भिडियोको केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा सामग्री फैलिरहेको देखिन्छ । उक्त सामग्रीमा दुईवटा भिडियो जोडिएको छ । पहिलो भिडियोमा भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती बौद्ध धर्मगुरु दलाई लामा रोएको देखिन्छ । त्यस्तै दोस्रो भिडियोमा एक नेपाली भिक्षु देखिएका छन्, जसलाई नेपाली अभिनेत्रीमाथि अभद्र व्यवहार (दुर्व्यवहार) गरेको आरोप लागेको छ ।
Santoshgole नामक टिकटक प्रयोगकर्ताले पोस्ट गरेको सामग्रीमा दलाई लामा रोएको र अभिनेत्री मिरुना मगरले भिक्षुमाथि दुर्व्यवहारको आरोप लगाइरहेको दृश्य देखिन्छ । भिडियोको थमनेलमा ‘justice for lama’ लेखिएको छ र भिडियोमा दलाई लामा रोएको आवाजसमेत सुनिन्छ । यसबाट के प्रष्ट हुन्छ भने अभिनेत्री र भिक्षुसँग सम्बन्धित घटनाका विषयमा दलाई लामा रोएको भान पार्न खोजिएको छ ।

प्रस्तुत भिडियोको फैलावट व्यापक छ । पोस्ट भएको ४ दिनमै उक्त सामग्रीमा १ लाख ५८ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने उक्त सामग्रीलाई सेयर गर्ने प्रयोगकर्ताको संख्या करिब १५ सय रहेको छ ।
यतिमात्र होइन, दलाई लामा रोएको आवाजबाट २ सय १९ भन्दा बढी सामग्री पुनर्उत्पादन गरिएको छ । हेर्नुहोस् उक्त पुनर्उत्पादित सामग्री :

तथ्यजाँच/प्रमाणीकरण
प्रस्तुत सामग्रीको तल्लो भिडियोमा भिक्षु पहिरनमा देखिने व्यक्ति फुर्वा लामा हुन् । उनीमाथि गत जेठ १५ गते ‘कबड्डी ४ : द फाइनल म्याच’ चलचित्र कि अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो । दर्शकसँग साक्षात्कार गर्ने क्रममा काठमाडौँस्थित सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको आरोप लामामाथि लागेको छ ।
आरोपसँगै भिक्षुमाथि हातपात गरिएको भन्दै लामा सामुदाय लगायत केही अभियान्ताहरूले अभिनेत्री मगरलाई बहिस्कार गर्न आन्दोलनसमेत गरेका थिए । विरोधपछि दुबै पक्षबीच सहमति भयो र आरोपी लामा प्रहरी हिरासतबाट रिहा भए । यही सेरोफेरोमा सामाजिक संजालमा बौद्ध धर्मगुरु दलाई लामा रोएको भिडियो सामाजिक संजालमा फैलियो ।
के दलाई लामा रोएको भिडियो नेपालमा भर्खरै घटेको दुर्व्यवहारको घटनासँग सम्बन्धित छ त ? दुबै दृश्यलाई एकै ठाउँमा जोडिएको र त्यहाँ लामाका लागि न्याय मागिएको छ । जसका कारण हामीले दलाई लामा रोएको भिडियोको वास्तविकता पत्ता लगाउन चह्यौँ । सबैभन्दा पहिले न्युजचेकरले दलाई लामा रोएको दृश्यको मूल भिडियो पत्ता लगाउने काम थाल्यो ।
‘दलाई लामा रोए’ लगायतका नेपाली अंग्रेजी वाक्यांकलाई हामीले विभिन्न सामाजिक संजालमा सर्च गर्यौँ । जसको फलस्वरुप दलाई लामा रोएको भिडियो फेला पर्यो । Psykedelia नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियोमा दलाई लामा रोएको भिडियो पोस्ट गरिएको छ । २१ जुलाई २०११ मा पोस्ट गरिएको उक्त भिडियोमा बुद्धचित्त अवधारणामाथि प्रवचन दिँदै गर्दा दलाई लामा रोएको जानकारी दिइएको छ । दलाई लामा रोएको उक्त भिडियो २०११ मा खिचिएकोसमेत त्यहाँ जानकारी दिइएको छ ।
प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने नेपालको भिक्षु-अभिनेत्री विवाद र दलाई लामा रोएको भिडियोबीच कुनै सम्बन्ध छैन । दलाई लामा धेरै वर्षअघि अर्कै सन्दर्भमा रोएका हुन् भने नेपालमा अभद्र व्यवहारको घटना भर्खरै घटेको हो ।
निष्कर्ष :
फुर्वा लामा-अभिनेत्री मिरुना मगरको विवाद र दलाई लामा रोएको प्रसंगबीच कुनै सम्बन्ध छैन । दुबै भिडियोलाई एकै ठाउँमा राखेर ‘justice for lama’ लेख्नुले प्रस्तुत टिकटक सामग्रीलाई भ्रामक तुल्याएको छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
Psykedelia : Dalai Lama’s started crying while teaching Bodhicitta
Onlinekhabar : Accused of abusing a monk
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co