रुस-युक्रेन युद्ध चलिरहेको छ । युद्धकै विषयमा देश-विदेशका सामाजिक संजाल प्रयोगकर्ताले चर्चा परिचर्चा गरिरहेका छन् । यही क्रममा न्युजचेकरले रुस-युक्रेन युद्ध केन्द्रीत सूचनाहरूलाई विशेष ढंगले नियालिरहेको छ । जसको परिणाम स्वरुप सूचनाको एउटा लहरो हामीले फेला पार्यौँ । उक्त सूचनाको लहरोमा रुस-युक्रेन युद्धमा नेपाल र नेपाली सेना (गोर्खाली सेना)को संलग्नताबारे बताइएको छ ।
भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा रुस-युक्रेन युद्धका विषयमा नेपाललाई जोडेर फरक-फरक दाबी राखिएको छ । फरक-फरक सामग्रीमा यस्तो दाबी गरिएको देखिन्छ :
पहिलो दाबी : युक्रेनलाई सहयोग गर्न जाने तयारीमा नेपाली सेना
दोस्रो दाबी : गोर्खा सैनिक आजै युक्रेन पुगेपछि खतरनाक विस्फोट
तेस्रो दाबी : युक्रेनी राष्ट्रपतिले खुसी हुँदै भने- आफूसँग गोर्खाली फौज भएकाले आफ्नो जित पक्का
#MadhabKatwal नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा नेपाली सेनाले युद्ध कौशल प्रदर्शन गरिरहेको दृश्य देखिन्छ । उक्त भिडियोको थमलेलमा ‘युक्रेनलाई सहयोग गर्न जाने तयारीमा नेपाली सेना’ लेखिएको छ ।

यतिमात्र होइन, भिडियोको थमनेलमा ‘युक्रेनले हार्ने भएपछि गोर्खालीको माग’ गरिएको समेत दाबी गरिएको छ । २५ सेकेन्ड लामो उक्त भिडियोमा ७५८ टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने ११८ प्रयोगकर्ताले भिडियोलाई सेयर गरिसकेका छन् ।
#reshurajesh नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा विस्फोट भइरहेको दृश्य देखिन्छ । साथै भिडियोमा हिन्दी भाषामा रुस र परमाणु बमको बारेमा चर्चा टिप्पणी तथा विश्लेषण गरेको सुनिन्छ । उक्त दृश्यांशको थमनेलमा लेखिएको छ,‘आज बिहान ८:४१ मा गोर्खा सैनिक पुगेपछि रुस र युक्रेनबीच यति खतरनाक विस्फोट भयो ।’

भिडियोको दृश्यमा रुस-युक्रेन युद्ध र परमाणु बमको बारेमा टिप्पणी गरिएको छ भने थमनेलमा ‘गोर्खा सैनिक पुगेपछि रुस-युक्रेनबीच यति खतरनाक विस्फोट’ भएको दाबी गरिएको छ । भिडियोमा १६२ टिकटक प्रयोगकर्ताले रियाक्ट गरेका छन् भने २२ प्रयोगकर्ताले यो भिडियोलाई सेयर गरिसकेका छन् ।
त्यस्तै #khusi_limbo नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सडकमा हिँडिरहेको दृश्य देखिन्छ । उक्त भिडियोको थमनेलमा गोर्खाली फौज आफूसँग रहेकाले आफ्नो जित पक्का भएको अभिव्यक्ति युक्रेनी राष्ट्रपतिले दिएको दाबी गरिएको छ ।

थमनेलमा लेखिएको छ, युक्रेनी सेनामा नेपाली भर्ती भएपछि खुसी हुँदै युक्रेनी राष्ट्रपतिले भने- अब हाम्रो जित पक्का, हामीसँग गोर्खाली फौज छ ।’ करिब ३ साताअघि पोस्ट गरिएको उक्त भिडियोमा झण्डै ८० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने भिडियोलाई ३४१ प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।
तथ्यजाँच/प्रमाणिकरण
हामीले रुस-युक्रेनसँग सम्बन्धित तीनवटै दाबीलाई यहाँ श्रृंखलावद्ध तरिकाले प्रस्तुत गरेका छौँ । किनकि सबै दाबी एक अर्कासँग सम्बन्धित छन् । पहिलो भिडियोमा नेपाली सेना युक्रेनलाई साथ दिन जान लागेको दाबी गरिएको छ भने दोस्रो भिडियोमा नेपाली सेना युक्रेन पुगिसकेको संकेतसहितको दाबी प्रस्तुत गरिसकेको छ र तेस्रो भिडियोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गोर्खाली फौज आफूसँग रहेकाले आफ्नो जित पक्का भएको भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ ।
पहिलो दाबीसहितको भिडियोमा नेपाली सेनाले युद्ध कौशल प्रदर्शन गरिरहेको दृश्य देखिन्छ । यो युद्ध कौशन युक्रेनलाई सहयोग गर्न जानु अगाडि गरिएको भने होइन । हामीले ‘नेपाली सेना’, ‘सैन्य कौशल प्रदर्शन’ लगायतका किवर्ड सर्च गर्यौँ । जसको नतिजा स्वरुप सेना दिवसका थुप्रै भिडियोहरू भेटिए । उक्त टिकटक भिडियोको मूल स्रोत १३ अक्टोबर २०२१ मा फेसबुकमा पोस्ट भएको प्रमाण भेटिन्छ । Lahure Training School नामक फेसबुक पेजमा पोस्ट गरिएको उक्त भिडियोको क्याप्सलमा ‘21-Gun Salute by Nepal Army in Fulpati Dashain’ लेखिएको छ ।
त्यस्तै दोस्रो भिडियोमा गोर्खा सैनिक पुगेपछि रुस र युक्रेनबीच खतरनाक विस्फोट भएको दाबी गरिएको छ भने भिडियोमा परमाणु बम र रुसबारे टिप्पणी गरिएको छ । तर, यो दाबी भ्रामक छ । गोर्खाली सैनिक (नेपाली) मात्र होइन, दक्षिण एसियाली कुनै पनि देशका सेनाले रुस-युक्रेन युद्धमा आधिकारिक रुपमा सैन्य सहभागिता जनाएको छैनन् ।
दाबीसहितको टिकटक भिडियोमा देखाइएको दृश्य भने एक भारतीय टेलिभिजनको रिपोर्ट हो । News Nation नामक टेलिभिजनको उक्त रिपोर्टमा रुसको प्रमाणु शक्ति र युक्रेन-रुस युद्धमा हुन सक्ने परमाणु हमलाबारे टिप्पणी गरिएको छ । हेर्नुहोस्, मूल भिडियो :
यसअघि न्युजचेकरले नै नेपाली सेना युक्रेन नगएको पुष्टिसहितको सामग्री तयार पारेको थियो । पढ्नुहोस् – युक्रेन–रुस युद्धमा नेपाललाई जोडेर भ्रामक दाबी, रुसविरुद्ध युद्ध गर्न नेपालले सेना पठाएको छैन ।
त्यस्तै तेस्रो भिडियोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गोर्खाली फौज आफूसँग रहेकाले आफ्नो जित पक्का भएको अभिव्यक्ति दिएको भन्ने दाबी छ । तर, यो दाबी पनि भ्रामक छ । किनकि नेपाली सेना नै उक्त युद्धमा सहभागी भएको छैन भने कसरी युक्रेनी राष्ट्रपतिले यो अभिव्यक्ति दिन्छन् ?
उक्त दाबीसहितको टिकटक भिडियोमा देखाइएको दृश्यको मूल भिडियो भने एउटा मिडिया रिपोर्ट हो । उक्त रिपोर्टमा राष्ट्रपतिको परिचयात्मक सामग्री प्रस्तुत गरिएको छ ।
निष्कर्ष :
रुस-युक्रेन युद्धमा नेपालले सैन्य सहभागिता जनाएको छैन । यसर्थ नेपाली सेना युक्रेन पुगेको, नेपाली सेना त्यहाँ पुगेपछि खतरनाक बम विस्फोट भएको र युक्रेनी राष्ट्रपतिले गोर्खाली फौज आफूसँग रहेकाले आफ्नो जित पक्का भएको अभिव्यक्ति दिएको भन्ने दाबी भ्रामक र असत्य हुन् ।
नतिजा : भ्रामक/असत्य
हाम्रा स्रोतहरू
News Nation : Russia Ukraine Conflict
Lahure Training School : ‘21-Gun Salute by Nepal Army in Fulpati Dashain’
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]