Sunday, April 28, 2024
Sunday, April 28, 2024

HomeFact CheckFact Check: प्याजको प्रयोगले आँखा पाक्ने रोग निको हुन्छ? 

Fact Check: प्याजको प्रयोगले आँखा पाक्ने रोग निको हुन्छ? 

दाबी: प्याजको राग (पिरो ग्यास)को प्रयोगले आँखा पाक्ने समस्या निको हुने दाबी ।
तथ्य: प्याजको राग (पिरो ग्यास)को प्रयोगले आँखा पाक्ने रोग निको हुन्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणले पुष्टि गर्दैनन् । 

सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा प्याजको राग (पिरो ग्यास)को प्रयोगले आँखा पाक्ने समस्या निको हुने दाबी गरिएको छ । 

पं सम्राट् गौतम ज्योतिषाचार्य नामक फेसबुक आइडीमा पोस्ट गरिएको भिडियोमा एकजना व्यक्ति देखिएको छन् । ती व्यक्तिले प्याजका दुईवटा टुक्रालाई आँखाको ढकनीमाथि राख्ने, प्याज राखेपछि आँखा खोलेखर हेर्ने र यो क्रिया दिनमा दुईपटक गरेपछि आँखा पाक्ने रोग निको हुने दाबी गरेका छन् । 

प्रस्तुत दाबी मानिसको संवेदनशील अंग आँखासँग सम्बन्धित रहेको छ । त्यसैले यो दाबी पनि अत्यन्तै संवेदनशील देखिन्छ । त्यसैले प्रस्तुत दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

प्याजको राग (पिरो ग्यास)को प्रयोगले आँखा पाक्ने रोग निको हुन्छ भन्ने दाबीलाई पुष्टि गर्ने कुनै वैज्ञानिक प्रमाण फेला परेनन् । अर्कोतर्फ प्याजका टुक्रालाई आँखाको ढकनीमा राखेर त्यसको राग आँखाभित्र छिराउनु आँखाका लागि हानिकारक हुन सक्छ । आँखा पाक्ने रोग सरुवा भाइरसको कारण निम्तिने गर्दछ । यसमा प्याजको प्रयोग गर्दा  आँखा पोल्ने र थप संक्रमणको जोखिम बढ्नसक्छ । 

आँखा पाक्ने समस्या देखिएपछि सामान्यत: विभिन्न वैज्ञानिक विधिबाट यसको उपचार गर्नुपर्ने हुन्छ । तर, प्याजका टुक्राहरू वा अन्य घरेलु उपचारमा केन्द्रीत हुँदा समस्या झन बल्झिन सक्छ र अवस्था अझ खतरनाक हुन सक्छ ।

एडेनोभाइरस जस्ता भाइरसहरूको संक्रमणका कारण आँखा पाक्ने समस्या निम्तिएको हुन्छ । आँखा पाक्ने रोगको उपचारमा लुब्रिकेटिङ आई ड्रपहरू प्रयोग गर्ने, भाइरस फैलिनबाट रोक्नका लागि सरसफाइ गर्ने र आवश्यक्ता अनुसार एन्टिभाइरल औषधिहरूको प्रयोग गर्नुपर्छ ।

आँखाको ढकनीमा प्याजका टुक्राहरु राख्दा आँखा पाक्ने रोग निको हुँदैन । साथै यसबाट आँखा पाेल्ने र अन्य जटिलताहरू पनि निम्तिन सक्छन् । यदि कसैलाई आँखामा संक्रमण वा आँखा पाक्ने समस्या देखिएको छ भने उचित निदान र उपचारका लागि योग्य स्वास्थ्य सेवा प्रदायकसँग परामर्श गर्नुपर्छ ।

निष्कर्ष

प्याजको राग (पिरो ग्यास)को प्रयोगले आँखा पाक्ने रोग निको हुन्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणले पुष्टि गर्दैनन् ।  साथै यसले आँखा पाेल्ने र अन्य जटिलताहरू पनि निम्तिन सक्छन् । आँखा पाक्ने समस्या निम्तिएपछि उचित निदान र उपचारका लागि योग्य स्वास्थ्य सेवा प्रदायकसँग परामर्श गर्नुपर्छ ।

नतिजा : गलत 

हाम्रा स्रोतहरू

रिसर्च लेख, ncbi.nlm.nih.gov, 2020 Jul 29
रिसर्च लेख, ncbi.nlm.nih.gov, 2023 April 20 
लेख, aoa.org


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular