Tuesday, September 17, 2024
Tuesday, September 17, 2024

HomeFact CheckFact Check: के तितेपातीको रस सेवनले खोकी निको हुन्छ ?

Fact Check: के तितेपातीको रस सेवनले खोकी निको हुन्छ ?

दाबी: ‘गडेको खोकी र अनुहारको कालो चाया पोतोको अचुक औषधि तितेपाती’ 
तथ्य: तितेपातीको रस सेवन गर्दा गडेको खोकी निको हुन्छ भन्ने दाबीलाई प्रमाणित गर्ने विश्वस्त वैज्ञानिक प्रमाण फेला परेनन् । 

उपचारमा तितेपातीको प्रयोग सम्बन्धित एउटा भिडियो फेला परेको छ । उक्त भिडियोमा गडेको खोकी र अनुहारको कालो चाया पोतोको अचुक औषधि तितेपातीको रस रहेको दाबी गरिएको छ ।

Uddhav Ghimire नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एकजना व्यक्तिले तितेपातीको बोट चिनाइरहेका छन् । भिडियोमा ती व्यक्तिले भनेका छन्- गाँउघरमा पाइने यो तितेपाती धेरैलाई थाहा हुनुपर्छ । यो एकदमै बास्नेदार हुन्छ । यसको कति फाइदा छ भन्ने कुरा बयान गरी साध्य छैन, म तपाईहरुलाई दुईवटा मात्र फाइदा बताउँदै छु, यति बेला । तपाईंको अनुसारमा कालो चाया पोतो छ धेरै क्रिम महंगामहंगा किनेर खर्च गरेर तपाईंको चायापोतो हटेको छैन भने यसलाई ल्याएर मजाले कुटेर यसको रस लगाउनु होस् र एक घण्टा जति छोर्दिनुहोस् साबुन न लाउनुहोला पानीले मात्र धोएर एक हप्ता हेर्नु चट्ट हुन्छ । यदि तपाईको गढेको खोकी छ । लामो समयसम्म उपचार गर्दा पनि निको भएको छैन भने धेरै खानु हुँदैन यसको तीन थोपा रस अलिकति बिहान उठेर मनतातो पानीमा खाएपछि खानुहोस एक हप्तामा जति गडेको खोकी पनि चट् हुन्छ ।

के तितेपातीको सेवनले गडेको खोकी निको हुन्छ त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।  

यसअघि हामीले तितेपातीको प्रयोगबाट दाग र डन्डिफोरको निको हुन्छ भन्ने दाबीको तथ्यजाँच गरेका छौँ । तर, उक्त जाँचका क्रममा प्रस्तुत दाबी गलत रहेको पाइयो । पढ्नुहोस्, Fact Check: के तितेपाती डन्डिफोर दागको अचुक औषधिको हो ?

तथ्यजाँच/प्रमाणीकरण

तितेपाती जडिबुटीमा हल्का कफनाशक गुणहरू हुन सक्छन्, जसले खोकीलाई कम गर्न मद्दत गर्न सक्छ । अर्कोतर्फ तितेपातीले सुरक्षित प्रयोगले घाँटी जलन पनि कम गर्ने विश्वास गरिन्छ । यद्यपि, तितेपातीको रस सेवन गर्दा गडेको खोकी निको हुन्छ भन्ने दाबीलाई प्रमाणित गर्ने विश्वस्त वैज्ञानिक प्रमाण फेला परेनन् । 

तितेपाती (Mugwort) एक बाह्रमासे जडिबुटी वनस्पति हो । यसलाई परम्परागत रुपमा औषधीय गुणहरूका लागि प्रयोग गरिन्छ । युरोप, एसिया र उत्तरी अमेरिकाको मूल निवासी तितेपातीका पातहरु सुगन्धित तथा हरियो रंगका हुन्छन् । 

तितेपातीलाई परम्परागत चिनियाँ औषधि (TCM)मा प्रयोग गरिन्छ । साथै यो गरम गुणहरूको लागि परिचित छ र मोक्सीबस्टन जस्ता अभ्यासहरूमा यसको प्रयोग गरिन्छ । तितेपातीको गरम प्रभावले शरीरको ऊर्जा सन्तुलन गर्ने र रोगहरू निको पार्न मद्दत गर्ने विश्वास गरिन्छ ।

केही जडीबुटीहरूले खोकी र श्वासप्रश्वास समस्याहरू निको पार्न मद्दत गर्न सक्छन् तर यसका लागि तितेपातीमा व्यापक अध्ययन गरिएको छैन । मानव स्वास्थ्यमा तितेपातीको प्रभावकारिता पुष्टि गर्न थप अनुसन्धान आवश्यक छ ।

अर्कोतर्फ तितेपातीको अत्यधिक खपतले वाकवाकी, चक्कर लाग्ने वा एलर्जी लगायतका साइड इफेक्टहरू निम्त्याउन सक्छ । 

तितेपातीको प्रयोगबारे हामीले अखिल भारतीय आयुर्वेद संस्थानका एमडी डा.अन्नुसुइया गोहिलसँग परामर्श गर्‍यौँ । उनले भन्छिन्,‘तितेपातीको रस सेवन गर्नु अरूको लागि उपयोगी हुन सक्छ तर यसले गडेको खोकी निको हुन्छ भन्ने दाबी प्रमाणित हुँदैन ।’ उनका अनुसार गडेको खोकीलाई बेवास्ता गर्नु वा अनुचित उपचार गर्नु खतरनाक हुन सक्छ ।

निष्कर्ष

तितेपातीलाई गडेको खोकी निको हुन्छ भन्ने दाबी वैज्ञानिक प्रमाणहरुबाट प्रमाणित हुँदैन । तितेपाती जडिबुटीमा हल्का कफनाशक गुणहरू हुन सक्छन् तर तितेपातीको रस सेवन गर्दा गडेको खोकी निको हुन्छ भन्ने दाबीलाई प्रमाणित गर्ने विश्वस्त वैज्ञानिक प्रमाण फेला परेनन् । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

रिसर्च लेख, ncbi.nlm.nih.gov
रिसर्च लेख, researchgate.net


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular