सन् २०२२ मा विश्व सँगसँगै नेपालभित्र विविध खालका गतिविधिसँगै अनेक घटनाहरू घटे । युक्रेन–रुस युद्धदेखि विश्वकपसम्म, श्रीलंका संकटदेखि संसारभरी निम्तिएको प्राकृतिक विपत्तिसम्म, नेपालमा भएका विभिन्न तहका निर्वाचनदेखि मनसुनी बिपत्तिसम्म, विमान दुर्घटनादेखि नेपाल-भारत सीमा समस्यासम्मका अनेक सूचनाहरू सामाजिक संजालसँगै संचारमाध्यम तथा इन्टरनेटमा मा फेला परे । फेला परेका तथा फैलिएका ती सबै सूचनाहरू सत्य थिएनन् । २०२२ मा फैलिएका सत्य एवं मिथ्या सूचनाको एउटा साक्षीका रुपमा न्युजचेकर नेपालले कयौँ तथ्यजाँच प्रकाशित गर्दै आफ्नो कर्तव्य निर्वाह गरिरह्यो । सन् २०२२ मा हामीले प्रकाशित गरेका केही महत्वपूर्ण तथ्यजाँच रिपोर्टहरू यस्ता छन् :

रुस-युक्रेन युद्ध : नेपालीमा भ्रामक सूचनाको लहरो
सन् २०२२ मा रुस-युक्रेन युद्ध सुरु भयो । युद्धकै विषयमा देश-विदेशका सामाजिक संजाल प्रयोगकर्ताले चर्चा परिचर्चा गरिरहे । यही क्रममा रुस-युक्रेन युद्धसँग सम्बन्धित सूचनाहरू नेपालमा पनि फैलिएका थिए । न्युजचेकरले रुस-युक्रेन युद्ध केन्द्रीत सूचनाहरूलाई विशेष ढंगले नियालिरह्यो । जसको परिणाम स्वरुप भ्रामक सूचनाको एउटा लहरो हामीले फेला पार्यौँ । उक्त सूचनाको लहरोमा रुस-युक्रेन युद्धमा नेपाल र नेपाली सेना (गोर्खाली सेना)को संलग्नताबारे बताइएको छ । तर, प्रस्तुत दाबी भ्रामक थियो । रिपोर्ट पढ्नुहोस् ।

श्रीलंका संकट : एउटा तस्बिर, जो नेपालसम्म आइपुग्दा भ्रामक बन्यो
आर्थिक संकटमा फसेको मुलुक श्रीलंकामा यस वर्ष सरकारविरुद्ध ठूला र हिंस्रक आन्दोलन भए । यही क्रममा प्रदर्शनकारी र सरकार समर्थकबीच लामो समयसम्म झडप भइरह्यो । ती प्रदर्शन र झडपहरू भइरहेका बेला नेपालमा एउटा दाबीसहितको तस्बिर सामाजिक संजालमा फैलियो । उक्त तस्बिरमा आक्रमण व्यहोरिरहेका व्यक्ति त्यहाँका सांसद रहेको दाबी गरिएको थियो । न्युजचेकरको तथ्यजाँचमा उक्त तस्बिरमा कुटाई खाइरहेका व्यक्ति एक पादरी हुन् र उनलाई प्रदर्शनकारीले कुटेका होइनन् भन्ने तथ्य खुलेको थियो । रिपोर्ट पढ्नुहोस् ।

विश्वकप : मेस्सी र अर्जेन्टिनाको बैंक नोट
सन् २०२२ को विश्वकप विजेता मुलुक अर्जेन्टिना र विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका लियोनेल मेस्सीको चर्चा नेपालमा पनि भयो । यही क्रममा मेस्सीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिरअंकित बैंक नोट जारी गरेको समाचार नेपाली संचारमाध्यम तथा सामाजिक संजालमा फैलियो । दाबीसहितको सूचना नेपालमा फैलिएको एक घण्टामै हामीले तथ्यजाँच रिपोर्ट प्रकाशित गर्यौँ । यस्तो थियो हाम्रो निष्कर्ष – ‘लियोनेल मेस्सीको तस्बिर अंकित बैंक नोट जारी गर्ने विषयमा अर्जेन्टिनाका वित्तीय अधिकारीहरूले छलफल गरिरहेका छन् तर तस्बिर अंकित बैंक नोट जारी भइसकेको छैन । यही सन्दर्भमा बैंक नोट जारी भन्ने दाबी भ्रामक बनेको छ ।’ रिपोर्ट पढ्नुहोस् ।

मनसुनी विपद् : भ्रामक दृश्यहरूको बाढी-पहिरो
अघिल्ला वर्षभन्दा यस वर्ष मनसुन छिट्टै सुरु भयो । प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेश हुँदै नेपालमा मनसुन भित्रिएको मनसुनले नेपालमा बाढी, पहिरो र डुबानको त्रास पुन: बढायो । यही सन्दर्भमा सामाजिक संजालमा बाढी-पहिरो र डुबालका भिडियोहरू देखिन थाले । सामाजिक संजालमा पोस्ट गरिएका केही भिडियोहरू पूराना रहेको पाइयो । जसले मानिसहरूमा भ्रमित तुल्यायो । रिपोर्ट पढ्नुहोस् ।

भ्रामक दाबीसहित फैलिएको एउटा तस्बिरमाथि जाँच
तस्बिरमा एक व्यक्ति देखिएका छन्, जसको पूरा शरीर ढलमा डुबेको छ । ती व्यक्तिको टाउको मात्र ढलको फोहर पानी बाहिर निस्किएको देखिन्छ । ढलमा डुबेका ती व्यक्ति श्रीलंकाका नेता रहेको र ती नेतालाई श्रीलंकाका नागरिकले ढलको फोहर पानीमा डुबाएको दाबी उक्त तस्बिरको क्याप्सनमा गरिएको थियो । सामाजिक संजालमा व्यापक रुपमा फैलाइएको यो तस्बिर श्रीलंकाको होइन भन्ने तथ्य हामीले फेला पार्यौँ । उक्त तस्बिर भारतस्थित वाराणसीमा ढल सफाईको काम भइरहँदा खिचिएको थियो । रिपोर्ट पढ्नुहोस् ।

जब लाओस, भारत र अन्य देशका दृश्यहरू भ्रामक बने
सन् २०२२ मा नेपालभित्र बाढी-पहिरोजन्य प्राकृतिक प्रकोपले बितन्डा मच्चाउँदा केही दाबीसहितको सामग्री भेटिए । उक्त सामग्रीमा भयानक बाढी आएको र मानव बसोबास क्षेत्रले व्यहोर्नुपरेको क्षतिका दृश्यहरू देखाइएको थियो । दाबीसहितको सामग्रीमा देखिएको दृश्य रुपन्देशी जिल्लाको दाबीसमेत गरिएको थियो । हाम्रो जाँचमा ती दृश्यहरू लाओस, भारत र अन्य स्थानमा घटेको घटनाको रहेको पाइयो । रिपोर्ट पढ्नुहोस् ।

सम्पर्कविहीन विमान नभेटिँदै चालक दलसहित २२ जनालाई श्रद्धान्जली
पोखराबाट जोमसोमका लागि उडेको ताराको अल्फा इको ट्यांगो कल साइनको ट्विनअटर विमान सम्पर्कविहीन भयो । विमान सम्पर्कविहीन रहेकै बेला सामाजिक संजाल प्रयोगकर्ताहरूले चालक दलसहित २२ जना यात्रुलाई श्रद्धान्जलीसमेत दिइसकेका थिए । तारा एयरको विमान दुर्घटना भएको भन्दै भारतीय सेना प्रमुख जनरल विपिन रावतसहितका व्यक्तिहरू सवार हेलिकप्टर दुर्घटनाको तस्बिर नेपालमा फैलाइएको थियो । प्रस्तुत दाबीमाथि हामीले जाँच गर्यौँ । रिपोर्ट पढ्नुहोस् ।

पूर्वप्रधानमन्त्री नै भ्रामक सामग्रीको सिकार
सन् २०२२ मा भ्रामक सूचनाहरूबाट आम सामाजिक संजाल प्रयोगकर्ताहरूले हैरानी व्यहोर्नुपर्यो । इन्टरनेट माध्यमहरूमा फैलिएका यस्ता भ्रामक सूचनाले सार्वजनिक तथा चर्चित व्यक्तिहरूलाई त झनै समस्यामा परेको देखिन्छ । यही सेरोफेरोमा भ्रामक सूचनाबाट प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री नै अछुतो रहन सकेनन् । यसको एउटा उदाहरण हो, नेकपा (एमाले)का तत्कालीन पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले क्यारेम बोर्ड खेलेको र तत्कालीन पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टेवल टेनिस खेलेको प्रसंग । एमाले अध्यक्ष ओलीको क्यारेम बोर्ड खेललाई जवाफ दिन माओवादी केन्द्रका अध्यक्ष दाहालले टेवल टेनिस खेलेको दाबीमाथि हामीले तथ्यजाँच रिपोर्ट प्रकाशित गरेका छौँ । रिपोर्ट पढ्नुहोस् ।

सुकुम्बासीको ल्याण्ड क्रूजर गाडी तोडफोड भएको दाबी !
काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा मंसिर १२ गते झडप भयो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाको टोलीले सुकुम्बासी बस्तीलाई खाली गराउन खोजेपछि स्थानीयहरु प्रतिरोधमा उत्रिएका थिए । यही सुकुम्बासी आन्दोलनको सन्दर्भमा एउटा ल्याण्ड क्रूजर गाडी तोडफोड गरिएको र उक्त गाडी पनि सुकुम्बासीकै रहेको दाबी गरियो । तर, २०७३ सालमा घटेको घटनाको तस्बिरलाई गलत दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो । रिपोर्ट पढ्नुहोस् ।

प्रचण्डमाथि गोर्खावासीले ढुङ्गा, मुडा र लाठी प्रहार गरेको दाबी !
पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटकको प्रतिनिधिसभा निर्वाचन गोरखा क्षेत्र नम्बर २ बाट लडे । निर्वाचनको लागि गोरखामै बसेर चुनावी अभियान चलाइरहेका बेला प्रचण्ड गोरखाबाट लखेटिएको दाबीसहितका भिडियोहरू सामाजिक संजालमा फैलिए । जाँचका क्रममा सात वर्ष पहिले काठमाडौँमा खिचिएको भिडियोलाई तोडमोड गरेर भ्रामक दाबीका साथ फैलाइएको पाइयो । रिपोर्ट पढ्नुहोस् ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co