट्याटस राख्दै पौडेलमाथि कुनै आक्रमण नभएको प्रष्ट पारेका छन् ।
अर्थमन्त्री पौडेलसँग जोडिएको दाबीबारे यसअघि Newschecker Nepal ले तथ्यजाँच गरिसकेको छ । यस जाँचले
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलमाथि आक्रमण भएको भन्दै फैलाइएका भिडियोहरु उनीसँग असमन्धितत रहेको प्रमाणित गरेको छ ।
निष्कर्ष
‘पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नीको आगलागीमा परी मृत्यु’ भएको र उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई ‘सडकमा निकालेर जुत्ताले पिटिएको’ जानकारी गलत रहेको प्रमाणित भएको छ । हिंसात्मक प्रदर्शनमा काठमाडौँसहित नेपाल नै प्रभावित बनेको सत्य हो, यही क्रममा घटेका घटनाको जानकारीलाई अतिरन्जित गर्दै भ्रामक तरिकाले पोस्ट गरिएको पाइयो ।
नतिजा: गलत
हाम्रा स्रोतहरू
समाचार, bbc.com/nepali
समाचार, nayapatrikadaily.com
अन्तर्वार्ता, bbc.com/nepali
फेसबुक पोस्ट, अर्थमन्त्री पौडेलका स्वकीय सचिव यम पाण्डे
तथ्यजाँच रिपोर्ट, nepal.newschecker.co
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected] ।