Sunday, April 28, 2024
Sunday, April 28, 2024

HomeFact CheckFact Check: आँकको प्रयोगले सात दिनमै मधुमेह निको हुन्छ?

Fact Check: आँकको प्रयोगले सात दिनमै मधुमेह निको हुन्छ?

दाबी: आँकको पातको प्रयोगले चिनिरोग (मधुमेह) सात दिनमा निको हुन्छ ।
तथ्य: मधुमेह रोगको उपचार अहिलेसम्म पत्ता लागेको छैन । कुनै वनस्पतिको प्रयोगले मधुमेह रोग पूर्णरुपमा निको हुन सक्दैन । 

सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको भिडियो फेला परेको छ । उक्त भिडियोमा आँकको पातको प्रयोगले चिनिरोग (मधुमेह) सात दिनमा निको हुने दाबी गरिएको छ ।

OSnepal नामक फेसबुक पेजमा पोस्ट गरिएको उक्त भिडियोमा एकजना महिलाले मधुमेह रोग निको पार्ने घरेलु उपचारबारे सुझाव दिइरहेकी छिन् । ती महिलाले आँकको पातलाई पैतलामा राख्दा मधुमेह रोग निको हुने दाबी गरेकी छन् । साथै उक्त भिडियोको शीर्षकमा लेखिएको छ- ‘आँकको पातले चिनिरोग सुगर सात दिनमा निको पार्छ  । कसरी ? हेर्नुस निको पार्ने घरेलु उपाय ।’

मानव स्वास्थ्यसँग सम्बन्धित प्रस्तुत गम्भिर दाबीमाथि हामीले तथ्यजाँच गर्‍यौँ । हामीले गरेको तथ्यजाँचमा उक्त दाबी आशिंक गलत रहेको पाइयो । 

तथ्यजाँच/प्रमाणीकरण

आँक (Giant Calotrope) एक फूल फुल्ने वनस्पति हो, यो एशिया र अफ्रिकाका विभिन्न क्षेत्रमा पाइन्छ । आँकलाई शताब्दीयौँदेखि परम्परागत चिकित्सा तथा विभिन्न रोगहरुको उपचारका लागि प्रयोग गर्ने गरिएको पाइन्छ । 

आँक वनस्पतिमा मधुमेह रोग विरोधी गुणहरू हुन सक्ने केही अध्ययनहरूले देखाएका छन् । तर, मधुमेह रोगको उपचार अहिलेसम्म पत्ता लागेको छैन । कुनै वनस्पति तथा आहारको सेवनले मात्र मधुमेह निको हुन सक्दैन । मधुमेह रोग एक दीर्घकालीन शारीरिक अवस्था भएकाले यसलाई दीर्घकालीन उपचार आवश्यक पर्दछ । स्वस्थ आहार सेवन गर्नुले मधुमेहको स्तर नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । तर, स्वस्थ आहार मात्रै मधुमेह रोगको पूर्ण उपचार होइन ।

मधुमेह रोग नियन्त्रण र व्यवस्थापनको लागि प्राय: बहुपक्षीय उपचार आवश्यक पर्दछ । यसमा जीवनशैली परिमार्जन, इन्सुलिन थेरापी, रगतको अनुगमन र नियमित चिकित्सा जाँचहरू रहेका छन् । मधुमेह नियन्त्रणका लागि चिकित्सकको सल्लाह लिनु अति नै महत्त्वपूर्ण छ ।

मधुमेह रोग देखिएपछि चिकित्सकको सल्लाह बिना परम्परागत उपचारमा मात्रै भर पर्नुले स्वास्थ्य जटिलताहरू बढ्ने जोखिम हुन्छ । अर्कोतर्फ आँक एक विषालु वनस्पति हो र यसका सबै भागहरूमा विषाक्त यौगिकहरू हुन्छन् । आँकको प्रयोगले वाकवाकी, बान्ता, पखाला, पेट दुख्ने, टाउको दुख्ने, चक्कर लाग्ने, कमजोरी लगायतका विभिन्न साइड इफेक्टहरू निम्त्याउन सक्छन् ।

आँक वनस्पतिमा मधुमेह विरोधी गुणहरू रहेको केही वैज्ञानिक प्रमाणहरूले देखाएका छन् । तर, यसको प्रयोग मानिसमा गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा पुष्टि गर्न थप अनुसन्धान आवश्यक छ । मधुमेह नियन्त्रणका लागि परम्परागत उपचार भन्दा पनि वैज्ञानिक चिकित्सकको सल्लाह लिनु आवश्यक देखिन्छ । 

निष्कर्ष

आँक वनस्पतिमा मधुमेह रोग विरोधी गुणहरू हुन सक्ने केही अध्ययनहरूले देखाएका छन् । तर, मधुमेह रोगको उपचार अहिलेसम्म पत्ता लागेको छैन । कुनै वनस्पतिको प्रयोगले मधुमेह पूर्ण रुपमा निको हुन सक्दैन ।

नतिजा : आंशिक गलत 

हाम्रा स्रोतहरू

रिसर्च लेख, ncbi.nlm.nih.gov, 2019 Jun 5 
रिसर्च लेख, ncbi.nlm.nih.gov, 2020 Aug 25 
आँक वनस्पतिबारे जानकारी, missouribotanicalgarden.org


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular