Tuesday, April 30, 2024
Tuesday, April 30, 2024

HomeFact Checkअकबरे खुर्सानीले अपच र माइग्रेनको समस्या सामधान गर्छ ?

अकबरे खुर्सानीले अपच र माइग्रेनको समस्या सामधान गर्छ ?

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा सामग्री फेला परेको छ । उक्त सामग्रीमा अकबरे खुर्सानीले माइग्रेनको समस्या सामधानका लागि उत्तम मानिने र खाना पचाउने प्रणालीमा विशेष सहयोग पुर्‍याउने दाबी गरिएको छ । 

Official_Baskar3 नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा एउटा भिडियो देखिएको छ । जहाँ अकबरे खुर्सानीहरूको तस्बिर राखिएको छ । प्रस्तुत सामग्रीमा सुनिने अडियोको एउटा अंश यस्तो छ : 

​​ अकबरे खुर्सानी नियमित सेवन गर्दा स्वास्थ्यलाई हुने फाइदाहरू के-के हुन् ?  यो सम्बन्धी जानकारीहरू ल्याएर आएका छौँ । नेपाललाई विश्वमै परिचित खानामध्ये एक हो, अकबरे खुर्सानी । यो खुर्सानी संसारमा कतैपनि नपाइने र पाइहाले पनि नेपालको जस्तो पिरो र स्वादिलो हुँदैन । यो खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि चिनिन्छ । अकबरे खुर्सानी नियमित सेवन गर्दा स्वास्थ्यलाई हुने फाइदाहरू के-के हुन् त ? अकबरे खुर्सानीले खाना पचाउने प्रणालीमा विशेष सहयोग पुर्‍याएको हुन्छ । माइग्रेनको समस्या सामधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ । 

मानव स्वास्थ्यसँग सम्बन्धित प्रस्तुत सामग्रीको फैलावट पनि व्यापक छ । उक्त सामग्रीमा करिब २३ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने ५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले दाबीसहितको सामग्रीलाई सेयर गरिसकेका छन् । 

दाबीसहितको सामग्रीमा अन्य थुप्रै दाबीहरू गरिएको छ । तर, यस सामग्रीमा हामीले दुइवटा दाबीमाथि मात्रै जाँच गरेका छौँ । मानव स्वास्थ्य जस्तो गम्भिर विषयसँग सम्बन्धित रहेकाले हामीले प्रस्तुत सामग्रीमाथि तथ्यजाँच गरेका हौँ ।   

तथ्यजाँच/प्रमाणीकरण

नेपालमा खेती हुने एक प्रकारको खुर्सानी हो, अकबरे खुर्सानी । यो खुर्सानी क्याप्सिकम चिनेन्स बिरुवामा फल्ने गर्दछ । सन् २०१७ मा गिनिज वर्ल्ड रेकर्ड्सले अकबरे खुर्सानीलाई संसारको सबैभन्दा पीरो खुर्सानीका रुपमा घोषणा गर्‍यो ।

अकबरे खुर्सानीमा रहेको क्याप्साइसिनले अपचको समस्यालाई निको पार्नुको सट्टा अपचलाई बल्झाउने उपलब्ध प्रमाणहरूमा उल्लेख छ । अकबरे खुर्सानी खाँदा मुटु पोल्ने र एसिड रिफ्लक्सको समस्या हुन सक्छ।

फेला परेका उपलब्ध प्रमाणका अनुसार अकबरे खुर्सानीले माइग्रेनका लक्षणहरूलाई निश्चित हदसम्म कम गर्न सक्छ । यद्यपि, यसको विस्तृत प्रक्रियाबारे बुझ्न हामी असमर्थ रह्यौँ । किनकि अकबरे खुर्सानीले मानिसको टाउको दुख्ने बनाएको CNN ले प्रकाशित गरेको रिपोर्टमा उल्लेख छ ।  

प्रस्तुत दाबीका बारेमा हामीले आकाश अस्पताल, द्वारका, दिल्लीमा अभ्यास गरिरहेका ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा. शरद मल्होत्रासँग परामर्श गर्‍यौँ ।

उनी भन्छन्- ‘ग्यास्ट्रोइन्टेस्टाइनल समस्याहरूका लागि धेरै घरेलु उपचारहरू रहेका छन् । यद्यपि, त्यस्ता कुनै पनि उपचारहरूले पूर्णत: सामधानकै काम गर्छन् भन्ने छैन ।’ 

निष्कर्ष

अकबरे खुर्सानीले माइग्रेनका लक्षणहरूलाई निश्चित हदसम्म कम गर्न सक्ने प्रमाण भेटिएका छन् । अर्कोतर्फ अकबरे खुर्सानीले मानिसको टाउको दुख्ने समस्या निम्त्याएकोसमेत मिडिया रिपोर्ट प्रकाशित भएको देखिन्छ । त्यस्तै यो खुर्सानीले अपचको समस्या निको पार्ने नभई अपचलाई बल्झाउन सक्ने प्रमाणहरू भेटिएका छन् ।  

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू 

CNN

Sciencedirect

Researchgate

Guinnessworldrecords

National Library of Medicine


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular