बसमा आगो लागिरहेको दृश्यसहित एउटा भिडियो सामाजिक संजालमा फैलिरहेको छ। सडकमा एउटा बस उभिएको छ जसमा आगो दनदनी बलिरहेकाे देखिन्छ। जसको नेपथ्यमा केही व्यक्तिहरूले गुहार मागिरहेको देखिन्छ। उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘नेपाल बन्दमा गाडी चलाको भनेर आगजनी, मेरो देश।’
भिडियोको क्याप्सनमा पनि यही आशयको दाबी गरिएको छ। जसमा लेखिएको छ,‘बिहानै बन्दको प्रभाव, जे भए पनि आगो चाहीँ नलगाउनु पर्ने।’

२४ घण्टाअघि प्रतिक शर्मा नामक टिकटक प्रयोगकर्ताले पोस्ट गरेको भिडियोमाथि करिब ७ हजार १ सयले रियाक्ट गरिसकेका छन् भने करिब तीनसय प्रयोगकर्ताले सेयर गरिसकेका छन्। हामीले यो भिडियोको वास्तविकता जान्न तथ्यजाँच गरेका छौँ।
तथ्य जाँच / प्रमाणीकरण
नेत्रिवक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार ‘नेपाल बन्द’ घोषणा गरेको थियो। गाडी जलाइएको भिडियोमा पनि ‘बन्दमा गाडी चलाको’ भन्ने वाक्यांश प्रयोग गरिएको छ। त्यसैले प्रष्ट छ,यो भिडियो कतै न कतै मंगलबार (कार्तिक ३०) गरिएको ‘नेपाल बन्द’ घोषणासँग जोड्न खोजिएको छ।

मंगलबार भएको नेपाल बन्दको प्रभावबारे अहिलेसम्म कुनै आधिकारिक सूचना आएको छैन। तर, यो भिडियोलाई बन्दमा घटेको घटना जसरी देखाउन खोजिएको छ। भिडियो भने मंगलबार घोषित नेपाल बन्दको हाेइन्। उक्त भिडियो २१ जुलाई २०१८ मा पहिलो पटक इन्टरनेटमा राखिएको थियो। भिडियोमा देखाइएको बसमा कसैले आगजनी गरेको दाबी गर्नु पनि भ्रामक हो।
‘Ugly Google’ नामक युट्युब च्यानलमा भेटिने उक्त भिडियोको क्याप्सनमा पोखरामा पर्यटकीय बसमा आगलागी भएको जानकारी दिइएको छ। भिडियोको क्याप्सनमा लेखिएको छ,‘पोखरामा बसमा आगलागी।’ भिडियोमा आगाे लाग्नुको कारण भने खुलाइएको छैन।
तल भिडियोबारे विस्तृत अंग्रेजी भाषामा लेखिएको छ,‘पोखरा जिरो किलोमिटर नजिक पार्किङ गरी राखिएको बसमा आगलागी भएको छ। केही समयमै दमकलको उद्दार टोली र स्थानीयको सहयोगमा आगो निभाइयो।’
यसबाट के प्रस्ट हुन्छ भने मंगलबार घोषणा गरिएको ‘नेपाल बन्द’ र आगो दन्किरहेको बसबीच कुनै सम्बन्ध छैन। भिडियोमा देखिएको बसमा कसैले आगजनी पनि गरेको भेटिएन।
‘बसमा एक्कासी आगो’
२२ पुस २०७४ मा पोस्ट गरिएको एक समाचार अनुसार भिडियोमा देखिने बसमा अचानक भित्रैबाट आगो सल्किएको थियो। भिडियोमा उक्त बसको नम्बर प्रस्ट देखिन्छ। त्यस्तै यो समाचारमा राखिएको बसको तस्बिरमा पनि नम्बर देखिन्छ। दुबैमा देखिएको नम्बर हो- ‘ना ५ ख ७२०४।’
तीन वर्ष पहिले पोखराको जिरो किलोमिटमा भएको उक्त आगलागीबारे त्यतिबेलै प्रकाशित समाचार हेर्नुहोस्-
कास्की-पोखराको जिरो किलोमिटमा रोकी राखेको बसमा एक्कासी आगो लागेको छ। रोडवेज ट्राभल्सको बेनी काठमाडौं गर्ने ना ५ ख ७२०४ नम्बरको सो बस झण्डै १ महिनादेखि सो स्थानमा पार्किङमा रहेको स्थानीयले बताए। प्रत्यक्षदर्शीका अनुसार बसको सिट भित्रबाट फुसफुस धुँवा निस्किएको र आगलागी भएको हो।
घटना लगत्तै सो स्थानमा दमकल पुगेको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीपनि घटना स्थल पुगिसकेका छन्। आगलागिबाट बस भित्र पूर्ण क्षति भए पनि त्यस बाहेक थप क्षति हुनबाट जोगिएको छ।
लामो समय देखि सो स्थानमा पार्किङ किन गरिएको र के कारणले आगलागी हुन पुग्यो सो बारेमा अनुसन्धान पछि थाहा हुने जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक शिव थापाले बताए।

निष्कर्ष :
बन्दका बेला बसमा कसैले आयो लगाएको थिएन। स्थानीयले बसमा अचानक आगोको धुवा देखेका थिए। अर्कोतर्फ अर्कै सन्दर्भको भिडियोलाई अर्कै सन्दर्भको दाबीसहित तीन वर्षपछि फैलाइएको देखिन्छ। त्यसैले पनि यो भिडियो भ्रमक बनेको छ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co