भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा भेटिएको एउटा दाबीले ध्यान खिच्यो । सहजादा जैन नामक आइडीमा भेटिने भिडियोलाई अग्रेजी भाषामा ‘वीरगंज-रक्सौल सीमा लिफ्ट कार काण्ड’ भन्दै चिनाइएको छ । लिफ्ट मागेर गाडीभित्र बसेकी एक युवतीले चालकलाई आफूसँग भएको सबै कुरा दिन धम्की दिइरहेकी हुन्छिन् र नदिए ‘चिच्याइदिने’ धम्की पनि दिइरहेकी हुन्छिन् तर गाडी चलाइरहेका व्यक्तिले केही नदिने अडान राखिरहेका हुन्छ ।

हिन्दी भाषामा भएको वार्तालाप यस्तो छ :
युवती : तैँले लगाइरहेको सबै निकाल, पैसा निकाल ।
गाडी चलाइरहेको व्यक्ति : एक मिनेट..एक मिनेट…पछाडि…
युवती : के !
गाडी चलाइरहेको व्यक्ति : के !
युवती : पैसा निकाल नत्र अहिले भर्खरै चिच्याउन थाल्छु फेरि ।
गाडी चलाइरहेको व्यक्ति : किन चिच्याउछेस् ?
युवती : तैँले मलाई लगेर दुर्व्यवहार गरिरहेको…
गाडी चलाइरहेको व्यक्ति : ए,यही कामको लागि लिफ्ट लिएको ?
युवती : दिमाग खराव नगर खुरुक्क पैसा निकाल ! (झ्यातिर फर्किदै)
गाडी चलाइरहेको व्यक्ति : एक मिनेट ! बिस्तारै..
युवती : म चिच्याउन थाल्छू अनि तेरो बिस्तार निस्किन्छ…
गाडी चलाइरहेको व्यक्ति : धम्की दिएको…?
युवती : हो, धम्की दिएको के गर्छस् ?
गाडी चलाइरहेको व्यक्ति : लिफ्ट लिएर यही काम गर्छेस् तँ ?
युवती : अँ, म यही काम गर्छु !
गाडी चलाइरहेको व्यक्ति : म दिन्न
युवती : तँ दिन्छस् ।
गाडी चलाइरहेको व्यक्ति : यसरी कसरी लिन सक्छेस् तँ मेरो पैसा ?
यतिकैमा भिडियो सकिन्छ ।
दुई जनाबीचको वार्तालाप रहेको यो भिडियोलाई वीरगंज-रक्सौल सीमा क्षेत्रमा भएको घटनाका रुपमा प्रस्तुत गरिएको छ । ३ डिसेम्बरमा पोस्ट भएको यो भिडियोमा एक हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । भिडियोको थमलेनमा अंग्रेजी र हिन्दी भाषामा एउटा जानकारीसमेत दिइएको छ । त्यहाँ लेखिएको छ,‘वीरगंज-रक्सौल सीमा लिफ्ट कार काण्ड : यस्ता युवतीले सम्पूर्ण नारीलाई अपमानित गरिरहेका छन्, सोचेर सम्झेर कसैलाई सहयोग गर्नुहोस् ।’
नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुमाझ यो दाबीसहितको भिडियो फैलिरहेको र भिडियोमा गरिएको दाबी नेपालसँग पनि जोडिएका कारण हामी यो भिडियोमाथि तथ्यजाँच गरेका छौँ ।
तथ्य जाँच / प्रमाणीकरण
वीरगंज नेपालकै ठूलो शहरमध्येको एउटा शहर हो । पर्सा जिल्लामा पर्ने यो प्रसिद्ध शहरसँगै नेपाल-भारत रक्सौल नाका जोडिएको छ । सामाजिक संजालमा भेटिएको माथिको भिडियोमा गरिएको दाबी पनि यही वीरगंज-रक्सौल नाकासँग जोडिएको छ ।
माथि देखाइएको घटना वीरगंज हुँदै भारतको रक्सौलसम्म पुग्ने सडकमा यो घटना घटेको दाबी भिडियोमा छ । भिडियोमा गरिएको दाबी जाँच गर्दा केही स्रोतहरू भेटिए । ती स्रोतहरूले टिकटक भिडियोमा गरिएको दाबीभन्दा अलग तथ्य अगाडि राखेका छन् ।
Engineers official नामक युट्युब च्यालनले दुई महिनाअघि टिकटकमै देखाइएको पोस्ट गरिएको थियो । ३ अक्टोबारमा पोस्ट भएको उक्त भिडियो टिकटकको भिडियोभन्दा ३ मिनेट लामो छ । यो युट्युबमा पोस्ट गर्दा हेडलाइमा ती युवतीलाई ‘दिल्ली गर्ल’को रुपमा चिनाइएको छ । ३ मिनेट ४० सेकेन्ट लामो उक्त भिडियोमा हेडलाइन राखिएको छ,‘Be aware| ये नया धंदा बना लिया अब ।Delhi girl asking lift then asking money| Big fraud’
सडकमा गुडिरहेको गाडीलाई एक युवतीले लिफ्ट माग्छिन् र गाडी अगाडि बढेपछि ती युवती र गाडी चलाइरहेको व्यक्तिबीच सामान्य कुराकानी हुन्छ । त्यसपछि अचानक युवतीले ‘तैँले लगाइरहेको सबै निकाल, पैसा निकाल’ भनेपछि दुबैबीच विवाद हुन्छ ।
हो, यही दृश्यलाई टिकटकमा राखेर ‘वीरगंज-रक्सौल सीमा लिफ्ट कार काण्ड’का रुपमा देखाइएको छ । पछि युवतीले गाडीमा भिडियो रेकर्ड भइरहेको थाहा पाउँछिन् र गाडीमा रहेका व्यक्तिहरूले ती युवतीलाई धम्की दिएर गाडीबाट उतारिदिन्छन् । यो दृश्य टिकटकमा देखिएको छैन ।
उक्त भिडियो पोस्ट गर्ने युट्युब च्यानलले ‘दिल्ली गर्ल’ बाहेक घटना भएको स्थानबारे खुलाएको छैन । अर्कोतर्फ भिडियोमा देखिएको घटना वास्तविक घटना हो कि होइन भन्ने विषय प्रष्ट भएको छैन । किनकि यो युट्युब च्यानल वास्तविक घटनाप्रधान च्यानल होइन । यो च्यानलले आफ्नो बारेमा अंग्रेजी भाषामा लेखेको छ,‘धेरै हाँस्नुहोस् र खुसी हुनुहोस् ।’
साथै उक्त युट्युब च्यानलले यो भिडियो जागरुकताका लागि पोस्ट गरेकोसमेत स्वीकारेको छ । भिडियोको डिस्क्रिप्सनमा लेखिएको छ,‘यस्ता युवतीहरुसँग सचेत हुनुहोस् । त्यसैले मानिसहरू अहिले लिफ्ट दिन पनि डराउँछन् । यो भिडियो तपाईँको जागरूकताको लागि अपलोड गर्दै सुरक्षित रहनुहोस् साथीहरू ।’
यही भिडियो अर्को युट्युब च्यानलले पनि अपलोड गरेको देखिन्छ । Rao sharad vlog नामक उक्त युट्युब च्यानलले १ मिनेटको अपूरो भिडियो पोस्ट गरेको हो । माथिको च्यानलभन्दा ढिलागरी पोस्ट गएको यो भिडियोको हेडलाइन पनि उस्तै नै छ । हेडलाइन छ,‘delhi girl asking lift then asking money for fraud’
टिकटकमा फैलिरहेको भिडियोको मूल स्रोत युट्युबमा भेटिएका भिडियोहरू नै हुन् भन्ने प्रमाणित भइसकेको छ । ती स्रोतहरूलाई आधार मान्ने हो भने यो भिडियो वीरगंज-रक्सौल सडकको होइन भन्ने प्रष्ट हुन्छ । तर, सबैभन्दा पहिले पोस्ट गरिएको भिडियोमा च्यानलका केही दर्शकले ‘स्क्रिप्टेड’को शंज्ञा दिँदै कमेन्ट गरेका छन् । अरु स्रोतहरू नभेटिँदा भिडियोमा देखिएको घटना वास्तविक हो कि हैन भन्ने विषय पुष्टि भएन ।
निष्कर्ष :
वीरगंज-रक्सौल सीमा लिफ्ट कार काण्ड भनेर भिडियोमा गरिएको दाबी सत्य होइन । भिडियोमा देखाइएको वार्तालाप भारतको राजधानी दिल्ललीमा घटेको घटनामा आधारित रहेको केही स्रोतहरू भेटिए । तर, भिडियोमा देखाइएको घटना वास्तविक हो कि सचेतनाका लागि बनाइएको हो भन्ने कुरा पुष्टि हुन सकेन ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
Engineers official : Delhi girl asking lift then asking money
Rao sharad vlog : delhi girl asking lift then asking money for fraud
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co