Monday, April 29, 2024
Monday, April 29, 2024

HomeFact CheckFact Check: प्याजको रस कानमा हाल्दा कान दुखाइ निको हुन्छ? 

Fact Check: प्याजको रस कानमा हाल्दा कान दुखाइ निको हुन्छ? 

दाबी: कानमा प्याजको रस हाल्दा कानको दुखाइ निको हुन्छ ।
तथ्य: कानमा प्याजको रस हाल्दा कानको दुखाइ निको हुन्छ भन्ने दाबी वैज्ञानिक रुपमा प्रमाणित हुँदैन । 

सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा कानमा प्याजको रस हाल्दा कानको दुखाइ निको हुन्छ भन्ने दाबी गरिएको छ ।   

Sanyasi Ayurveda नामक फेसबुक पेजमा एउटा भिडियो सहितको सामग्री पोस्ट गरिएको छ । उक्त भिडियोमा एक व्यक्तिले मानिसको कानमा अचानक पीडा हुने गरेको र उक्त पीडाका कारण थाहा नहुँने बताएका छन् । त्यस्तो अवस्थामा  प्याजको रस कानमा हाल्दा कानको दुखाइ निको हुने दाबी उनले गरेका छन् । 

मानव स्वास्थसँग सम्बन्धित यस संवेदनशील दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ । जाँचपछि उक्त दाबी गलत रहेको तथ्य उल्लेखित प्रमाणले पुष्टि गरेका छन् ।

तथ्यजाँच/प्रमाणीकरण

कानमा प्याजको रस हाल्दा कानको दुखाइ निको हुन्छ भन्ने दाबी वैज्ञानिक रुपमा प्रमाणित हुँदैन, यो चिकित्सा उपचार विधि पनि होइन । प्याजमा एन्टिब्याक्टेरियल र एन्टी-इन्फ्लेमेटरी गुणहरू रहेका हुन्छन् तर प्याजको रस कानमा हाल्दा कानको पीडानिको हुन्छ भन्ने दाबीलाई पुष्टि गर्ने वैज्ञानिक प्रमाण भेटिएनन् ।

मानिसको कान दुख्ने विभिन्न कारणहरू हुन सक्छन् । कानमा संक्रमण हुनु, कानमा अवरोध हुनु, चोटपटक वा कानको प्वालमा भएको सूजनले पनि कानलाई पीडा दिन्छ । कान दुखाइको लागि उपयुक्त उपचार आधारभूत कारणमा निर्भर हुन्छ । घरेलु उपचारले पनि कहिलेकाहीँ अस्थायी राहत प्रदान गर्न सक्छ तर उचित निदान र उपचारका लागि स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्नु सधैँ उत्तम हुन्छ ।

प्याजमा फ्लेभोनोइड्स र सल्फर यौगिकहरू हुन्छन्, जसबाट सम्भावित स्वास्थ्य लाभ लिन सकिने केही अध्ययनमा उल्लेख छ । प्याजमा फ्लेभोनोइड क्वेर्सेटिन हुन्छ, जसले यसको एन्टी-इन्फ्लेमेटरी गुणमा योगदान गर्ने प्रमाणहरूले देखाउँछन् । 

अर्कोतर्फ उपलब्ध प्रमाणहरूले काँचो प्याजको रस कानमा हाल्दा दुखाइ पूर्ण रूपमा निको हुन्छ कि हुँदैन भन्ने पुष्टि गर्दैनन् । उल्लेखित यौगिकहरूका कारण छालामा केही प्रभाव हुन सक्छ तर कानको दुखाइको उपचारको लागि प्याजको रसको प्रयोगलाई वैज्ञानिक प्रमाणले सहमति दिँदैन ।

प्याजको रस कानमा हाल्दा कानको प्वालमा ब्याक्टेरिया वा अन्य इरिटेन्टहरू प्रवेश गर्न सक्छन्, जसले अवस्था बिग्रन्छ वा थप जटिलताहरू निम्त्याउन पनि सक्छ । कान एक नाजुक संरचना हो र कानसँग सम्बन्धित कुनै पनि पदार्थ वा उपचार स्वास्थ्यकर्मीको मार्गदर्शनमा गर्नुपर्छ । 

दाबीको विषयमा हामीले इएनटी विशेषज्ञ डा.प्रियजित पाणिग्रहीसँग परामर्श गर्‍यौँ । उनले भने,‘आज एन्टिबायोटिक प्रतिरोधी क्षमता घातक स्वास्थ्य समस्यामा परिणत भएको छ । पहिले निको हुन सक्ने संक्रमणले अहिले त्यही औषधिलाई प्रतिक्रिया दिँदैन । तसर्थ, एन्टिबायोटिकको वैकल्पिक उपचार अनुसन्धान गर्न आवश्यक छ।’

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सको आधिकारिक उपचार निर्देशिकामा भनिएको छ- ‘कानको संक्रमणको लागि प्रयोग गरिने वैकल्पिक उपचारहरूको लाभकारी प्रभाव देखाउने कुनै अध्ययनहरू छैनन् ।’

निष्कर्ष

कानमा प्याजको रस हाल्दा कानको दुखाइ निको हुन्छ भन्ने दाबी वैज्ञानिक रुपमा प्रमाणित हुँदैन । प्याजको रस कानमा हाल्दा कानको प्वालमा ब्याक्टेरिया वा अन्य इरिटेन्टहरू प्रवेश गर्न सक्छन्, जसले अवस्था बिग्रन्छ वा थप जटिलताहरू निम्त्याउन पनि सक्छ ।

नतिजा : गलत  

हाम्रा स्रोतहरू

Aafp.org
Cochranelibrary.com
pubmed.ncbi.nlm.nih.gov


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular