बुधबार दिउँसो एउटा लेखोटलाई ‘गृह मन्त्रालयबाट जारी भएको सूचना’भन्दै सामाजिक संजालमा फैलाइयो । उक्त लेखोट तमू ल्होसारसँग सम्बन्धित थियो । नेपाल सरकार गृह मन्त्रालयले बिहीबार (पुस १५) परेको ‘तमू ल्होसारमा सार्वजनिक बिदा दिएको’ व्यहोरा लेखोटमा उल्लेख छ ।
गृह मन्त्रालयको लेटरप्याडमा हस्ताक्षरसहित जारी सूचनाको विषय लेखिएको छ,‘सार्वजनिक बिदा सम्बन्धमा सूचना ।’ बसन्त भटराईको ‘हस्ताक्षर’सहित यसको विस्तृतमा लेखिएको छ-
‘वि.सं. २०७८ साल पौष १५ गतेका दिन तमू ल्होसार परेको हुँनाले सो को अवसरमा देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्तिथ कुटनैतिक नियोगहरुमासमेत सार्वजनिक विदा दिने नेपाल सरकारमन्त्री परिषद्बाट मिति २०७८/०९/ १४ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । मिति २०७८/०९/१४ ।’
गृह मन्त्रालयको नाममा जारी भएको उक्त पत्र सामाजिक संजालमा व्यापक फैलियो । रास गुरुङ नामक फेसबुक आइडीमासमेत यो सूचनाको व्यहोरा पोस्ट भएको देखिन्छ । यो सूचना पोस्ट गर्दै उक्त आइडी प्रयोगकर्ताले लेखेका छन्-
‘नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७८ पौष १४ गतेको निर्णय अनुसार तमूहरुको महान चाड तमू ल्होसार पौष १५ गते सार्वजानिक रुपमा विदा दिएकोमा नेपाल सरकारलाई आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छौं । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूबाट काठमाडौंको टुँडिखेलमा भोली १२ः३० बजे सम्बोधन हुन गईरहेकोल सवैमा हार्दिक आमत्रण गर्दछौं ।’

तर, यतिबेलासम्म गृह मन्त्रालयले सार्वजनिक बिदा दिइएको सूचना सार्वजनिक गरेको थिएन । त्यसैले सामाजिक संजालमा फैलिरहेको सूचनाको गृह मन्त्रालयले खण्डन नै गर्यो । नेपालको सरकारी संचार माध्यम गोरखापत्र अनलाइनमा खण्डनको समाचार छापिएको छ । समाचारको हेडलाइन छ- ‘तमू ल्होसार बिदाको निर्णय भएको छैन, विज्ञप्ति नक्कली हो : गृह मन्त्रालय ।’
पूरा समाचार-
काठमाडौं, पुस १४ गते । बिहीबार ‘तमू ल्होसार’को सार्वजनिक बिदासम्बन्धी भ्रामक सूचना अहिले सामाजिक सञ्जालमा धेरै सेयर भइरहेको छ । गृह मन्त्रालयको लेटर हेडमा नै मिति संशोधन गरेर कोही व्यक्तिले सामाजिक सञ्जालमा राखेपछि उक्त भ्रामक सूचना सामाजिक सञ्जालमा धेरैले सेयर गरेका छन् ।
यता गृह मन्त्रालयले ‘तमू ल्होसा’को सार्वजनिक बिदा बारे कुनै सार्वजनिक सूचना जारी नगेको जनाएको छ । मन्त्रालयले अहिले सामाजिक सञ्जालमा सेयर भएको बिदाको सूचना भ्रामक भएको जनाएको छ । अहिले मन्त्रिपरिषद् बैठक जारी रहेको र बैठक समापन भएपश्चात मात्र आधिकारीक जानकारी आउने मन्त्रालयले जनाएको छ ।
गोरखापत्र अनलाइनमा यो समाचार छापिएपछि आम नागरिकले भोलि सार्वजनिक विदा भनेर फैलाइएको सूचना भ्रामक रहेछ भन्ने बुझे । तर, त्यसको केहीबेरमै गृह मन्त्रालयले आधिकारिक सूचना सार्वजनिक गर्यो । बिहीबार अर्थात् तमू ल्होसारका दिन सार्वजनिक बिदा दिइएको जानकारी उक्त सूचनामा दिइएको छ ।
गृहको उक्त सूचनामा लेखिएको छ-
‘वि.सं. २०७८ साल पौष १५ गते बिहीबारका दिन तमू ल्होसारको अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७८/०९/१४ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको छ । मितिः २०७८/०९/१४ । शोभाखर रेग्मी, उपसचिव ।’

यो सूचना सार्वजनिक भएपछि सामाजिक संजालमा एकथरीले सार्वजनिक बिदाको सूचना भ्रामक हो भन्ने समाचार सेयर गर्न थाले भने अर्कोथरीले भोलि सार्वजनिक बिदा भन्दै पोस्टहरू राख्न थाले । तत्कालका लागि आम मानिसहरूमा यसले झन अन्योलता सिर्जना गर्यो । पत्रकार मनसी पौडेलले लेखिन्,‘सरकारी पत्रिकाकाे विश्वास गर्ने कि विज्ञप्तीकाे ।’

गृह मन्त्रालयको नाममा भ्रामक सूचना
यसअघि पनि गृह मन्त्रालयको नाममा यस्तै भ्रामक सूचना जारी गरिएको थियो । जसमध्येको एक हो- फाल्गुनन्द जयन्तीका अवसरमा सार्वजनिक । २०७१ कार्तिक २४ गते सामाजिक संजालमा एउटा सूचना भेटियो जसमा फाल्गुनन्द जयन्तीका अवसरमा सार्वजनिक बिदाको जानकारी दिइएको थियो । पछि उक्त सूचनाका विरुद्ध गृह मन्त्रालयले खण्डन गर्यो ।

उक्त सूचनाको खण्डन गर्दै गृह मन्त्रालयका तत्कालीन प्रवक्ता बालकृष्ण पन्थीले अन्नपूर्ण अनलाइनलाई भनेका थिए, ‘सामाजिक सञ्जालमा चर्चा भएका विषय सबै सही हुँदैनन्, राजपत्रमा प्रकाशित नभएको बिदाका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ, बिहीबार कुनै बिदा छैन । विज्ञप्तिमा हस्ताक्षर गर्ने कर्मचारी गृह मन्त्रालयमै हुनुहुन्नु, उहाँको हस्ताक्षर तानेर दुरुपयोग गरेको थाहा भएको छ, त्यसको खोजी गर्दैछौं ।’
निष्कर्ष :
सरकारले भोलि अर्थात् तमू ल्होसारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि गृह मन्त्रालयका नाममा भ्रामक सूचना तयार पारेर सामाजिक संजालमा फैलाइएको थियो । पछि गृह आफैले आधिकारिक सूचना जारी गरेर सार्वजनिक बिदाको जानकारी दिएको छ ।
नतिजा : भ्रामक/असत्य
हाम्रा स्रोतहरू :
गोरखापत्र अनलाइन : तमु ल्होसारमा बिहीबार सार्वजनिक बिदा
गोरखापत्र अनलाइन : तमू ल्होसार बिदाको निर्णय भएको छैन
अन्नपूर्ण अनलाइन : सामाजिक सञ्जालमा भेटिएको विज्ञप्ति नक्कली
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co