सामाजिक संजालमा विविध सन्दर्भ अनुसार फरक-फरक भ्रामक सूचनाहरू फैलिरहेका छन् । यस्ता भ्रामक सूचनाहरूबाट आम सामाजिक संजाल प्रयोगकर्ताहरूले हैरानी व्यहोर्नुपरेको गुनासो व्यापक छ । इन्टरनेट माध्यमहरूमा फैलिएका यस्ता भ्रामक सूचनाले सार्वजनिक तथा सर्चित व्यक्तिहरूलाई त झनै समस्यामा परेको देखिन्छ । यही सेरोफेरोमा भ्रामक सूचनाबाट प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री नै अछुतो रहन नसकेको तथ्य न्युजचेकरले फेला पारेको छ ।
३ अप्रिल २०२२ मा Global TV HD को युट्युब च्यानलमा एउटा रिपोर्ट पोस्ट गरियो, जसमा नेपाली नेताहरूको खेल रुचीबारे जानकारी दिइएको छ । उक्त रिपोर्टमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले क्यारेम बोर्ड खेलेको र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टेवल टेनिस खेलेको प्रसंग पनि राखिएको छ ।
ओलीले क्यारेम बोर्ड खेलेको प्रसंग झिक्दै रिपोर्टमा भनिएको छ-
‘टंकी हानेर गाेटी खाने ओलीले चक्मा दिन खोजेको अरुलाई होइन, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई हो । उनको यो भिडियो सार्वजनिक भए लगत्तै माओवादी अध्यक्ष दाहालको पनि नयाँ भिडियो सार्वजनिक भएको छ । जसरी ओलीले खतरनाक क्यारेम बोर्ड खेलेका छन्, प्रचण्डले पनि उत्तिकै सट हानेका छन् टेवल टेनिसमा । अर्थात् क्यारेम बोर्डको जवाफ टेवल टेनिसले दिएका छन्’
#विद्रोह नामक टिकटक आइडीमा पोस्ट भएको भिडियोमा पनि पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टेवल टेनिस खेलिरहेको दृश्य देखिन्छ । भिडियोको थमनेलमा दाहालले उक्त टेवल टेनिस खेल खेल्नुको कारणबारे खुलाइएको छ ।
भिडियोमा राखिएको थमनेलमार्फत् पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले क्यारेम बोर्ड खेलेपछि दाहालले टेवल टेनिस खेलेको दाबी गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ, ‘केपी ओलीले Carrom Board को गोटीलाई आफू सम्झेर हानेको थाहा पाएपछि प्रचण्डले पनि kp oli लाई table tennis ball सम्झेर हानेका छन् ।’

केही दिनअघि पूर्वप्रधानमन्त्री ओलीले क्यारेम बोर्ड खेलेको भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियो सार्वजनिक भएसँगै दाहालले पनि टेवल टेनिस खेलेर देखाइदिए भन्ने भावका समाचार र अन्य सामग्रीहरू सामाजिक संजालमा फैलिरहेका छन् । तर, दाबीसहितको सामग्रीमा ‘नयाँ भिडियो’ भन्दै फैलाइएको टेवल भेनिस खेलको भिडियो अहिलेको होइन ।
अर्कोतर्फ पछिल्लो केही समयदेखि सामाजिक संजालमा अर्को सामग्री देखा परेको छ । जसमा नेपालका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दुखद् निधन भएको दाबी गरिएको छ । #ishwarbajgai2 नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियोमा देउवाको हत्या अमेरिकाले गोली हालेर गरेको भन्ने दाबीसमेत देखिन्छ । भिडियोको थमनेलमा लेखिएको छ, ‘अमेरिकाले शेरबहादुर देउवालाई गोली हानी मारेको छ, राति १ बजे ललितपुर कुपन्डेलको ईट्टाभट्टामा अन्त्यष्टि गरिँदै ।’
दुई साताअघि पोस्ट गरिएको यो सामग्रीको फैलावट व्यापक देखिन्छ । भिडियोमा ८ हजार ५ सय टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने १ सयभन्दा बढी प्रयोगकर्ताले सेयर गरिसकेका छन् । त्यस्तै भिडियोमा कमेन्ट गर्ने टिकटक प्रयोगकर्ताको सख्या ६ सयभन्दा बढी छ ।

मुलुककै उच्च ओहोदामा रहिसकेका र रहेका व्यक्तिहरूलाई जोडेर गरिएका साना-साना दाबीले विशेष महत्व राख्छ । यस्ता सामग्री जुनसुकै भावसहित इन्टरनेटमा फैलाइएपनि यसले दीर्घकालमा अर्को भ्रामक सामग्री उत्पादनलाई प्रोत्साह गर्छ । त्यसैले न्युजचेकरले यी दुई सामग्रीमाथि तथ्यजाँच गर्ने जमर्को रहेको छ ।
तथ्यजाँच/प्रमाणीकरण
केही दिनअघि पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले क्यारेम बोर्ड लेखेको भिडियो सार्वजनिक भयो । एमालेका नेता-कार्यकर्ताले प्रधानमन्त्रीको खेललाई खुलेरै प्रसंशा गरे । हेर्नुस्, भिडियो । यही सेरोफेरोमा सामाजिक संजाल अर्को भिडियो पनि फैलियो । उक्त भिडियोमा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टेवल टेनिस खेलिरहेको दृश्य देखिन्छ ।
अघिल्लो निर्वाचनमा एकै ठाउँमा रहेर चुनावी अभियानमा होमिएका ओली र दाहाल यस पटक फरक-फरक गठजोडका नेता हुन् । दाहाल सत्ता गठबन्धनका नेता हुन् भने ओलीले एमालेलाई ‘बहुमत दिलाउन’ देश दौडाहाको अभियानमा होमिएका छन् । यसपटकको निर्वाचनमा दुबै नेता एक अर्काका प्रतिष्प्रर्धीको रुपमा चुनावी अभियानमा देखा परेका छन् ।
यही बेला ओलीले क्यारेम बोर्ड खेलेको दृश्य बाहिरिएसँगै दाहालले टेनिस खेलेको भिडियो सामाजिक संजालमा फैलियो । दाहालले ओलीलाई क्यारेम बोर्डको जवाफ दिन टेवल टेनिस खेल देखाएकोसमेत दाबी गरियो । Global TV HD ले आफ्नो रिपोर्टमा ‘नयाँ भिडियो सार्वजनिक’ भन्दै दुईवटा भिडियो क्लिप देखाएको छ । यी दुबै भिडियो नयाँ भने होइनन्, यी दुई भिडियो ४ वर्ष पुराना रहेको तथ्य हामीले पत्ता लगायका छौँ ।

२०७४ सालको अन्तर्राष्ट्रिय टेबुल टेनिस दिवसान टेबल टेनिस एशोसिएसन ललितपुरले आयोजना गरेको कार्यक्रममा दाहालले टेबल टेनिस खेलेका थिए । सामाजिक संजालमा प्रचण्ड, टेवल टेनिस लगायतका किवर्ड सर्च गर्दा ६ अप्रिल २०१८ मा राष्ट्रनायक क. प्रचण्ड नामक फेसबुक पेजमा उक्त भिडियो पोस्ट भएको तथ्य भेटिएको हो । चार वर्षअघिको यही भिडियो अहिले सामाजिक संजालमा फैलाइएको हो ।
चार वर्षअघि नै Deshsanchar को युट्युब च्यानलमा पोस्ट भएको भिडियो
रिपोर्टमा नयाँ भनेर प्रयोग गरिएको अर्को भिडियो पनि चार वर्ष पुरानो नै हो । १८ मे २०१८ मा Sikka Suwal Shrestha को युट्युब च्यानलमा पोस्ट भएको भेटिने उक्त भिडियोलाई नै Global TV HD ले आफ्नो रिपोर्टमा ‘नयाँ भिडियो सार्वजनिक’ भन्दै भ्रामक दाबीका साथ प्रस्तुत गरेको हो ।
चार वर्षअघिको मूल भिडियो :
यो तथ्यले के प्रष्ट हुन्छ भने ओलीले खेलेको क्यारेम बोर्डको जवाफ दिन दाहालले टेवल टेनिस खेलेका होइनन्, चार वर्षअघिको भिडियो राखेर उल्लेखित दाबी गरिएको छ । यो तथ्यले सामाजिक संजाल गरिएको दाबी भ्रामक पुष्टि हुन्छ । किनकि, दुबै प्रधानमन्त्रीले आ-आफ्नो रुची अनुसारका खेल फरक-फरक सन्दर्भमा खेलेका हुन् ।
अर्कोतर्फ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दुखद् निधन भएको दाबी पनि भ्रामक छ । प्रधानमन्त्री देउवाले आजका दिनसम्म सक्रियरुपमा मुलुकको शासनसत्ता संचालन गरिरहेका छन् ।
निष्कर्ष
एमाले अध्यक्ष ओलीको क्यारेम बोर्ड खेललाई जवाफ दिन माओवादी केन्द्रका अध्यक्ष दाहालले टेवल टेनिस खेलेको दाबीसहित प्रस्तुत गरिएको भिडियो चार वर्ष पहिलेको हो । दुबै भिडियो एकअर्कासँग सम्बन्धित छैनन् । अर्कोतर्फ प्रधानमन्त्री देउवालाई अमेरिकाले गोली प्रहार गरेको छैन र उनको निधन पनि भएको छैन ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co