प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फैलिएको छ, जसमा पुष्षकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिभन्दा राजा नै ठिक रहेको भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ ।
फेसबुक, टिकटक र इन्टाग्राममा फैलिएको दाबीसहितको सामग्रीमा पुष्षकमल दाहाल ‘प्रचण्ड’ बोलिरहेको दृश्य देखिन्छ । उक्त भिडियोमा अंशमा प्रचण्डले भनेका छन्- ‘अहिले राष्ट्रपती भनेको संस्था त यति…त्यो भन्दा त राजाहरु भन्दा खेरी त एउटा थियो नि, एउटा शान अहिले त शान पनि छैन मान पनि छैन इज्जत पनि छैन, कस्तो…।’
Kbtamang नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा उल्लेखित प्रचण्डको भिडियो जोडिएको छ । उक्त भिडियोमा रहेको थमनेलमा पुष्षकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति हटाएर राजा ल्याउने मनस्थितिमा रहेको दाबी गरिएको छ । थमनेलमा लेखिएको छ- ‘राष्ट्रपति हटाएर राजा ल्याउने मनस्थितिमा प्रचण्ड, आखिर प्रचण्ड पनि राजावादी नै रहेछ त ।’
एक दिनअघि अर्थात् बुधबार पोस्ट गरिएको दाबीसहितको सामग्रीमा १ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने उक्त सामग्रीलाई करिब ४० टिकटकले सेयर गरिसकेको देखिन्छ ।

त्यस्तै प्रस्तुत सामग्री फेसबुक र इन्टाग्राममा पनि फैलिएको देखिन्छ । nabin7247 नामक इन्टाग्राम आइडीमा पोस्ट गरिएको भिडियोलाई फेसबुक रिलमा समेत राखिएको छ । यो भिडियोको थमनेलमा पनि पुष्षकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति भन्दा राजा ठिक रहेको अभिव्यक्ति दिएको दाबी गरिएको छ । थमनेलमा भनिएको छ- ‘राष्ट्रपति भन्दा राजा ठिक भन्छ, बुढो बाैलाएछ ।’
प्रस्तुत सामग्रीमा करिब ७ हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् भने यो सामग्रीलाई एक हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने सामाजिक संजालमा माथि उल्लेखित सामग्रीको फैलावट व्यापक छ ।

प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ले नै राष्ट्रपतिको स्थानमा राजालाई रोज्नु संविधानको स्पीरिट विपरित हुन्छ । यही कारण प्रस्तुत सामग्री अत्यन्तै संवेदनशील छ र सोही संवेदनशीलतालाई ध्यानमा राख्दै हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
माथि उल्लेखित सामग्रीमा पुष्षकमल दाहाल ‘प्रचण्ड’ले भाषण गरिरहेको भिडियो अंश देख्न सकिन्छ । सोही भिडियोमा नेपालका प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिभन्दा राजा नै ठिक रहेको भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ । त्यसैले हामीले सुरुमै पुष्षकमल दाहाल ‘प्रचण्ड’ले गरेको भाषणको मूल अंश पत्ता लगाउने कोशिस गर्यौँ ।
भाषणको मूल अंश पत्ता लगाउने क्रममा हामीले केही वाक्यांश तयार पार्यौँ । ती वाक्यांश मध्ये ‘राष्ट्रपति राजा प्रचण्ड’लाई हामीले युट्युबमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप सगरमाथा टेलिभिजनको युट्युब च्यानल (Sagarmatha TV) मा पोस्ट गरिएको भिडियो फेला पर्यो ।
एक वर्षअघि अर्थात् जनवरी २०२१ मा पोस्ट गरिएको उक्त सामग्रीमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको मूल भिडियो देख्न सकिन्छ । फेला परेको भिडियो रिपोर्ट वर्तमान सन्दर्भसँग मेल नखाने फरक सन्दर्भको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा संसद् पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका विपक्षी गठबन्धनका शीर्ष नेताहरूले मिडियाका सम्पादकहरूसँग अन्तर्क्रिया गरेका थिए ।
१० असार २०७८ मा आयोजित उक्त अन्तर्क्रियामा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ले पनि सम्बोधन गरेका थिए । उक्त सम्बोधनमा पुष्षकमल दाहाल ‘प्रचण्ड’ले भनेका छन्-
‘हुँदाहुँदा राष्ट्रपति कार्यलय, सबैले अभिभावक भनेर संविधानको संरक्षक भनेर, अँझ झन् म त महिलालाई अगाडि सर्ने भनेर..(हाँसो)…महिलाअघि सार्ने भाको त हेर्नूस त अहिले राष्ट्रपति कस्तो भयो, अहिले राष्ट्रपनि भनेको संस्था त यति….त्यो भन्दा त..राजाहरू भन्दा खेरी त एउटा थियो नि, एउटा शान अहिले त शान पनि छैन मान पनि छैन इज्जत पनि छैन कस्तो ।’
पुष्षकमल दाहाल ‘प्रचण्ड’ले बोलेको उक्त अभिव्यक्ति दिएको समयमा मुलुकमा केपी शर्मा ओली प्रधानमन्त्री थिए । दाबीसहितको सामग्रीमा भने प्रधानमन्त्री पदमा रहेकै बेला पुष्षकमल दाहाल ‘प्रचण्ड’ले नै उक्त अभिव्यक्ति दिएको दाबी गरिएको छ । तर, यो अभिव्यक्ति दिँदा पुष्षकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नभई माओवादी केन्द्रका अध्यक्ष मात्रै थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई लिएर प्रश्न गरेका थिए । वर्तमान समयमा पुष्षकमल दाहाल ‘प्रचण्ड’ मुलुकको प्रधानमन्त्री पदमा छन् भने राष्ट्रपति पदमा राष्ट्रपति विद्यादेवी भण्डारी नभई रामचन्द्र पौडेल आसिन छन् ।
फेला परेका तथ्यहरूबाट के पुष्टि हुन्छ भने मुलुकको प्रधानमन्त्री पदमा केपी शर्मा ओली र राष्ट्रपति पदमा विद्यादेवी भण्डारी रहेका बेला तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिमाथि भ्रामक दाबी गरिएको छ ।
निष्कर्ष
प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ ‘राष्ट्रपति हटाएर राजा ल्याउने मनस्थितिमा रहेको दाबी गलत छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिभन्दा राजा नै ठिक भन्ने अभिव्यक्ति दिएको दाबी भ्रामक छ । मुलुकको प्रधानमन्त्री पदमा केपी शर्मा ओली र राष्ट्रपति पदमा विद्यादेवी भण्डारी रहेका बेला तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिलाई तोडमोड गर्दै भ्रामक दाबी गरिएको छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co