केही घण्टा अघिदेखि नेपाली संचार माध्यम र सामाजिक संजाल प्रयोगकर्तामाझ एउटा सामग्री फैलिरहेको छ । उक्त सामग्रीमा एउटा बैंक नोट देखिन्छ । सोही पोस्टमा अर्जेन्टिनाले लियोनेल मेस्सीको तस्बिर तथा हस्ताक्षरसहित १००० को बैंक नोट जारी गरेको दाबी गरिएको छ ।
नेपाली संचार माध्यम nepalkhabar ले भर्खरै प्रकाशित गरेको समाचारमा ‘लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिरअंकित नोट जारी गरेको’ दाबी गरिएको छ । समाचारमा भनिएको छ – कतारमा आयोजित विश्वकप फुटबलको उपाधि जिताउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिर अंकित नोट जारी गरेको छ । फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि उचालेर घर फर्किएलगत्तै अर्जेन्टिनाले मेस्सीको तस्बिरअंकित त्यहाँको मुद्रा पेसोको एक हजारको नोट जारी गरेको हो । विश्वकप जितेपछि मेस्सीको तस्बिरअंकित पेसोको १००० को नोटमा उनकै हस्ताक्षर पनि रहेको छ ।

प्रस्तुत दाबी नेपाली सामाजिक संजाल प्रयोगकर्तामाझ पनि फैलिन सुरु भएको छ । NEB Result नामक फेसबुक पेजमा लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिरअंकित नोट जारी गरेको दाबी गरिएको छ ।
अर्जेन्टिनाले जारी गरेको भनिएको नोटको तस्बिरसहित एउटा स्ट्याटस पनि लेखिएको छ । उक्त स्ट्याटसमा लेखिएको छ,‘Wow: Argentina ले विश्वकप जितेर घर फर्किएसंगै अर्जेन्टिनाले Messi काे सम्मानमा उनको फोटो र हस्ताक्षर सहित त्यहाँको 1000 peso (नोट) जारी गरेको छ ।’

प्रस्तुत दाबीसहितको सामग्रीमा पोस्ट भएको १ घण्टामै २ हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् । त्यस्तै यही समयमा उक्त सामग्रीलाई एक सयभन्दा बढी प्रयोगकर्ताले सेयर गरिसकेको देखिन्छ ।
सोही दाबीसहितको स्ट्याटसलाई हामीले फेसबुकमा सर्च गर्दा अर्जेन्टिनाले जारी गरेको भनिएको नोटको तस्बिरसहितका अन्य पोस्टहरू पनि भेटिए । यसबाट के प्रष्ट हुन्छ भने छोटो समयमै उक्त दाबीसहितको सामग्री सामाजिक संजालमा व्यापक रुपमा फैलिरहेको छ । प्रस्तुत दाबीको फैलावटलाई मध्यनजर गर्दै हामीले यो जाँच सुरु गर्यौँ ।
तथ्यजाँच/प्रमाणीकरण
विश्वकप २०२२ मा उत्कृष्ट प्रदर्शन गरेका लियोनेल मेस्सी अर्जेन्टिना फर्किसकेका छन् । यही सेरोफेरोमा मेस्सीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिरअंकित नोट जारी गरेको दाबी फैलिएको छ ।
दाबीमाथि जाँच गर्नुअघि हामीले अर्जेन्टिनाको बैंक नोट र मेस्सीको तस्बिर तथा हस्ताक्षरसँग सम्बन्धित केही किवर्ड गुगलमा सर्च गर्यौँ । फलस्वरुप केही समाचारहरू फेला परे । The Sun नामक संचार माध्यमले बुधबार दिउँसो प्रकाशित गरेको समाचारमा उक्त विषय समावेश गरिएको छ ।
elfinanciero लाई उदृत् गर्दै प्रस्तुत समाचारमा अर्जेन्टिनाका वित्तीय अधिकारीहरूले आफ्नो राष्ट्रको ऐतिहासिक विश्वकप जितलाई बैंकनोटमा समेट्नेबारे छलफल गरेको बताइएको छ । यस विषयमा विभिन्न सुझावहरू आएपनि अन्तिम निर्णय भइनसकेको समाचारहरूमा उल्लेख छ ।

यही सेरोफेरोमा नेपालमा भने मेस्सीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिर अंकित नोट जारी गरेको दाबीसहितका समाचार र पोस्टहरू फैलिसकेका छन् । तर, यो सामग्री तयार पार्दासम्म अर्जेन्टिनाका अधिकारीहरू लियोनल मेस्सीको अनुहार पैसामा राख्ने विषयमा विचार गरिरहेका छन् ।
निष्कर्ष
लियोनेल मेस्सीको तस्बिर अंकित बैंक नोट जारी गर्ने विषयमा अर्जेन्टिनाका वित्तीय अधिकारीहरूले छलफल गरिरहेका छन् तर तस्बिर अंकित बैंक नोट जारी भइसकेको छैन । यही सन्दर्भमा बैंक नोट जारी भन्ने दाबी भ्रामक बनेको छ ।
नतिजा : आंशिक गलत
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co