चर्चित बालिका गायिकासँग यौन सम्बन्ध कायम गरेको आरोप लागेका (कानुनत: बलात्कार आरोपी) अभिनेता पल शाह (पूर्णविक्रम शाह)सँग सम्बन्धित विभिन्न दाबीसहितका सामग्री बेला-बेला सामाजिक संजालमा आइरहने गर्छन् । यही क्रममा सामाजिक संजालमा दाबीसहितको फैलाइएको एउटा सामग्रीको तथ्यजाँच गरेका छौँ ।
itsmedipak22 नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा पल शाह कारागारमुक्त भएको दाबी गरिएको छ । उक्त दाबीसहितको सामग्रीमा पल शाहको एउटा तस्बिर राखिएको छ र मानिसहरूको भिड चिच्याइरहेको दृश्यसमेत देखाइएको छ । उक्त भिडियोको थमनेलमा लेखिएको एउटा अंश यस्तो छ- ‘पल शाह जेलबाट छुट्ने बेलामा दर्शकहरू स्वगत गर्न जेलमै पुगे, हेर्नुहोस् २ करोड नेपाली जनताहरु पल शाहको सपोर्ट ।’
४ दिनअघि अर्थात यही अगस्ट १५ मा पोस्ट गरिएको उक्त दाबीसहितको सामग्रीमा करिब १३ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने करिब ८० जना टिकटक प्रयोगकर्ता दाबीसहितको भिडियोलाई सेयर गरिसकेका छन् ।

यसअघि पनि पल शाह र उनीसँग सम्बन्धित दाबीसहितका केही भिडियो सामाजिक संजालमा फैलिएका थिए । न्युजचेकरले फेला परेका ती सामग्रीमा पनि बलात्कार आरोपी पल शाह रिहा भएको लगायतका दाबी गरिएको थियो । तर, न्युजचेकरले गरेकाे तथ्यजाँचमा सो दाबी गलत र भ्रामक रहेको पुष्टि भयो ।
सामाजिक संजालमा अहिले र यसअघि फैलिएका दाबीहरुमा केही समान्ता रहेकाले हामीले अघिल्लो तथ्यजाँचका विषयमा यहाँ जिकिर गर्यौँ । पहिलेजस्तै अहिले पनि आम सामाजिक संजाल प्रयोगकर्ताले दाबीको वास्तविकता जान्न चाहेकाले यसपटक पनि हामीले प्रस्तुत दाबीमाथि जाँच गर्ने जमर्को गर्यौँ ।
तथ्यजाँच/प्रमाणीकरण
बलात्कारको आरोप लागेपछि २०७८ चैत १६ गते तनहुँ जिल्ला अदालतको आदेशले पल शाहलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो । पछिल्लो समय पल शाहमाथि न्यायिक हिरासतबाटै अनुसन्धान भइरहेको छ । यही विषयमा नेपाली सामाजिक संजाल प्रयोगकर्ताले पनि चर्चा परिचर्चा गरिरहेका छन् । यही सेरोफेरोमा पल शाहको विषयमा तयार पारिका सामग्रीहरू सामाजिक संजालमा फैलिरहेका छन् ।
यही क्रममा पल शाह जेलमुक्त भएको दाबीसहितको सामग्री सामाजिक संजालमा भेटिको छ । दाबीसहितको सामग्रीमा पल शाहको एउटा तस्बिर देखाइएको छ र अर्कोतिर भिडियोमा मानिसहरू पल शाह चाहियो भन्दै नारा लगाइरहेको दृश्य देखाइएको छ । त्यसैकारण हामीले सबैभन्दा पहिले पल शाहको तस्बिरबारे जाँच गर्ने निधो गर्यौँ ।
भिडियोमा पल शाह माला लगाएर उभिएको देखिएको छ । भिडियोमा राखिएको तस्बिरको स्क्रिनसट लिएर गुगल रिवर्स इमेज सर्च गर्यौँ । फलस्वरुप हामीलाई Routine of Nepal banda नामक ट्विटर आइडी पोस्ट गरिएको एउटा तस्बिर प्राप्त भयो । ३० जुन २०२१ मा पोस्ट गरिएको उक्त तस्बिरको क्याप्सनमा अभिनेता पल शाहलाई ‘रियल हिरो अफ द इयर’ अवार्ड दिइएको जानकारी दिइएको छ । रजतपत कोसेली अभियानले पललाई पुरस्कृत गर्दै १० केजीको माला पनि लगाइदिएको समेत साेही स्ट्याटसमा लेखिएको छ ।
प्रस्तुत सामाजिक संजालमा गरिएको पोस्टलाई पनि हामीले जाँच गर्यौँ । स्ट्याटसकै विवरणलाई हामीले गुगल सर्च गरि हेर्यौँ । दाबीसहितको पोस्टमा राखिएको पलको फोटोमा cinepati.com को लोगो देखिएकाले ‘cinepati’ ‘रियल हिरो अफ द इयर’ ‘रजपट कोसेली’ ‘पल शाह’ लगायतका किवर्ड सर्च गर्यौँ । सिनेपाटीले २०७८ असार १६ प्रकाशित गरेको ‘रियल हिरोको उपाधी पल शाहलाई’ शीर्षकको समाचार भेटियो ।
भिडियोसहित तयार पारिएको उक्त समाचारको अंश यस्तो छ-
अभिनयसँगै समाज सेवामा सक्रिए रहेका अभिनेता पल शाह लाई ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको छ । रजतपट कोशेलीले सामाजिक सेवामा उत्कृष्ट काम गरेको भन्दै उनलाई ७ केजीको माला र सम्मान पत्रबाट सम्मानित गरेको हो l सम्मान ग्रहण गर्दै पलले सहयोगका लागि मनदेखि भावना आउनुपर्ने बताए । आफूलाई मनदेखि सहयोगको भावना रहेको र पछिसम्म रहने उनको भनाई छ । साथै उनी भन्छन्, ‘मलाई धेरैले सहयोग गरेका फोटोहरु फेसबुकमा धेरै किन हाल्छस् भनेर भन्नुहुन्छ । त्यो मैले देखाउनका लागि हालेको होइन । अरुलाई इन्स्पायर्ड गर्नका लागि हो । मैले काम गरेँ भनेर भन्न होइन कि तपाईंहरु पनि गर्नुहोस् भन्नका लागि हो । समस्यामा परेकालाई हामी सबैले सकेको सहयोग गर्नुपर्छ ।’ उनले अब सामाजिक कार्यलाई पनि निरन्तरता दिने बताएका छन् । नायक शाहले पहिलो चरणको लकडाउनको समयमा प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरेका थिए ।
दुबै स्रोतको विवरण/जानकारी र सार्वजनिक गरिएको मिति मिलेपछि हामी उक्त तस्बिर सोही ‘रियल हिरो अफ दि इयर’ सम्मान प्रदान गर्दा खिचिएको हो भन्नेमा सहमत भयो । त्यसपछि हामी दाबीसहितको तस्बिरमा राखिएको भिडियोको वास्तविकता जान्ने प्रयास गर्यौँ ।
भिडियोमा ‘पल दाई चाहीयो’ भन्ने नारा सुनिएकाले हामीले पनि सोही नारा युट्युबमा सर्च गर्यौँ । त्यसपछि हामीले विभिन्न भिडियो नियाल्यौँ तर सोही क्षणको दृश्य भने फेला पर्न सकेनौँ । उक्त भिडियोसँग मिल्दाजुल्दा दृश्यभने अरु भिडियोमा देखिएका छन् ।
Ramailo Chha नामक युट्युब च्यानलमा राखिएको भिडियो स्थान उस्तै देख्न सकिन्छ । भिडियोमा देखिएका गाडी र त्यहाँका मानिसहरूको आकृति हेरेर भिडियो खिचिएको स्थान र प्रसंग एउटै भन्न सकिने आधारहरू भेटिएका छन् । २६ फेब्रुअरी २०२२ मा पोस्ट गरिएको उक्त भिडियो रिपोर्टको शीर्षक छ- ‘पूजा एक्लै हल पुग्दा ‘पल खै’भन्दै हजारौं दर्शकले लगाए नारा, थामिनसक्नु भिडमा आगो लाग्यो !’
सोही शीर्षकबाट केही किवर्ड झिकेर गुगल सर्च अन्य युट्युब भिडियो भेटिए । ती भिडियोहरु मार्फत् के थाहा पाइयो भने ‘म यस्तो गित गाउँछु २’ को निर्माण समूह अष्ट नारायण हल पुगेपछि उक्त दृश्य देखिएको रहेछ र फिल्म हेर्न आएका मान्छेले ‘पल दाई चाहियो’ भन्ने नारा लगाएका रहेछन् ।
प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने उक्त दृश्य पल शाह रिहा हुँदाको दृश्य होइन । उक्त दृश्य नायिका पुजा शर्मा सहितको ‘म यस्तो गीत गाउँछु २’ फिल्म समूहसँग काठमाडौँस्थित चर्चित अष्टनारायण हलमा फ्यानहरूले भेट गरिरहेको हो । फिल्म समूहसँग अब कुरा रह्यो, पल शाह जेलमुक्त भएको । तर, पल शाह जेलमुक्त भएका छैनन्।

पछिल्लो समय पल शाहको मुद्दा उच्च अदालत पोखरामा पुगेको छ । Ekantipur का अनुसार १९ जेठ गते कलाकार पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी दुई जिल्ला अदालतले गरेको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको थियो । यसअघि शाहलाई जिल्ला अदालतले थुनामै राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी आदेश गरेका थिए ।
Onlinekhabar का अनुसार जिल्लाको आदेश विरुद्ध कलाकार शाह उच्च अदालत पोखरा गएका थिए । उनले आफूलाई साधारण तारिखमा राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने माग गरेका थिए । तर, न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको इजलासले जिल्लाको आदेश सदर गरेका थिए ।
निष्कर्ष
माथिका सामग्रीमा दाबी गरेजस्तो पल शाह न्यायिक हिरासतबाट रिहा भएका छैनन् । फरक सन्दर्भका पुराना दृश्यहरूलाई जोडेर पल शाह जेलमुक्त भएको भन्दै भ्रामक र असत्य सूचना फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co