पछिल्लो समय नेपाली सामाजिक संजाल प्रयोगकर्तामाझ एउटा तस्बिर द्रुत गतिमा फैलिइरहेको छ । तस्बिरमा एक व्यक्ति देखिएका छन्, जसको पूरा शरीर ढलमा डुबेको छ । ती व्यक्तिको टाउको मात्र ढलको फोहर पानी बाहिर निस्किएको देखिन्छ ।
प्रस्तुत तस्बिरसँगै एउटा दाबीसहितको क्याप्सनसमेत लेखिएको छ । ढलमा डुबेका ती व्यक्ति श्रीलंकाका नेता रहेको र ती नेतालाई श्रीलंकाका नागरिकले ढलको फोहर पानीमा डुबाएको दाबी उक्त तस्बिरको क्याप्सनमा गरिएको छ ।
क्याप्सनमा नेपाली भाषामा लेखिएको छ- ‘श्रीलंकामा जनताहरू उठेर सेना प्रहरीको डर नमानी भ्रष्टाचार गर्ने देश लुट्ने नेताहरुलाई यसरी ढलमा गाडेका छन् ! नेपालीले पनि केही सिक्ने की ?’
पुकार अर्याल नामक फेसबुक प्रयोगकर्ताले उक्त क्याप्सनसहितको तस्बिर पोस्ट गरेका छन् । मे २६ मा पोस्ट गरिएको उक्त सामग्रीलाई करिब ५ सय फेसबुक परयोगकर्ताले लाइक गरिसकेका छन् भने २ हजार ३ सय फेसबुक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।

त्यस्तै डायरी बाट नामक फेसबुक आइडीमा पनि यही ब्यहोराको क्याप्सन र सोही तस्बिर पोस्ट गरिएको छ । उक्त दाबीसहितको पोस्टलाई ५० भन्दा बढी फेसबुक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।

त्यसैगरी Samir Pradhan नामक फेसबुक प्रयोगकर्ताले पनि सोही दाबीसहितको तस्बिर आफ्नो वालमा पोस्ट गरेको देखिन्छ । उनको पोस्टमा पनि सोही व्यहोराको दाबीसहितको क्याप्सन राखिएको छ । उक्त सामग्री पोस्ट भएको २४ घण्टा नपुग्दै २ सयभन्दा बढी फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् भने २० भन्दा बढी प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।

गोपाल दाहाल नामक फेसबुक प्रयोगकर्ताले पनि सोही तस्बिर र सोही व्यहोरासहितको सामग्री पोस्ट गरेका छन् । उक्त दाबीसहितको सामग्रीलाई २० भन्दा बढी फेसबुक प्रयोगकर्ताले सेयर गरिसकेका छन् भने एक सयभन्दा बढी प्रयोगकर्ताले लाइक गरिसकेका छन् ।
उक्त पोस्टमा क्याप्सन लेखिएको छ,‘श्रीलंकामा जनताहरू उठेर सेना प्रहरीको डर नमानी भ्रष्टाचार गर्ने देश लुट्ने नेताहरुलाई यसरी ढलमा गाडेका छन ! नेपालीले पनि देश जोगाउदै बिकास निर्माण गर्न सत्तामा जुका झै टासियर देश को अर्थतन्त्रलाई ब्रम्हलुट गर्ने बिकास बजेट आफ्ना झोले पोस्ने बिदेसी को खेतला बनेर देश को अस्मिता लुट्ने सत्तामा भयका सासक हरुलाई सबक सिकाउन हामी नेपालीले पनि श्रीलंकाका जनताबाट केही सिक्ने की ?’
फेसबुकमा यस्ता थुप्रै पोस्टहरू गरिएको देखिन्छ । उक्त पोस्टहरू सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेका छन् । हामीले उक्त पोस्टमा राखिएका केही वाक्यांकलाई फेसबुक सर्च गर्दा सोही तस्बिर र सोही क्याप्सनसहितका थुप्रै सामग्री भेटिए ।

तथ्यजाँच/प्रमाणीकरण
प्रस्तुत दाबी सामाजिक संजालमा एकै तरिकाबाट फैलाइएको छ । उक्त तस्बिर पोस्ट गरिएको छ र क्याप्सनमा सोही विवरणसहितको दाबी राखिएको छ । दाबीको यही प्रकृतिलाई हेर्दै हामीले गुगल रिवर्स इमेज सर्च पर्यौँ । जसको नतिजा दाबीको ठिक विपरित आयो ।
भारतीय चर्चित संचार माध्यम rediff.com मा उक्त तस्बिर भेटिएको छ । उक्त तस्बिरसहितको सामग्रीको शीर्षक राखिएको छ,‘Yeh Hai India: Swimming In Shit’ । यस सामग्रीका अनुसार उक्त तस्बिर भारतस्थित वाराणसीमा खिचिएको हो र यस तस्बिरले पुरस्कारसमेत जितेको थियो । मूल तस्बिरको क्याप्सनमा लेखिएको छ,‘पर्फेक्ट पिक्चर च्यानलले फोटोग्राफी, पत्रकारिता र कला संस्कृतिका विषयमा आयोजना गरेको फोटो प्रतियोगितामा वाराणसीको ढल सफा गर्ने निन्दनीय अभ्यासको तस्बिरले प्रथम पुरस्कार जित्यो ।’

प्रस्तुत तथ्यबाट के पुष्टि हुन्छ भने दाबीसहिको क्याप्सनसँगै प्रयोग गरिएको तस्बिर श्रीलंकाको होइन । उक्त तस्बिर भारतस्थित वाराणसीको हो । यही तस्बिरलाई श्रीलंका भन्दै भ्रामक क्याप्सनका साथ फेसबुकमा फैलाइएको हो ।
निष्कर्ष :
‘श्रीलंकामा जनताहरू उठेर सेना प्रहरीको डर नमानी भ्रष्टाचार गर्ने देश लुट्ने नेताहरुलाई यसरी ढलमा गाडेका छन्’ दाबीका साथ सामाजिक संजालमा फैलाइएको तस्बिर श्रीलंकाको होइन । उक्त तस्बिर भारतस्थित वाराणसीमा ढल सफाईको काम भइरहँदा खिचिएको हो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co